बैंकको खराब कर्जाको अवस्था भयावह

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको खराब कर्जाको अवस्था भयावह बनेको देखिएको छ । अर्थतन्त्रमा आएको सुस्ततालगायतका कारण कर्जा उठ्न नसक्दा औसत निष्क्रिय कर्जा अनुपात बढेर ३.४० प्रतिशत पुगेको बैंकहरूले प्रकाशन गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणले देखाएको हो ।
विवरण अनुसार सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ । गत आवको पहिलो त्रैमासमा २.३८ प्रतिशत रहेको कृषि विकास बैंकको निष्क्रिय कर्जा चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै ५.३३ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले निष्क्रिय कर्जालाई विभिन्न अवस्थामा वर्गीकरण गरेको छ । जसअनुसार सुक्ष्म निगरानीमा राख्नुपर्ने कर्जालाई ५ प्रतिशत, तीन महिनादेखि ६ महिनासम्म भाखा नाघेका कर्जा तथा सापटलाई कमसल वर्गमा वर्गीकरण गरिएको छ ।
जसअनुसार कृषि विकास बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा बढी पुगेको छ । ४ प्रतिशतभन्दा बढी खराब कर्जा अनुपात हुने बैंकहरू ५ वटा रहेका छन् । विवरण अनुसार कुमारी बैंकको ४.८९ प्रतिशत निष्क्रिय कर्जा पुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैकको ४.८३ प्रतिशत पुगेको छ । यस्तै निष्क्रिय कर्जा अनुपात ४ प्रतिशतभन्दा माथि पुग्नेमा लक्ष्मी सनराइज बैंकको ४.६९ प्रतिशत, हिमालयन बैंकको ४.६७ प्रतिशत र ग्लोबल आईएमई बैंकको ४.३८ प्रतिशत पुगेको छ ।
यस्तै, तीन प्रतिशतभन्दा बढी खराब कर्जा अनुपात हुने बैंकहरूको संख्या सात वटा पुगेको छ । सिटिजन्स इन्टरनेसनल बैंकको ३.९७ प्रतिशत निष्क्रिय कर्जा अनुपात पुग्दा प्रभु बैंकको ३.९७ प्रतिशत, नेपाल बैंकको ३.८४ प्रतिशत, नबिल बैकको ३.६९ प्रतिशत, प्राइम कमर्सियल बैंकको ३.६७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.६२ प्रतिशत र सिद्धार्थ बैंकको ३.४४ प्रतिशत पुगेको छ । एनएमबि, माछापुच्छ्रे र नेपाल एसबिआई बैंकको निष्क्रिय कर्जा अनुपात २ प्रतिशत हाराहारीमा छ ।
यी बैंकहरूको निष्क्रिय कर्जा अनुपात क्रमश: २.८४ प्रतिशत, २.५६ प्रतिशत र २.५६ प्रतिशत रहेको बैंकहरूले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा देखिएको छ । पहिलो त्रैमासम सबैभन्दा न्यून निष्क्रिय कर्जा अनुपात एभरेष्ट बैंकको छ । यस बैंकको निष्क्रिय कर्जा अनुपात ०.९ प्रतिशत मात्रै छ ।
यद्यपी गत आवको सोही त्रैमासको तुलनामा यसको त्यस्तो कर्जा अनुपात सामान्य बढेको हो । गत आवको पहिलो त्रैमासमा यसको निष्क्रिय कर्जा अनुपात ०.३३ प्रतिशत थियो । त्यस्तै सानिमा बैंकको निष्क्रिय कर्जा अनुपात १.७९ प्रतिशत, एनआईसी एशिया बैंकको १.३७ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.१ प्रतिशत खराब कर्जा अनुपात रहेको छ ।
प्रोभिजनमा थुप्रियो रकम
बैंकहरूको निष्क्रिय कर्जा भयावह तरिकाले बढ्दा सम्भावित कर्जा नोक्सानीबापत प्रोभिजन गर्नुपर्ने रकम दोब्बर बढीले थुप्रिएको छ । चालु आवको प्रथम त्रैमासमा मात्रै वाणिज्य बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि १६ अर्ब ९४ करोड ५९ लाख रुपैयाँ प्रोभिजन गर्नुपरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो रकम ७९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकहरूले ९ अर्ब ४७ करोड १९ लाख रुपैयाँ प्रोभिजन गरेका थिए ।
निष्क्रिय कर्जा बढी भएका बैंकहरूले स्वभाविक रुपमै प्रोभिजन बढी छुट्याएका छन् । कुमारी बैंकले २ अर्ब १८ करोड रुपैयाँ प्रोभिजनिङ गर्दा कृषि विकास बैंकले २ अर्ब १६ करोड र लक्ष्मी सनराइज बैंकले २ अर्ब १५ करोड रुपैयाँ प्रोभिजनिङ गरेका छन् । यस्तै, ग्लोबल आईएमई बैंकले १ अर्ब ७८ करोड, सिद्धार्थ बैंकले १ अर्ब ४३ करोड, नेपाल बैंकले १ अर्ब ३४ करोड र नबिल बैंकले १ अर्ब ११ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ ।
हिमालयन बैंकले ७५ करोड ६६ लाख, एनआईसी एशिया बैंकले ६४ करोड ४३ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ६४ करोड ७ लाख, सानिमा बैंकले ५४ करोड २७ लाख, एनएमबी बैंकले ४८ करोड २ लाख, एभरेष्ट बैंकले ४२ करोड ९५ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । सिटिजन्स इन्टरनेसनल बैंकले प्रोभिजनका लागि ४२ करोड ६५ लाख रुपैयाँ छुट्याउँदा नेपाल एसबिआई बैंकले २९ करोड ६९ लाख रुपैयाँ छुट्याएको छ ।
राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र माछापुच्छ«े बैंकले गत आवको प्रथम त्रैमासको भन्दा अहिले प्रोभिजन घटाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले २४ करोड, प्राइम कमर्सियल बैंकले २१ करोड ६६ लाख, प्रभु बैंकले करिब ८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड, माछापुच्छ्रे बैंकले १ करोड रुपैयाँ प्रोभिजन गरेको छ । बैंकहरूको निष्क्रिय कर्जा अत्याधिक बढ्दा प्रोभिजन रकम पनि बढेपछि उनीहरूको नाफामा समेत उच्च गिरावट आएको वित्तीय विवरणहरूले देखाएको छ ।
चालु आवको पहिलो त्रैमासमा १३ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिको बैंकहरूको नाफाभन्दा २८.२० प्रतिशत कम हो । गत आवको पहिलो त्रैमासमा बैंकहरूले १८ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ मुनाफा कमाएका थिए ।
सुस्त अर्थतन्त्रको प्रतिविम्ब

अहिले खराब कर्जाको अवस्था भयावह हुनुको मुख्य कारण अर्थतन्त्रमा आएको सुस्तता हो । अन्य क्षेत्र र बैंकिङ क्षेत्रबीच नङ र मासुको सम्बन्ध हुन्छ । अन्य क्षेत्रमा सुस्तता आउँदा बैंकिङ क्षेत्र अगाडि बढ्छ भन्ने हुँदैन । अर्थतन्त्रमा देखिएको सुस्तताको प्रतिविम्ब बैंकहरूको वित्तीय विवरणमा अहिले देखिएको हो । यसबाहेक सामान्यतया दशैंभन्दा अघि कतिपयले कर्जा भुक्तानीका लागि केही गाह्रो मानिरहेका हुन्छन् । तर कर्जा नतिर्दा जरिवाना लाग्ने हुनाले त्यस्तो कम नै हुन्छ ।
बैंकहरूमा लगानीयोग्य रकम पनि बढेको, कर्जा प्रवाह पनि विस्तारै बढ्दै गएको र ब्याजदर पनि कम हुँदै गएकाले अब विस्तारै सुधार हुन्छ कि भन्ने आशा मलाई लाग्छ । हाम्रो अनुभवमा यतिधेरै समयसम्म अर्थतन्त्रमा सुस्तता आएको थिएन । लामो समय अर्थतन्त्रमा सुस्ततामा आउँदा त्यसको असर देखिन्छ नै । तर विस्तारै अर्थतन्त्र सुदृढ हुँदै गएमा बैंकिङ क्षेत्रमा पनि सुधार आउँदै जाने हुन्छ ।
मैले पटक पटक भन्दै आएको छु । अर्थतन्त्रको समस्या समाधानका लागि राष्ट्र बैंक, निजी क्षेत्रका सबै प्रतिनिधि संस्थाहरू तथा अर्थमन्त्रालय, बैंकिङ क्षेत्र सबै एकजुट भएर छलफल र वार्ताबाट समाधान निकाल्नेतर्फ अग्रसर हुनुपर्छ । अहिलेको आवश्यकता मानिसमा आत्मविश्वास बढाउँदै लैजाने र अर्थतन्त्र क्रमश: चलायमान बनाउँदै लैजाने हो । त्यसतर्फ गएमा यी समस्याहरू क्रमश: समाधानको दिशामा जान्छन् ।