इन्धनमा स्वचालित मूल्य प्रणाली

सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेको छ । यो प्रणालीअनुसार आइतबार राति १२ बजेबाट लागु हुने गरी आयल निगमले इन्धनको मूल्य समायोजन गरेको हो ।
आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गर्ने निर्णय गरेको निगमका सञ्चालक अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले जानकारी दिए । यो प्रणालीअनुसार निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्ने सचिव मरासिनीले बताए ।
खाना पकाउने ग्यास भने निगमले नाफा नराख्ने गरी बिक्री गर्ने उनले जानकारी दिए । सचिव मरासिनीले स्वचालित मूल्य प्रणाली लागू भएपछि परल मूल्य बढ्दा बिक्री मूल्य पनि स्वतः बढ्ने बताए । यसअघि निगमले २०७१ सालदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेको थियो । त्यतिबेला निगमले परल मूल्यमा ५ देखि १५ प्रतिशत नाफा हुने गरी स्वचालित मूल्य प्रणाली लागु गरेको थियो ।
त्यसबेला निगम ३६ अर्ब ऋणमा थियो । केही समयसम्म स्वचालित प्रणाली कार्यान्वयनमा आए पनि परल मूल्यको ५ देखि १५ प्रतिशत नाफा हुँदा विरोध भएपछि निगमले कार्यान्वयन गर्न सकेको थिएन । निगमका कार्यकारी निर्देशक उमेश थानीले अब निगमले परल मूल्यको २ प्रतिशतमात्र नाफा हुने गरी स्वचालित मूल्य प्रणाली लागु गरेको बताए ।
धितोमा राखेर र नेपाल सरकारसँग ऋण लिएर इन्डियन आयल कर्पोरेसन (आईओसी)सँग इन्धन खरिद गरेबापत २३ अर्ब रुपैयाँ बक्यौता तिर्न चुक्ता गरिसकेको जानकारी उनले दिए । उनका अनुसार निगमले सरकारको तीन अर्ब रुपैयाँ तिर्न बाँकी छ । निगमलाई केही दायित्व अझै बाँकी हुँदा पनि आम उपभोक्ताको राहतका लागि स्वचालित मूल्य प्रणाली लागु गरेको उनको भनाइ छ ।
निगमले स्वचालित मूल्य प्रणाली लागु गरी प्रतिलिटर पेट्रोलमा ६ र डिजेलमा ४ रुपैयाँ घटाउँदा भारतको सीमाभन्दा नेपालमा पेट्रोलमा १३ रुपैयाँ १७ पैसा र डिजेल १४ रुपैयाँ १७ पैसा सस्तो पर्ने भएको छ । निर्देशक थानीका अनुसार अब निगमलाई पेट्रोलमा ३ रुपैयाँ ६३ पैसा र डिजेलमा २ रुपैयाँ ६९ पैसा नाफा छ । अहिले निगमको १५ दिनको नाफा करिब ५० करोड छ ।
मूल्य समायोजनपछि काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ पर्नेछ । तराईका जिल्लामा १६१ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रुपैयाँ पर्नेछ । डिजेल र मटीतेल उपत्यकामा लिटरको १४६ रुपैयाँ, तराईका जिल्लाहरुमा १४३ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १४५ रुपैयाँ पर्नेछ । एलपी ग्यासको प्रतिसिलिण्डर मूल्य १८०० रुपैयाँबाट घटेर १७९० कायम भएको छ । हवाई इन्धनको मूल्य भने स्वचालित हुनेछैन ।