Logo

महासंघ टोलीलाई महानगरको स्वागत

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई विराटनगर महानगरपालिकाले स्वागत गरेको छ । सो अवसरमा विराटनगर मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका महानगर र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

महानगरपालिकाले विभिन्न अभियान सञ्चालन गरिरहेको बताउँदै मेयर कोइरालाले भने, “महानगरपालिकाको एक्लो प्रयासले मात्रै विराटनगरको समग्र विकास गर्न असम्भव छ । यहाँको विकासमा निजी क्षेत्रको विगतदेखि नै योगदान रहँदै आएको छ । आगामी दिनमा अझै बढी रहोस् भन्ने मेरो चाहना छ ।”

मेयर कोइरालाले महानगरकातर्फबाट महासंघका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य अविनाश बोहरा, प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेल, कोषाध्यक्ष सुवास आचार्य, सदस्य राजन श्रेष्ठ, दीपक पाण्डे, रविनकुमार दाहाल, श्रवण अग्रवाल, भविष श्रेष्ठ, सरु केसी, यामबहादुर श्रेष्ठ,मनोजविक्रम शाहलगायतलाई खादा लगाएर सम्मान गरेका थिए ।

मेयर कोइरालाले महामनगर र महासंघबीच आगामी दिनमा थप परिणाममुखी सहकार्य हुनुपर्नेमा जोड दिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले कर्मचारीको तहबाट सेवा प्रवाहलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष राउतले महानगरले पछिल्लो समय महानगरवासीले महसुस गर्ने गरी धेरै काम गरेकोमा जोड दिए ।

“सरसफाई, पार्किङ, सडक बत्तीलगायतका क्षेत्रमा धेरै नै परिवर्तन भएको छ” राउतले भने,“महानगरले गर्ने जनपक्षीय हरेक काममा हाम्रो साथ र सहयोग रहनेछ ।” उनले विकासका सन्दर्भमा महानगरले सम्झेको खण्डमा जुनसुकै बेला उपस्थिति हुने प्रतिबद्धता समेत व्यक्त गरे । अध्यक्ष राउतले महानगरका आर्थिकलगायतका समितिमा महासंघको प्रतिनिधित्व गराउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्