Logo

‘५५ खर्ब उद्योगमा परिचालन गरौँ’

फाइल तस्बिर ।

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै सो रकम देशका रुग्ण उद्योगहरुमा परिचालन गर्नुपर्ने बताएका हुन् । उनले अफ्ठ्यारोमा परेका उद्योगहरुमा सो रकम परिचालन गरी रोजगारी सिर्जना गर्न माग गरे ।

त्यस्तै उनले देशमा ४० लाख खोप प्रयोगबिहीन अवस्थामा रहेको भन्दै प्रयोगबिहीन भएको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताए । सांसद पौडेलले यस वर्ष विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउनु राम्रो भएको उल्लेख गर्दै यसैगरी अस्पतालहरुमा पनि बिरामीले आकस्मिक उपचार पाउनुपर्ने बताए । उनले किसानले समयमै मल पाउनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्