Logo

बाँकेमा विकास बजेट खर्च न्यून

चालू आर्थिक वर्षको आठ महिनामा बाँकेमा विकास बजेट खर्च न्यून भएको छ । जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका लागि संघ र प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये लक्ष्यको तुलनामा करिब साढे २७ प्रतिशतमात्र पुँजीगत बजेट खर्च भएको छ ।

कुल आठ अर्ब ९७ करोड २० लाख ७७ हजार बजेटमध्ये दोस्रो चौमासिकसम्म दुई अर्ब ४६ करोड १४ लाख २० हजार २१५ रुपैयाँ मात्र खर्च भएको हो । यो संघ र प्रदेशको कुल पुँजीगत बजेटको २७.४३ प्रतिशतमात्र भएको कोलेनिका बाँकेले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका सूचना अधिकारी शरदकुमार बरालका अनुसार जिल्लामा चालू खर्च भने करिब साढे ६२ प्रतिशत भएको छ । बाँकेका लागि प्रदेश र संघीय सरकारबाट प्राप्त १२ अर्ब ४७ करोड ३४ लाख ४६ हजार ३८१ मध्ये सात अर्ब ८० करोड २० लाख ९२ हजार ६७ रुपैयाँ चालू बजेट खर्च भएको सूचना अधिकारी बरालले जानकारी दिए ।

जिल्लामा संघीय सरकारबाट विनियोजित ६ अर्ब ५० करोड ३५ लाख ४५ हजार पुँजीगत बजेटमध्ये फागुन मसान्तसम्म एक अर्ब ८९ करोड ३४ लाख ९४ हजार १३६ रुपैयाँ अर्थात् २९.११ प्रतिशत खर्च भएको छ । यसैगरी चालू बजेट १० अर्ब ८९ करोड २६ लाख ५५ हजारमध्ये सात अर्ब २५ करोड १३ लाख नौ हजार ९८४ रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारबाट प्राप्त दुई अर्ब ४६ करोड ८५ लाख ३२ हजार पुँजीगत बजेटमध्ये फागुनसम्म ५६ करोड ७९ लाख २६ हजार अर्थात् २३ प्रतिशत खर्च भएको पाइएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत कुल एक अर्ब ५८ करोड सात लाख ९१ हजार चालू खर्चका लागि बजेट विनियोजन भएकोमा ५५ करोड सात लाख ८२ हजार ८३ अर्थात् ३४.८४ प्रतिशत खर्च भएको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ को सोही अवधिमा संघीय सरकारबाट प्राप्त बजेटमध्ये २५.६० प्रतिशत पुँजीगत र ५५.६० प्रतिशत चालू बजेट खर्च भएको थियो । यस्तै प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये २३.४० प्रतिशत पुँजीगत र ३५.५८ प्रतिशत चालू बजेट खर्च भएको कोलेनिका बाँकेले जनाएको छ ।

आठ महिनाको अवधिमा जिल्लाका सरकारी कार्यालयले कुल १५ अर्ब ६२ करोड ६६ लाख ९४ हजार ८६९ रुपैयाँ राजस्व संकलन गरेका छन । जसमध्ये संघीय मन्त्रालयअन्तर्गतका कार्यालयबाट १५ अर्ब १२ करोड ७४ लाख ४३ हजार ९८९ रुपैया र प्रदेश सरकारअन्तगर्तका कार्यालयबाट ४९ करोड ९२ लाख ५० हजार ८७९ रुपैया राजस्व संकलन गरेका छन् ।

जिल्लामा सबैभन्दा बढी राजश्व नेपालगन्ज भन्सार कार्यालय र दोस्रोमा आन्तरिक राजस्व कार्यालय नेपालगन्जले संकलन गर्न सफल भएका छन् ।

ठूला विकासे आयोजनाको खर्च न्यून

चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्म बाँकेमा भएका ठूला विकासे आयोजनाको विकास खर्च न्यूनमात्र भएको पाइएको छ । कोलेनिका बाँकेका अनुसार जिल्लामा भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालगायत अन्य विकासे आयोजनाको पुँजीगत बजेट खर्च कम भएको पाइएको हो ।

सिक्टा सिँचाइ आयोजनामा कुल पुँजीगत बजेट एक अर्ब ८५ करोड पाँच लाख विनियोजन भएकोमा फागुनसम्म ४७ करोड १० लाख ५७ हजारमात्र खर्च भएको कोलेनिकाले जनाएको छ । यो कुल पुँजीगत बजेटको २५.४५ प्रतिशत हो ।

यस्तै हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले फागुनसम्म २६.३३ प्रतिशत बजेट खर्च गरेको छ । आयोजनाको कुल पुँजीगत बजेट ६८ करोड २५ लाख विनियोजन भएकोमा फागुनसम्म १७ करोड ९७ लाख ४४ हजारमात्र खर्च भएको बताइएको छ ।

सरकारले आर्थिक वर्षको अन्त्यमा विकास निर्माणको काम गर्ने प्रवृत्तिमा सुधार गर्न विभिन्न कृयाकलाप सञ्चालन गरिरहेको जनाइरहँदा चालू आर्थिक वर्षको आठ महिना बितिसक्दा पनि खर्च गर्ने प्रवृत्तिमा सुधार भएको देखिँदैन । यसले बजेटको ठूलो हिस्सा अन्तिम चौमासिकमा खर्च हुने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्