अभौतिक नभए दुई लाख दोलखालीले तामाकोसीको थप सेयर नपाउने

आफूसँग भएको कागजी सेयरलाई अभौतिक (विद्युतीयमा रूपान्तरण) नगरे दुई लाख सेयरधनी दोलखालीले अपर तामाकोसी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा सहभागी हुन वञ्चित हुने भएका छन् । नेपालको हालसम्मको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो माथिल्लो तामाकोसी ।
दोलखाको उत्तरी भेग विगू गाउँपालिका–१ लामाबगरमा बनेको माथिल्लो तामाकोसीको क्षमता ४५६ मेगावाट छ । सार्वजनिक कम्पनीको रूपमा स्थापना गरी लगानी जुटाएर बनेको सबैभन्दा ठूलो आयोजना हो । कम्पनी स्थापना हुँदा २०६३ सालमै आयोजनाको प्रवर्द्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीको प्रबन्धपत्रमै स्थानीयलाई १० प्रतिशत सेयर दिने गरी सेयर संरचना तयार भयो ।
यही नजिरबमोजिम धितोपत्र कानुनमै उद्योग प्रभावितलाई सेयर दिने संरचना बन्यो । यसकै आधारमा दोलखाबासीले १० प्रतिशत सेयर लिए । आयोजनाले विद्युत उत्पादन थालेको दुई वर्ष पुग्न लाग्यो । कम्पनीले पुँजी बढाउन १० अर्ब ५९ करोडको १ बराबर १ कित्ता थप सेयर लगानी गर्न दिएर पुँजी दोब्बर बनाउँदै छ ।
तर त्यही आयोजना बनाउन एक अर्ब पाँच करोड लगानी गरेका २ तिहाइ बढी सेयरधनी सेयर भरेको अर्धकट्टी मात्र लिएर बसेका छन् । अपर तामाकोसीले हकप्रद सेयरका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट अनुमति पाउने बित्तिकै हकप्रद खुल्छ । तर सेयर अभौतिकीकरण नभई हकप्रद सेयरमा सहभागी हुन पाइँदैन । हकप्रद सेयरमा भाग लिन सेयर कागजलाई विद्युतीयमा रूपान्तरण वा अभौतिकीकरण गर्नुपर्छ ।
अभौतिकीकरण गर्नका लागि बैंकका शाखा, क्यापिटल र ब्रोकर कम्पनीमा पुगेर खोल्न सकिन्छ । अपर तामाकोसी हाइड्रोपावर कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरिसकेको छ । कागजी सेयरलाई अभौतिकीकरण गर्नका लागि बिक्री प्रबन्धकले आफै उपस्थित हुन नसके पनि अनलाइनको माध्यमबाट अभौतिकीकरण गर्ने व्यवस्थासमेत गरेको छ ।
सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सेयरधनीलाई सेयर अभौतिक गर्न वेबसाइटमार्फत् पनि व्यवस्था गरेको बताउँछन् । “सेयर अभौतिक गर्न बैंक खाता नं. लिएर जुनसुकै बैंक, क्यापिटल र ब्रोकर कम्पनीमा गएर डिम्याट खाता खोल्न सकिन्छ,” उनले भने, “त्यही खातामा सेयर जम्मा गर्ने हो, कसैको नाम नमिलेमा एउटा फाराम भरेर बुझाए पनि खातामा शेयर जम्मा हुन्छ ।”
अपर तामाकोसीको सेयरलाई सुनको अण्डा दिने कुखुरीको रूपमा पनि नेताहरूले व्याख्या गरे । आयोजना प्रभावित दोलखालीले सेयर भर्ने बेला डिम्याट खाता अनिवार्य भइसकेको थियो । तर तामाकोसीको सेयरबाट कोही छुटाउनु हुन्न भनेर आन्दोलन समेत भयो र डिम्याट खाता र बैंक खाता बिना सेयर भर्ने सुविधा दियो । स्थानीयले सेयर जबरजस्ती भरे । न्यूनतम ३४ कित्ता सेयर पाए ।
तर २ लाख ७० हजार सेयरधनीमध्ये अझै दुई लाख सेयरधनीको सेयर अभौतिक हुन सकेको छैन । अहिले त्यही सेयर अभौतिक गर्न स्थानीयलाई समस्या भएको छ । स्थानीय मात्र होइन आठ वर्षअघि सेयर भरेर प्रमाणपत्र बोकेका सञ्चयकर्ताको समेत सेयर अभौतिक हुन सकेको छैन । कतिपयले डिम्याट खाता खोलेर पनि शेयर जम्मा गर्नु पर्छ भनेर जानकारी नपाएर वा कतिपयको नाम नमिलेर पनि जम्मा नभएको स्थानीयको गुनासो छ ।
अहिले डिम्याट खाता खोल्न गाउँ गाउँमा टोली पुगे । दोलखा महोत्सवको आठ दिनदेखि क्यापिटल र ब्रोकर कम्पनरुले स्टल नै राखेका छन् । तर स्टलमा खाता खोले । तर खाता खोल्ने बढे पनि सेयर जम्मा गर्न कसरी गर्ने भन्ने जानकारी नहुँदा पनि खाता खुले पनि सेयर जम्मा हुनसकेको छैन । अपर तामाकोसीकै व्यवस्थापनमा एक महिनाअघि मुख्य कार्यालय गोंगरमा शिविर नै भयो ।
अहिले पनि दोलखा महोत्सवलाई लक्षित गरी स्टल नै राखेर शिविर राखेको छ । तर स्थानीयको खासै रुचि देखिएको छैन । चार वर्षअघि सेयर भर्नेहरू अहिले कतिपयको मृत्युसमेत भइसकेको छ । मृत्यु भइसकेका व्यक्तिको सेयर नजिकका नातेदारले कानुनबमोजिम नामसारी गर्नुपर्छ । त्यसका काठमाडौंमै पुग्नुपर्ने बाध्यकारी व्यवस्था कानुनले गरेको छ ।
नामसारी गर्न पनि बिक्री प्रबन्धक र क्लियरिङ हाउसमै पुग्नुपर्ने सनसाइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ । सेयर अभौतिकीकरण नभए कम्पनीका हकप्रद सेयर लगानीबाट वञ्चित हुनुपर्छ । हकप्रद सेयर भर्न नपाउनु भनेको पनि सम्पत्ति घट्नु हो । त्यस्तै कम्पनीले दिने लाभांश, बोनसबाट वञ्चित हुने परिस्थिति आउने हुँदा माथिल्लो तामाकोसीको सेयर अभौतिकीकरण गर्न अभियान नै चलाउनुपर्ने देखिन्छ ।