नेपालको अर्थतन्त्र जोखिममै

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको अर्थतन्त्र जोखिममै रहेको निष्कर्ष निकालले छ । एसिया प्रशान्त क्षेत्रका मिसन प्रमुख जार्को टुरुनेनको नेतृत्वमा फागुन ३ देखि १६ सम्म विभिन्न पक्षसँग छलफल गरेको अध्ययनमा पछिल्लो समयमा नेपालको अर्थतन्त्रमा केही सुधार आएपनि जोखिममुक्त नभइसकेको निष्कर्ष निकालेको हो । विदेशी मुद्रा खर्च गर्न अझै नेपाल सचेत हुनुपर्ने देखाएको आईएमएफले जनाएको छ ।
आईएमएफले नेपाललाई आगामी दिनमा विदेशी मुद्राको सञ्चितिमा दवाब नपर्ने गरी सचेत मौद्रिक नीति बनाउनुपर्ने कोषको सुझाव छ । आईएमएफको अध्ययन प्रतिवेदनअनुसार पर्यटन क्षेत्र चलायमान हुन, कृषि क्षेत्रको उत्पादकत्व बढ्नु तथा रेमिट्यान्स आप्रवाह बढ्नु नेपालको अर्थतन्त्रको सकारात्मक पक्ष हुन् ।
खाद्य पदार्थको मूल्य बढ्यो भने फेरि पनि नेपालको अर्थतन्त्र समस्यामा पर्न सक्ने प्रतिवेदनले औंल्याएको छ । कोरोना महामारीका क्रममा दिइएको सहुलियत हटाउँदै मौद्रिक नीतिमा गरिएको कडाइले नेपालमा आर्थिक स्थायित्व कायम गर्न सहयोग पुगेको आईएमएफले जनाएको छ ।
वित्तीय अनुशासन कायम राख्न सरकारी खर्चको प्राथमिकीकरण नहुनु, बढ्दो ब्याजदरले कर्जा तिर्न सक्ने क्षमता कमजोर हुनु र बैंकको पुँजी पर्याप्तता अनुपात बढ्दै जानु नेपालको अर्थतन्त्रका चुनौती भएको आईएमएफको मूल्यांकन छ । विदेशी मुद्राको सञ्चिति जोगाउन भन्दै आयात प्रतिबन्ध लगाउने निर्णयबाट असन्तुष्ट रहेका आईएमएफका अधिकारीहरु उक्त निर्णयको खारेजीपछि भने सन्तुष्ट देखिएका छन् ।