Logo

सिभिललाई गाभ्ने हिमालयन बैंकको प्रस्ताव पारित

हिमालयन बैंकको ३०औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । सभाले सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले साधारणसभामा पेश गरेको सञ्चालक समितिको प्रतिवेदन छलफल गरी अनुमोदन भएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन सहित सोही आ.व. को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर तथा ११.११ प्रतिशत नगद लाभांश गरी १९.११ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ । उक्त साधारणसभाले विजयबहादुर श्रेष्ठलाई निर्बिरोध रुपमा सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

साधारण सभाबाट हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई १०० बराबर ८०.२८ (सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउने) सेयर आदान प्रदान अनुपातमा प्राप्ति गर्ने प्रस्ताव लगायतका अन्य प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्तिपश्चात् हिमालयन बैंक लिमिटेडकै नाममा एकीकृत कारोबार गर्नेछ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको कूल अधिकृत पुँजी २६ अर्ब हुनेछ भने जारी तथा चुक्ता पुँजी २१.६५ अर्बभन्दा बढी हुनेछ। प्राप्तिपश्चात बैंकको कुल पुँजीकोष ३६.६९ अर्बभन्दा बढी हुनेछ । यसै गरी बैंकको कूल शाखा संजाल १८९, विस्तारित काउन्टर १९ र एटीएम संख्या २६२ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्