Logo

निर्यात पाम र सोयाबिनको हिस्सा अझै २७ प्रतिशत

चालू आर्थिक वर्षको सुरुवातदेखि नै निर्यातमा भारी गिरावट देखिएको पाम आयल र सोयाबिन आयलको कुल निर्यातमा हिस्सा भने अझै उच्च रहेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आवको पाँच महिनासम्ममा पाम आयलको निकासी ६०.४ प्रतिशत तथा सोयाबिन आयलको ७७.१ प्रतिशतमा कमी आएको छ ।

तर, कुल निकासीमा पाम आयलको हिस्सा १६.२ प्रतिशत रहेको छ भने सोयाबिन आयलको हिस्सा १०.४ प्रतिशत छ । आव २०७७/०७८ मा कुल निकासीमा यी वस्तुको हिस्सा ४८ प्रतिशत थियो भने गत आव (२०७८/०७९)मा गिरावट आएर ३७ प्रतिशतमात्र रह्यो । चालू आवको पाँच महिनामा अझ गिरावट आएर २७ प्रतिशतमा सीमित भएको छ । केन्द्रका अनुसार पाँच महिनामा १० अर्ब ८७ करोडको पाम आयल र ६ अर्ब ९८ करोडको सोयाबिन आयल निकासी भएको छ ।

जबकि अघिल्लो वर्षको मंसिर मसान्तसम्म २७ अर्ब ४२ करोडको पाम आयल र ३० अर्ब ५५ करोडको सोयाबिन आयल निकासी भएको थियो । पाम आयल र सोयाबिन आयल दुवैको कच्चा पदार्थ नेपालमा उत्पादन हुँदैन । यसको कच्चा पदार्थ विदेशबाट ल्याएर उत्पादन भने अधिकांश भारत निकासी हुने गरेको छ । नेपालमा कच्चा पाम आयल मुख्य रूपमा मलेसिया र इन्डोनेसियाबाट आयात हुन्छ भने कच्चा सोयाबिन आयल दक्षिण अमेरिकी देशहरू तथा युक्रेन र इन्डोनेसियाबाट भित्रिने गरेको छ ।

तेस्रो मुलुकबाट आयात भएर भारत निकासी हुने पाम आयल र सोयाबिन आयलमा मूल्य अभिवृद्धि कम हुने भन्दै आलोचना भइरहे पनि व्यवसायीहरुले भने अस्वीकार गर्दै आएका छन् । नेपालमा प्रशोधन भएर कारखानाबाट अन्तिम वस्तु निस्कँदा कच्चा पदार्थमा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि भएपछि मात्र निर्यातका लागि योग्य हुने गरी त्यसको उत्पत्ति प्रमाणपत्र ‘सर्टिफिकेट अफ ओरिजिन’ जारी हुने व्यवस्था छ ।

नेपाल वनस्पती घ्यू तेल उत्पादक संघका अध्यक्ष सन्दीप अग्रवाल सोयाबिन आयल र पाम आयल दुवैले यो मापदण्ड पूरा गरेको दाबी गर्छन् । नेपालभित्र रोजगारी सिर्जनादेखि लिएर ऊर्जा खपतसम्मका अन्य स्रोतहरूको उपयोग हुने उनको तर्क छ । अग्रवालका अनुसार सोयाबिन आयल, पाम आयल र सनफ्लावर आयलको मूल्य नेपालभन्दा भारतमै सस्तो पर्न थालेपछि निकासी घटेको हो ।

भारतले अघिल्लो वर्ष करको दर हेरफेर गर्दै तेलको कच्चा पदार्थ आयातमा भन्सारदर शून्य र जीएसटी ५ प्रतिशतमात्र लगाएसँगै निकासी निरन्तर ओरालो लागेको छ । वैदेशिक व्यापारका जानकारहरुका अनुसार यी तेलका कच्चा पदार्थ अमेरिकी डलरमा आयात हुन्छन् भने निकासीबाट भारुमा भुक्तानी हुने भएका कारण केही सहज अवस्था रहेको छ ।

पाँच सय प्रतिशतले बढ्यो स्टील आइरन निकासी

टीईपीसीका अनुसार चालू आवको पाँच महिनामा फलाम तथा स्टीलजन्य वस्तुको निकासी झन्डै पाँच सय प्रतिशतले बढेको छ । अघिल्लो आवको मंसिरसम्म ६३ करोड २७ लाख रुपैयाँको निकासी भएको फलाम तथा स्टीलजन्य वस्तु चालू वर्षमा भने ३ अर्ब ७६ करोड २७ लाख रुपैयाँको निकासी भएको छ ।

गत आवमा स्पन्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरका कारण उत्पादन ठप्प हुँदा निकासीसमेत घटेको थियो । चालू आवको निकासी भने आव २०७७÷०७८ कै हाराहारीमा भएको छ । सो वर्ष ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँको निकासी भएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्