Logo

प्लाष्टिकको झोला र सुर्तिजन्य वस्तु बिक्रीमा प्रतिबन्ध

भैरहवामा प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइएको छ । सिद्धार्थनगर नगरपालिकाले प्लास्टिक झोलाको प्रयोगले नगरबासीको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने भन्दै प्रतिबन्ध लगाएको हो । सिद्धार्थनगर नगर कार्यपालिकाको बैठकलले प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

नगर क्षेत्रमा व्यवसायीहरुले प्लाष्टिकको झोला प्रयोग गरेको पाइएको र प्लाष्टिकको झोलाको प्रयोगले जनस्वास्थ्यमा (क्यान्सर रोग) असर गर्ने गरेकोले बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

प्लाष्टिकको झोलाको पूर्ण रुपमा विक्री वितरण बन्द गर्न नगरपालिकाको कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गरेको छ । सूचनामा व्यसायीलाई बिक्री नगर्न र उपभोक्तालाई प्लाष्टिकको झोला प्रयोग नगर्न आग्रह गरेको छ । तोकिएको अवधी पश्चात पनि प्लाष्टिकको झोला बिक्री वितरण गरेको पाइएमा प्रत्येक पटक व्यवसायीलाई पाँच हजार रुपैयाँ जरिवाना कारवाही गरिने छ ।

उता नगरपालिकाले सूर्तिजन्य पदार्थको बिक्री वितरणमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सिद्धार्थनगरको नगर कार्यपालिकाको बैठकले गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । “सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली सिटी’ बनाउनु हाम्रो उद्देश्य हो” सिद्धार्थनगर नगरपालिका मेयर ईश्तियाक अहमद खानले भने, “त्यसैअनुरुप प्लास्टिक झोला संगै गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाइएको हो ।”

गुट्खा प्रकृतिका सूर्तिजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगर क्षेत्रमा गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए । उनले यस निर्णयले सुरुवाती चरणमा व्यवसायी र गुट्खा पारखीलाई समस्या जस्तो अनुभुति हुन सक्ने भएपनि यसले नगर सुन्दर र सफा राख्न मद्दत पुग्ने बताए ।

नगरपालिका कार्यालयले गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्धको ३५ दिने सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “सो अवधी (३५ दिन) पश्चात पनि गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको बिक्री वितरण गरेको पाइएमा प्रत्येक पटक व्यवसायीलाई पाँच हजारका दरले जरिवानाले लिइनेछ ।”

प्रतिक्रिया दिनुहोस्