Logo

घाम नलाग्दासम्म टेलिफोन अवरुद्ध

तातोपानी गाउँपालिका–४ गिडीखोला गाउँका भक्तबहादुर सार्की हातमा स्मार्ट फोन भएर पनि ढुक्कले फोन गर्न पाउदैनन् । हातमा स्मार्ट मोबाइल भएर मात्र नहुने रहेछ । गाउँमा घाम नलागेसम्म फोन पनि नलाग्ने र खबर आदानप्रदान गर्न नपाउने समस्याले स्थानीय आजित भएका छन् । गाउँमागाउँमा टेलिफोन टावर निर्माण भएका छन् । तर घाम नलागेसम्म ती टावरले काम गर्दैनन् । घाम लागेर ब्याट्री चार्ज भएपछि मात्रै गाउँमा टावरले काम गर्छ ।

बिहान र बेलुका जुम्लाका अधिकांश गाउँ सञ्चारविहीन हुन्छन् । फोन गर्न घाम कुर्नुपर्ने वर्षौंदेखिको बाध्यता अन्त्य नभएको भक्त सार्कीको गुनासो छ । तातोपानी जिल्ला सदरमुकाम र कर्णाली राजमार्गसँगै जोडिएको सुगम पालिका भए पनि नेपाल टेलिकमको सेवा गुणस्तरीय नहुँदा दुर्गम मानिएको छ । तातोपानी गाउँपालिका-४, ५, ६ वडामा पर्ने गिडीखोला, नियापानी, पर्थेनी, पाण्डेवाडा, हाँकु, गौतमवाडा, हियाखोला, एैरेनी, लाम्रा, श्रीनगर, गाउँबस्तीका नागरिकले डेढ वर्षदेखि यो समस्या भोग्दै आएका छन् ।

यस्तै जुम्लाको एकमात्र चन्दननाथ नगरपालिका– ८, ९, १० वडामा पर्ने खल्लागाउँ, सिलाम, बारकोटेवाडा, उमगाड, श्रीढुष्का, तलिउम, माझउम, जातिभिडलगायत बस्तीले पनि वर्षौदेखि टेलिफोन सेवाको समस्या भोग्दै आएको स्थानीय सम्राट दमाईले बताए । त्यस्तै, तिला, पातारासी, कनकासुन्दरी, गुठिचौर सिंजाका दुर्गम बस्तीमा सञ्चार असुविधा वर्षौदेखि रहँदै आएको छ । स्थानीय सरकार आएर पहल गरे पनि उपलब्धि देखिएको छैन ।

सञ्चार सेवा सुधार्न ध्यानाकर्षण

जुम्लाका ग्रामीण बस्तीका नागरिकले वर्षौदेखि भोग्दै आएको संचार समस्यालाई मध्यनजर गर्दै तत्काल सुधार गर्नका लागि ध्यानाकर्षण गराइएको छ । हाँकु लाग्नालगायतका थुप्रै टावरमा घाम लागेपछि मात्रै नेटवर्क आउने समस्या रहेकाले सुधार गर्न प्रशासनमार्फत् ध्यानाकर्षण गराइएको तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अम्मर रोकायाले बताए ।

उनले भने, “डेढ वर्षदेखि नेपाल टेलिमकले नेटवर्क सुधार गर्न माग गरे पनि बेवास्ता भएको छ । अन्तिम पटक ध्यानाकर्षणपत्र दिएका छौ । अब पनि सुधार नभएमा दूरसंचारकै कार्यालयमा तालाबन्दी गर्छौं ।” आजको समयमा पनि निर्वाध रुपमा संचार सेवा पाउने अधिकार सम्बन्धित निकायको लापबारहीले कुण्ठित भएको प्रति नागरिक अगुवा राजबहादुर महतले आपत्ति जनाए । ध्यानाकर्षण पत्र बुझदै जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जुम्लाको टेलिफोन सेवा सुधारका लागि ध्यानाकर्षण भएको र पहल थाल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्