Logo

भौतिक पूर्वाधार र सूचना प्रविधि पहिलो रोजाइ

नेपालमा लगानी गर्न फ्रान्सका बहुराष्ट्रिय कम्पनी इच्छुक

फ्रान्स (पेरिस)-विश्वका ६० भन्दा बढी मुलुकहरूमा लगानी गरिरहेका फ्रान्सका बहुराष्ट्रिय कम्पनीहरूले लगानी गर्नका लागि इच्छा देखाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणका क्रममा यहाँका उद्योगी व्यवसायीहरूले वान टु वान वार्ताका क्रममा नेपालको भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र कृषिमा लगानी गर्न इच्छा देखाएका हुन् ।
प्रधानमन्त्री ओलीसँगको छलफलमा झण्डै एक दर्जन बहुराष्ट्रिय कम्पनीका प्रमुख तथा व्यवस्थापकहरूले नेपालमा लगानीको सुरक्षा र अनुकूल कानुन भएमा आफूहरू लगानी गर्न तयार रहेको प्रस्ट पारे । फ्रान्सका बहुराष्ट्रिय कम्पनीहरू डेमिया अन्तर्राष्ट्रिय, एल्कोर, पुमा, ग्रेट स्पोटर्स टेक, बीएनपी, पारिवास, इनग्रुप इन्टरनेसनल, सोसाइटी ग्लोवल फाइनान्स, ओइमीलगायतका अन्तर्राष्ट्रिय कम्पनीहरूले प्रधानमन्त्री ओलीको आह्वानपछि लगानी गर्न इच्छुक रहेको बताएका थिए । ग्लोवल डेमियाका उपाध्यक्ष साविने डोमनगेटले नेपालमा लगानीका लागि कानुनी झन्झट हटाएमा आफूहरू लगानी गर्न इच्छुक रहेको बताए । आफूहरू नेपालका विषयमा जानकार रहेको बताउँदै उनले भने, “भारत र चीन ठूला मुलुकको बीचमा नेपाल छ । दुवै देशमा नेपालमा उत्पादन भएका वस्तुको राम्रो बजार छ । नेपालबाट उत्पादित वस्तुका लागि बजारको समस्या छैन ।”
त्यस्तै एल्कोरका प्रेसिडेन्ट इरिक लेपोर्टले प्रधानमन्त्रीको आग्रहपछि पनि थप उत्साहित बनेको उल्लेख गर्दै लगानीका लागि कुनै पनि प्रशासनिक अवरोध आउन नहुनेमा जोड दिए । “फ्रान्समै आएर प्रधानमन्त्रीले लगानीका लागि आह्वान गर्नुभएको छ,” लेपोर्टले भने, “यसमा हामी निकै नै सकारात्मक भएका छौं र नेपाल सरकारबाट लगानीको सुरक्षाको ग्यारेन्टी आउनुलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।”
फ्रान्सको निजी क्षेत्रको मेडेफ इन्टरनेशनल र नेपाल उद्योग वाणिज्य महासंघबीच दुईपक्षीय सम्झौता भएपछि फ्रान्सका बहुराष्ट्रिय लगानीकर्ताहरूले नेपालमा लगानीका लागि झनै उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले नेपालमा राजनीतिक स्थिरता कायम भएमा आफूहरू लगानी लिएर नेपाल आउने आश्वास दिएका छन् । “विश्वभर नै लगानीलाई हामीले विस्तार गरिरहेका छौं,” लेपोर्टले थपे, “नेपालको भौतिक पूर्वाधारसँगै सूचना र प्रविधिमा हाम्रो लगानी हुन सक्छ ।” धेरैजसो कम्पनीले भौतिक पूर्वाधारसँगै सूचना प्रविधि, केवलकार र कृषिमा लगानी गर्न इच्छा देखाएका छन् ।
फ्रान्सका उद्योगी व्यवसायीहरूलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले नेपालले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई लगानी सम्मेलनमार्फत लगानीका लागि स्वागत गरेको उल्लेख गर्दै नेपालले विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई खुल्ला रुपमा आह्वान गरिसकेको बताए । “लगानीका लागि नेपाल अन्तर्राष्ट्रिय भर्जिन ल्याण्ड हो,” प्रधानमन्त्री ओलीले भने, “लगानी लिएर आउनुहोस् । लगानीको सुरक्षाको ग्यारेन्टी नेपाल सरकारले गर्छ ।” उनले पछिल्लो समय नेपालमा लगानी गर्न विश्वले नै चासो देखाएको दाबी गरे । ओलीले लगानीका लागि नेपालमा अहिले सबैभन्दा अनुकूल वातावरण बनेको उल्लेख गरे ।
फ्रान्सका उद्योगी व्यवसायीहरूलाई आश्वस्त पार्न प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई पेरिस आएका हुन् । उनीहरूको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानीको वातावरण बन्दै गएको उल्लेख गर्र्दैै नेपालको उच्च तहबाट भएको प्रतिबद्धताले अन्तर्राष्ट्रिय लगानीलाई सहज बनाएको बताइन् । “नेपालमा लगानी गर्न आउने वैदेशिक लगानीकर्तालाई सहजीकरण गर्न महासंघ तया छ,” अध्यक्ष राणाले भनिन्, “कुनै दुविधा नराखी नेपालमा लगानी गर्न हुन्छ ।”
युरोप भ्रमणमा रहेको नेपाली उद्योगी व्यवसायीहरूको नेतृत्व गरेका महासंघका उपाध्यक्ष किशोर प्रधानले नेपालको निजी क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूसँग सहकार्य गर्न तयार रहेको बताए । प्रधानले सरकार लगानी भित्र्याउन गम्भीर रहेकाले अब नेपालमा लगानी गर्न वातावरण बन्दै गएको दाबी गरे ।
महासंघको कृषि उद्यम केन्द्रका सहअध्यक्ष हेमराज ढकालले नेपालमा कृषि क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै युरोपेली मुलुकले नेपालको कृषि क्षेत्रमा लगानी गर्न सक्ने बताए । छलफलमा इटहरी उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका प्रदेश सांसद लिलम बस्नेत, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केवश भण्डारीलगायतले फ्रान्सेली लगानीकर्तासँग सहकार्य गरेर नेपालमा थप लगानी गर्न आफूहरू तयार बताएका थिए ।
नेपाल तथा फ्रान्स बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणका क्षेत्रमा सहयोग एवं सहकार्य गर्ने उद्देश्यले महासंघ र मेडेफबीच सहमतीपत्रमा हस्ताक्षर भयो । सम्झौतापत्रमा महासंघका अध्यक्ष राणा र मेडेफ इन्टरनेशनलका अध्यक्ष फ्रेडरिक सान्जेजले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्