फर्निचरमा आत्मनिर्भर बन्ने दौड

बिहीबारदेखि आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स) २०२२ सुरु हुने भएको छ । फर्नेक्समा नेपालसहित भारत तथा बंगलादेशका प्रदर्शकको सहभागिता हुने आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदान प्रदान गर्न एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । एक्स्पोमा किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहने आयोजकको भनाइ छ ।
राजधानीको भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा सयभन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् । बिहीबारदेखि पाँच दिनसम्म चल्ने एक्स्पोमा एक लाख अवलोकनकर्ता आउने आयोजकको दाबी छ । टाइटल स्पोन्सर प्रेस्टिज कार्पेट रहेको उक्त मेलाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको एक्स्पोका आयोजकको दाबी छ । यसै सन्दर्भमा फर्निचर तथा फर्निसिङ एक्स्पो तथा नेपालमा फर्निचर व्यवसायका चुनौती तथा सम्भावना आदिका बारेमा संघका पदाधिकारीसँग कारोबार राष्ट्रिय आर्थिक दैनिकले गरेको कुराकानीको सार :
विदेशी फर्निसिङका सामान ल्याउनु पर्ने अवस्था छैन
शुभेन्द्र जोशी
अध्यक्ष, नेपाल फर्निचर तथा फर्निसिङ संघ
नेपालमा खपत हुने वार्षिक ६० अर्बका फर्निचर र फर्निसिङका सामान मध्ये हामीले कतिपय आयात गरेका छौं । कतिपय नेपालमा नै बनेका छन् । अब ६० अर्बमा ३० अर्ब हामीले आयात गरेको देखिन्छ भने ३० अर्बचाहिँ हामीले उत्पादन र प्रयोग गरेको पनि देखिन्छ । क्रमश: हेर्दा उत्पादनमा कतिपय फर्निसिङका सामानमा हामी आत्मनिर्भर हुदै गरेको अवस्था छ । विदेशी फर्निसिङका सामान केही पनि ल्याउनु पर्दैन । त्यसैकारण यो क्षेत्र उकास्न खोजिँदै छ । जुन हाम्रो नेपालमा बनेको म्याट्रेस भयो, कार्पेट, फर्निचरहरू, प्लास्टिकका फर्निचर, टिनका फर्निचर (जस्ता), गलैंचा, डबल म्याटहरू यिनीहरूको अहिले नेपालमा धेरै राम्रो उत्पादन भइसकेको छ । यो कम्पनीकै त्यति धेरै भनेर हामीसँग त्यति डाटा छैन, तर विस्तारै–विस्तारै नेपालमा उत्पादित सामानको मार्केट बढ्दै गएको देखिन्छ । अहिले फर्निसिङको बजार बजारचाहिँ बनेको छ । र अब आफै उकालो लाग्दै गरेको अवस्था हो । प्राय: कम्पनीहरूले फर्निसिङका कच्चा पदार्थ नेपालमा पाएका छैनन् । कच्चा पदार्थहरूलाई आयात गरेर, नेपालमा बनाएर, निर्माण गरेर अहिले अलिअलि निर्यात गरेको अवस्था पनि छ । तर, कतिपय क्षेत्रमा चाहिँ हामी आफू आत्मनिर्भर बन्न सकेका छैनौं । जस्तै, हाम्रो फर्निचरमा धेरै बाहिरबाट आयात भएको देखिन्छ । आधी नेपालमा छ भने आधी सामान बाहिरबाट आयात भएको देखिन्छ । जबकि नेपालमै काठ हुँदाहँुदै पनि हामीले आयात गर्नुपरेको अवस्था छ । बैंकको ब्याजदर बढ्दो नै छ । त्यस्तै अब पट्रोलियम बढेको बढ्यै छ । पट्रोलियम पदार्थको भाउ बढेपछि सीधै हाम्रो कच्चापदार्थमा असार पर्न जान्छ र हाम्रो वस्तुमा पनि महँगीले असर पारेको हुन्छ । यातायात पनि धेरै महँगो भएको छ । पहिलाभन्दा ४/५ गुणा यातायातमा बढी आएको देख्न सकिन्छ । यी जम्मै कारणले गर्दाखेरि हाम्रो फर्निचर र फर्निसिङका सामानमा पनि भाउ बढेको देखिन्छ । नेपालमा अहिले उत्पादन क्षेत्र बढ्दै गइरहेको छ, यो नै हाम्रो लागि खुसीको कुरा हो । कोभिडको संकटबाट त कोही पनि बच्न सकेन र हामी पनि यसमा पर्यौं । हामीहरूलाई निकै असर पारेको छ पनि । जब कोभिड लागिरहेको थियो, त्यो बेला अरू क्षेत्रमा जस्तो असर त गरेको थिएन, किनभने अस्पतालहरू बनिरहेका थिए, आइसोलेसन बनिरहेका थिए । त्यसैकारण हाम्रो खाट चाहिहाल्यो, तन्ना, तकिया, पर्दा, कार्पेटहरू सबै चाहियो । त्यसैले हामीलाई धेरै असर गरेको देखिएको छैन । दोस्रो भनेको अन्तर्राष्ट्रिय कारणले गर्दा देखियो । त्यति बेलाभन्दा पनि अहिले हाम्रो बजारमा धेरै आस देखिन्छ । फर्निसिङ बजारमा धेरै कुरामा आत्मनिर्भर बन्दै गइरहेको छ, साथै सरकारी नीति नियमहरू हाम्रो टेवामा भयो भने हामीले अझै धेरै यो क्षेत्रमा विकास गर्छाैं ।
विदेशका काठ किन्न र यहाँका काठ किन्न उस्तैउस्तै मूल्य पर्न जान्छ
अर्जुन घिमिरे
महासचिव, नेपाल फर्निचर तथा फर्निसिङ संघ
यसपालि समग्र रूपमा बजारमा अलिअलि ठाउँ पाउन लागेका छौं । अहिले त बाहिरबाट आएको आयातलाई प्रतिस्पर्धापन कसरी गर्ने, हामीले अब निर्यात गर्ने र नेपालमा उत्पादन कसरी बढाउने भन्ने कुरा गर्न लागिरहेका छौं । अब त समग्रमा जापानलाई एउटा ब्रान्डिङ गर्ने, प्रबन्ध गर्ने भन्ने उद्देश्यले हामीले यो निर्यात प्रविधि सञ्चालित गर्न लागेका हौं । भोलिदेखि २७ भदौसम्म भृकुटीमण्डपमा आयोजना हुने प्रोत्साहन कार्यक्रम छ । अहिलेको अवस्थामा नेपाली बजारमा आयात पनि उत्तिकै छ र नेपाली बजारमा उत्पादन भएका पनि उत्तिकै देखिन्छन् । फर्निचर पनि यसमा जोड्न सकिन्छ र काठहरू भयो त्यसमा चाहिने सामान विदेशबाट आउने भयो । मलेसिया, सिंगापुरबाट आइरहेका छन् र काठहरू पनि थाइल्यान्डबाट आइराखेको छ । हो, त्यसलाई कसरी प्रतिस्थापन गर्ने भन्ने छँदै छ । अर्कोतर्फ, हामीले बजारमा कसरी रोजगारी सिर्जना गर्न सकिन्छ कि भन्ने पनि छ । सरकारी नीतिले गर्दा व्यवसायमा चल्नै गाह्रो भएकाले, बाहिरबाट काठ ल्याउन र यहाँका काठ किन्न दुवै उस्तैउस्तै मूल्य पर्न जान्छ । सालको काठ, सिसौको काठ, अलि महँगो काठ फरक हुन्छ । सजिलो हिसाबले बाहिरबाट आएका काठहरू किन्न पाइन्छ । नेपाली काठहरू किन्नु त पर्यो, अलि महँगो पर्छ । हामी उद्योगीहरूले पनि, व्यवसायीले त्यसको वन मन्त्रालय टेन्डरमा हामीले भाग लिन नपाउने र हामीले त्यसका लागि वन मन्त्रालयमा ध्यानाकर्षण गराएका छौं ।
त्यसलाई कसरी परिमार्जन गर्न सकिन्छ, महांसघमार्फत पनि ध्यानाकर्षण गराएका छौं । त्यो कुरामा सरकारले पनि अलिकति हेर्ने हो भने, व्यवसायमैत्री कानुन बनायौं भने सजिलो होला ।
फर्निचर क्षेत्रमा आस गर्ने ठाउँ बन्दै गएको छ
ओम बस्नेत
संयोजक, फर्नेक्स २०२२
नेपालमा पनि फर्निचर उत्पादन हुने क्रम बढ्दै छ । यसले समग्र बजारलाई भोलिको दिनमा यो फर्निचरको उद्योग क्षेत्रमा केही आस गर्ने ठाउँ देखाउँछ । नेपाली बजारमा नेपालका धेरै उत्पादनले काम गर्न सक्छन् । जस्तै फर्निचर त्यहीँ बने पनि जापान, ताइवान, मलेसिया, भारत, इन्डोनेसियालगायतका देशबाट आयात भइरहेका छन् । अहिलेको बजार हेर्ने हो भने दुई पटक भएको कोरोनापछि अलिकति माथि जाँदै थियो बजार । तर, अहिले स्थानीय तहको निर्वाचनसँगसँगै बजारमा ह्रास आएको छ । अझै बजार उठ्न सकेको छैन । कृषिको लगभग पाँच हजार पाँच सय चानचुन सालका काठहरू छन् । पैसा काठअनुसार हुन्छन् । विशेषगरी सालको काठ बाहिरबाट पनि आएको हुन्छ र काठको समस्या के हो भने जसले काठको उद्योग गर्छ उसले वनको टेन्डरमा भाग लिन नपाउने, जसले फर्निचर चलाउँदैन उसले चाहिँ भाग लिन पाउने अनि हामीलाई आफ्नो नाफा राखेर काठ बेच्ने । त्यस्तो गर्दाखेरि हामीले यहाँको काठभन्दा बाहिरको काठ ल्याउँदा सस्तो देखियो । वन नियम–२०८८/०८९ मा प्रकाशित भएको सूचनाले पनि हाम्रो फर्निचर उद्योग हस्तक्षेप हुने गरी जुन नियम आएको छ त्यसलाई हामीले सच्याउनुपर्छ । सचीवज्यूकहाँ, डीजी साबकहाँ गइसकेका छौं । केही दिनभित्रै मन्त्रीलाई पनि भेट्नेछौं । यावत् समस्या छन्, जसले उपभोग गर्छ काठको लिलामीमा भाग लिन नपाउने अनि सीमित ठाउँका केही जिल्लाका पहाडी जिल्लामा जहाँ वन पैदावार नभएका ठाउँमा मात्रै फर्निचर उद्योगले लिलाममा भाग लिन पाउने । काठ लिलाम दर्ता गर्दाखेरि स्वीकृति लिनुपर्ने भन्ने बाध्यात्मक व्यवस्था छ । आजको गणतान्त्रिक र प्रतिस्पर्धाको युगमा सबै कुरा स्वतन्त्र हुनुपर्ने तर सिण्डिकेटले गर्दा समग्र फर्निचर धराशायी बनाउँछ जस्तो मलाई लाग्छ । नेपालबाट उनीहरूसँग काठ किनेर आफूले बेच्दा महँगो पर्ने हुँदा हामीले आयातमा सस्तो देखिने परिस्थिति छ । यसलाई सरकारले मूल्यांकन गरोस्, फेरि रिचेक गरोस् र यो नियमलाई परिवर्तन गरोस्, सन्तुलन गरोस् भन्ने हाम्रो आशा छ । यसैगरी काठ नपाएको विषयमा पनि विवाद छ । झन्डै–झन्डै २७ प्रतिशत जति काठ नाप्दा हराउने वा कमी देखियो, यो पनि एउटा समस्या हो । फर्निसिङ उद्योग बढ्दै जाँदा र मेटिरियलहरू बजारमा ल्याउने पहल सरकारले गर्दै जानुपर्यो । फर्निचर उद्योगहरूलाई पनि प्रोत्साहित गरेर विदेशका उच्चस्तरका मेसिन ल्याएर उत्पादन गर्ने वातावरण बनाइदियो भने पक्कै पनि स्वदेशी फर्निचरहरू विदेशी फर्निचरको तुलनामा योग्य हुन्छन् । अघिल्लो वर्ष वार्षिक सात अर्बको काठ आएको भन्ने छ । त्यही हाराहारीमा पनि यो वर्ष बढी हुनुपर्छ । यही हिसाबले पनि हरियो वन नेपालको धन भनेजस्तै काठ उपभोग गर्न पाउनुपर्ने तर, वनको झन्झटिलो नियम कारण वनमा काठ सडेर गए अनि व्यापारीले बाहिरबाट आयात गर्नुपर्दा नेपाली रकम पनि बाहिर जाने र यसले प्रतिस्पर्धा गर्न पनि गाह्रो हुने अवस्था छ ।
कार्पेटमा आत्मनिर्भर भएका छौं
अनिल महेश्वरी
प्रबन्ध निर्देशक, प्रेस्टिज कार्पेट–टाइटल स्पोन्सर, (फर्नेक्स)
नेपालको फर्निसिङ बजार राम्रो र विकासको क्रममा छ । यसको बजार कहिल्यै पनि कम हुँदैन, बढ्दै जान्छ । हामीसँग, एक्ज्याक्ट डाटा त छैन तर राम्रो हुन्छ । यसमा हाम्रो अन्तरिक उत्पादन कति छ र बाहिरबाट कति आयात हुन्छ, आउने अघिल्लो वर्षदेखि अभाव कम भएको छ र आन्तरिक उत्पादन बढी छ । ७५ प्रतिशतचाहिँ नेपालको उत्पादन छ र कार्पेटमा हेर्ने हो भने लगभग ८०/८५ प्रतिशत नै नेपालको कार्पेट बिक्छ । प्रेस्टिज कार्पेटको पनि २०१८ मा कारखाना ल्याएका कारण माग बढ्दै गएपछि हामीले युरोप, अमेरिकाबाट विदेशी मेसिन ल्याएर हामीले यहीं बनाउन थालेका छौं । कोभिडपछि सञ्चालन राम्रै भइरहेको छ । गुणस्तरमा पनि कमी छैन । त्यही भएर अहिले बजारमा आयातभन्दा लोकल सामग्री बढी मन पराउन थालेका छन् । प्रेस्टिजले कार्पेट मात्र उत्पादन गर्छ । यसमा धेरै भेराइटी हुन्छ । जस्तै— प्लेन कार्पेट कट्पाइल हुन्छ, कट्पाइल ग्राफिक हुन्छ, हाइनो कार्पेट हुन्छ । यो सबै थरीको निर्यात हुन थालेको छ र दुई–तीन महिनापछि हाम्रो नयाँ प्रविधि आउँदैछ । प्रिन्टिङ कार्पेट भन्छौं, त्यसलाई डिजिटल प्रिन्ट, त्यो कार्पेट पनि तीन महिनापछि सुरु हुन्छ । हाम्रो जुन कम्पनी छ, यसमा लगभग ३५ करोडको लगानी भइसकेको छ । यो मेसिन आएपछि १०/१२ करोड थप अर्को हुनेछ । हामीले ल्याएको मेसिन सबै महँगो छ र राम्रो छ । राम्रो उत्पादनका लागि त्यो ल्याएको हो । यस्तो अरू फ्याक्ट्रिले पनि राखेको छ । यहाँ सामान्य मेसिन ल्याएर ५/६ करोड पनि लगाउन सकिन्छ । हाम्रो फ्याक्ट्रिमा ५०/६० जनाले रोजगारी पाएका छन् । अहिले नेपालमा म्यानपावरको पनि कमी छैन, फर्निसिङको काम सिकेर, त्यसैले विदेशतिर जाने संख्या बढेको छ । त्यो भएर हाम्रो फर्निसिङको दोकान त एउटा वर्कसपजस्तो भएको छ । सिक्न जाने त्यस्तो भइरहेको छ । हाम्रो सबैभन्दा पैला कार्पेटको पूरै रेन्च आउन परेको छ । त्यसपछि हामी पीभीसी फ्लोरिङमा पनि जाने हो । पीभीसी फ्लोरिङको उत्पादन पनि हामी डेढ–दुई वर्षमा त्यो पनि योजनामा छ । पर्दामा चाहिँ हाम्रो सामग्री त्यति छैन ८० प्रतिशत आयातमा गरिरहेका छौं । हामी कार्पेटमा चाहिँ आत्मनिर्भर भएको अवस्था छ । विभिन्न कार्यक्रमअनुसार हामीले आउने उपभोक्तालाई अनुभव गराउन र हाम्रो उद्देश्य भनेको विदेशीभन्दा राम्रो हो हाम्रो कार्पेट भनेर देखाउन खोज्दै छौं । नेपालीमा एउटा सोच के छ भने विदेशी सामान मात्र राम्रो, नेपालको राम्रो हुँदैन भन्ने सोच छ । त्यसलाई हटाउन र विदेशीभन्दा सस्तो हुन्छ भन्ने र बुझाउने हाम्रो कर्तव्य हो । नेपाली सामान नै छानौं र नेपाली सामान प्रयोगमा ल्याउने हाम्रो उद्देश्य पनि हो । निर्यातका लागि सरकारी नीति थोरै परिवर्तन गर्ने हो भने हामी गुणस्तरअनुसार निर्यात गर्न तयार छौं । पैसाअनुसार छैनौं, किनभने जुन हाम्रो लगानी हुन्छ, आयातका लागि मिल्दैन । किनभने हामीले सबै कच्चा पदार्थ बाहिरबाट आयात गर्ने, त्यसपछि हाम्रो भारतदेखि कोलकातासम्म पुर्याउने जुन खर्च छ त्यसमा भाडा छ, ती कुरामा सरकारले अलिकति सहयोग वा सहजीकरण गरिदियो भने भोलिदेखि नै निर्यात गर्न सकिन्छ ।
हामीले २००२ मा ट्रेनिङबाट सुरु गरेको हो कार्पेट उद्योग । २००२ देखि आयात गरेर बेच्दै थियौं र अब त्यो बेलामा महिनामा एक कन्टेनर दुई कन्टेनर बिक्री हुन्थ्यो । पछि आउँदा आउँदा २०१२/०१४ मा २५ कन्टेनरसम्म आयो, पछि ५० कन्टेनर भयो । बजार विकास भएपछि हामीमा के विचार आयो भने अब यो यहीँ राख्दा ठीक होला भनेर भारत र चीनबाट धेरै कम आउने, यो बढी आउनेचाहिँ बेल्जियम नेदरल्यान्डबाट र दुवै साउदी यिनीहरूबाट बढी आउने हो । सबैभन्दा बढीचाहिँ टर्कीबाट हो । नेपालीले यसको ज्ञान लिन धेरै गर्नुपर्छ । अहिले पनि एयरपोर्टमा जुन कार्पेट लगाएको छ, त्यो विश्वव्यापी एयरपोर्टलाई मिल्दैन । त्यस्तो अवस्थामा हाम्रो एयरपोर्टले पनि हेर्नुपर्छ । धेरैजसो सरकारी कार्यालयमा पनि कार्पेट भए पुग्ने अवस्थामा छांै । बुझेर लगाएको भन्नै मिल्दैन, नेपाली बजारमा बढी जाने भनेको प्रेस्टिज कार्पेट हो । लास्टमा सके हाम्रो लाउनुस्, विदेशीभन्दा नेपालीको गुणस्तर हेर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।