Logo

किसान र उद्योगकै तालमेल नमिल्दा सुध्रिएन चियाको गुणस्तर

??

चिया किसान र उद्योगीबीच तालमेल मिल्न नसक्दा चियाको गुणस्तर वृद्धि हुन सकिरहेको छैन । किसानहरूले हुर्किएको चियासमेत उद्योगमा लैजाने र उद्योगले पनि मूल्य घटाएर नै भए पनि सो चिया खरिद गर्दा नेपालमा चियाको गुणस्तर वृद्धि हुन नसकिरहेको हो ।
खास चिया टिप्नका लागि हरियो दुई पात एक सुइरोलाई गुणस्तरीय चिया मानिन्छ । तर, कहिले किसानहरूले लामो चियासमेत उद्योगसम्म पुर्‍याउँदा चियाको गुणस्तर खस्किँदै गएको छ । बढी मूल्य दिएर किसानको चिया खरिद गर्न नसक्नु र जस्तो चिया पनि बिक्छ भन्ने मनस्थिति चिया किसानमा पुग्दा समस्या रहिरहेको छ । पहाडी जिल्लामा चियाका अनेक आइटम (प्रकार) निर्माण हुन्छन् । ग्रीन टी, ह्वाइट टी, सिल्भर टी, ब्ल्याक टी, गोल्डेन टीलगायतका चिया निर्माणका लागि गुणस्तरीय चिया नै आवश्यक पर्ने गरेको उद्योगीको भनाइ छ । तर, किसानहरूले ल्याएको चिया फर्काउँदा चित्त दुखाउने भएकाले कम गुणस्तरको चियासमेत उद्योगमा राख्नुपरेको एक चिया उद्योगीले बताए । किसानहरूले पुन: चिया सो उद्योगमा नल्याउने भएकाले पनि किसानको चिया फर्काउनभन्दा पनि मूल्य घटाएर भए पनि चिया खरिद गरेर राख्नुपरेको उद्योगीको भनाइ छ ।
पहाडी क्षेत्रमा सात दिनमा एक टिपाइ चिया हुन्छ । अर्थात् सात दिनमा चिया टिप्न योग्य हुन्छ । तर, कामविशेषले एक साता चिया टिप्न नभ्याए चिया लामो हुने र गुणस्तरअनुसारको चिया टिप्न नसकिने किसानको भनाइ छ । समयमा कामदार नपाउने र मिलाएर टिप्न बढी समय लाग्ने भएकाले लामो चिया पनि उद्योगसम्म लैजानुपर्ने बाध्यता रहेको किसानको भनाइ छ । दुवै पक्षको व्यावहारिक कुरा मान्दा नेपालमा चियाको गुणस्तर वृद्धि हुन नसकिरहेको इलामका किसान तथा उद्योगीहरूले स्विकारेका छन् ।
इलामको चियाको गुणस्तर कायम गर्न किसान र उद्योगीबीच समन्वय हुनु उनीहरू आफैँ स्विकार्छन् । तर, बर्सेनि चियाको गुणस्तर वृद्धि हुनुपर्ने भए पनि सो हुन सकिरहेको छैन । चियाको गुणस्तर वृद्धिमा किसान र उद्योगी जिम्मेवार नभए बजारीकरणमा अन्योल पर्ने चिया विज्ञको भनाइ छ ।
सुरुमा उद्योगले नै कुनै मापदण्ड तोकेर कार्यान्वयन गराउनुपर्ने सूर्योदय नगरपालिकाका किसान जीवन कार्कीको भनाइ छ । उद्योगले मापदण्ड बनाएर कार्यान्वयन गर्ने हो भने किसानले चिया गुणस्तरीय ल्याउने भन्दै एउटा उद्योगले नलिएको चिया अर्को उद्योगले लिने गरेका कारण चियामा पटक–पटक समस्या आउने गरेको उनको भनाइ छ । उनी किसानले लगेको चिया एउटा उद्योगमा गुणस्तरहीन र अर्कोमा गुणस्तरीय चिया हुने हुनाले सधैँ समस्या आउने भन्दै एक उद्योगमा मापन गरिएको चिया सबै उद्योगमा एकैनासको नभएसम्म गुणस्तरीय चिया उत्पादन नहुने उनको धारणा छ ।
किसानले लगेको चिया कुनै उद्योगले राम्रो छैन भनेर फिर्ता गरे अर्को उद्योगले डाँक्लैसँगको चिया पनि गुणस्तरीय भनेर लिने परिपाटी अन्त्य नभएसम्म किसानले चियाको गुणस्तर नसुधार्ने भन्दै उद्योगी र किसान मिलेर गुणस्तरीय चिया उत्पादनमा लाग्नुपर्ने किसानहरूको भनाइ छ ।
सूर्योदय नगरपालिकाका चिया किसान तेजप्रसाद बस्ती चियाको क्वालिटी सुधार्न उद्योगले किसान चिनेर निश्चित किसानबाट चिया लिनुपर्ने बताउँछन् । उद्योगले एक दिन चिया ल्याउने किसानको पनि चिया किन्ने गरेको भन्दै आफ्नो निश्चित किसान नबनाएसम्म चियाको गुणस्तर सुधार्न समस्या आउने उनी बताउँछन् । कस्तो चिया कुन उद्योगमा लान्छ भनेर पनि उद्योगलाई थाहा हुनुपर्ने बस्तीको सुझाव छ । चिया किसान जय राई गुणस्तर सुधार गरेर तेस्रो मुलुकमा चिया नपुर्‍याएसम्म चियामा सधैं समस्या आइरहने भन्दै उद्योगले पनि चिया बेच्न समस्या हुँदा मात्र किसान भेला गरेर समस्या समाधान नहुने बताए । ‘पाँच–छ वर्ष अघिदेखि नै भारतले चियामा कडाइ गर्दा पनि अहिलेसम्म गुणस्तर बनाउन नसकेको कारण पटक पटक समस्या भोग्नुपरिरहेको छ ।’ उनले भने ।
चिया उद्योगी डिल्ली श्रेष्ठले समस्या आएपछि उद्योग र किसानलाई दोष लगाउन भन्दा पनि सबै मिलेर चियाको गुणस्तरमा सुधार गर्न सबै लाग्नुपर्ने उनको सुझाव छ । पछिल्लो समय भारतले नेपाली चियालाई गुणस्तरीय नभएको भन्दै चिया रोक्न लागेको छ । या नेपालको चिया भारतको बाटो हुँदै तेस्रो मुलुक गए पनि कर लगाउने तयारी गरिरहेको बताइएको छ । चियाको गुणस्तर सुधार गर्न चियामा काम गर्ने किसान, व्यवसायी र उद्योगीले जिम्मेवार हुन जरुर रहेको छ । सूर्योदय टि. प्रोड्युसर्स एसोसिएसनले चियामा देखिएको समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि पहल गरिरहेको बताइएको छ ।
तर बढी चिया सूर्योदय नगरपालिकामा नै उत्पादन भए पनि जिल्लाको अन्य क्षेत्रको समस्या उस्तै छ । नेपालको चिया गुणस्तरीय बनाउन सके तेस्रो मुलुकबाट समेत व्यापारी आउने भएकाले सबैभन्दा पहिला गुणस्तरीय चियामा नै जोड दिनुपर्ने चिया क्षेत्रका अगुवाहरूको भनाइ छ ।
चियाको गुणस्तर सुधार गर्न किसान, उद्योगी र स्थानीय सरकार एक भएर लाग्नुपर्ने बताउँदै सबैभन्दा जिम्मेवार उद्योगी हुनुपर्ने सुझाव रहेको छ । सूर्योदय नगरपालिकाका उद्योगले मापदण्ड नबनाउँदा गुणस्तरीय चियामा समस्या आएको किसानको गुनासो छ । जिल्लाका धेरै ठाउँमा चिया खेती हुने गरेको छ । तर, सूर्योदय नगरपालिकामा उत्पादन भएको चिया भारत जाने गरेका कारण पटक–पटक चियामा समस्या आउने बताइएको छ । जिल्लाको देउमाई र इलाम नगरपालिकालगायत अन्य स्थानमा उत्पादन भएको चिया सोझै तेस्रो मुलुक जाने गरेका कारण कम समस्या पर्ने गरेको बताइएको छ ।
चियालाई विस्तार गर्न जसरी लागियो अब बजार विस्तारमा समेत लाग्न उत्तिकै जरुर छ ।

प्रतिक्रिया दिनुहोस्