‘मूल्यवृद्धि नियन्त्रणमा सरकारको ध्यान गएन’

नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले खाद्यपदार्थमा ४० प्रतिशत मूल्यवृद्धि भएको हुँदा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकको विशेष समयमा उनले खाद्यपदार्थ, पेट्रोल, डिजेल, निर्माण सामाग्रीलगायतमा मूल्य वृद्धिका कारण जनताको जनजीवन निकै कष्टकर हुँदै गएको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।
“गरिबीको रेखामुनि रहेका जनतालाई राहत दिन सुपथ मूल्यका पसल खोल्न सकिन्छ, मूल्यवृद्धिको अनुगमन गर्न सकिन्छ । गलत गर्नेलाई कारबाही गर्न सकिन्छ, अचाक्ली ढङ्गले मूल्य बढिरहेको छ,” उनले भने । १७ प्रतिशत गरिबीको रेखामुनि रहेका जनताको जनजीवनलाई ध्यानमा राखेर सरकारले काम गर्नुपर्ने उनले बताए ।
“किसानको हातमा मल छैन, पढाइ भएको तीन महिना भएको विद्यालयमा पाठ््यपुस्तक छैन । सरकारले मूल्य नियन्त्रणका विषयमा ध्यान दिन सकेन, जनतालाई परेको मर्कामा सदनले पनि बोल्नुपर्छ,” उनले भने । मूल्यवृद्धि नियन्त्रण गर्ने विषयमा सभामुखले सरकारका नाममा रुलिङ गर्न आग्रह गर्दै उनले किसानका लागि मल र विद्यार्थीका लागि पाठ्यपुस्तकको समस्या तत्काल समाधान गर्न माग गरे ।
सांसद ज्ञवालीले जनताले गुणस्तरीय पानी पिउन नपाउँदा जारको पानी किनेर खानुपर्ने बाध्यता बढ्दै गएको र मेलम्ची वर्षायामका कारण धमिलो भएकाले पानीमा समस्या देखिएको बताए । उनले खाद्य सामग्रीमा गुणस्तर परीक्षण गर्न, कृत्रिम अभाव, सिन्डिकेट र कार्टेलिङ हटाउन साथै दैनिक ज्यालादारीको ज्यालामा वृद्धि गर्न समेत सरकारसँग माग गरे ।