इन्धनको खपत घटाउन निगमको १० बुँदे प्रस्ताव

इन्धनको खपत घटाउनका लागि नेपाल आयल निगमले १० बुँदे प्रस्ताव पेश गरेको छ ।
नेपाल आयाल निगमले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।
पछिल्लो दिनमा इन्धनको मूल्यमा घाटा बेहोर्दै गएपछि निगमले सार्वजनिक सरकारी साधनहरूको प्रयोग कम गराउने उद्देश्यले शनिबार र आइतबार सार्वजनिक बिदा दिन प्रस्ताव गरेको हो ।
निगमले पेट्रोलियम पदार्थहरूमध्ये पेट्रोल र डिजेलको खपत कटौती गर्न संवेदनशिल क्षेत्र वा निकायबाहेकका निजी सरकारी सवारी साधन जोर विजोर प्रणाली सञ्चालन गर्न प्रस्ताव गरेको छ ।
यस्तै पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गरी विद्युुतीय सवारी साधन आयातलाई प्रोत्साहन गर्नेमा जोड दिनुपर्ने निगमले जनाएको छ ।
सरकारले केही समयका लागि पेट्रोलियम पदार्थमा लिइँदै आएको भन्सार शुल्क, मूल्य अधिवृद्धि कर, पूर्वाधार शुल्कलगायतका शुल्कमा प्रतिलिटर १५ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय रुपैयाँसम्मले सरकारी शुल्कहरू मिनाहा गर्नुपर्ने निगमको भनाइ छ । बाँकी घाटा मूल्य समायोजनाबाट मिलान गर्ने प्रस्ताव गरेको छ ।
त्यसैगरी, खाना पकाउन एलपी ग्यासको प्रयोग नगरी बिजुली प्रयोग गर्न नेपाल सरकारबाटै सार्वजनिक आह्वान गर्ने, ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत बढाउन आह्वान गर्ने र छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदलयात्रा गर्न आह्वान गर्ने प्रस्ताव गरेको निगमले जनाएको छ ।
सरकारी बैंकहरू, नागरिक लगानी कोष, सञ्चय कोषजस्ता संस्थाहरूबाट निगमलाई आवश्यक पर्ने रकम सहज र सरल रुपमा उपलब्ध गराउने व्यवस्थाका लागि अर्थ मन्त्रालयले प्रत्यक्ष रुपमा सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै, जुनसुकै किसिमको सवारी साधनहरूमा पूर्ण सिट क्षमतामा यात्रुहरू बस्ने वा आवतजावत गर्ने व्यवस्था व्यवस्था मिलाउन पनि सार्वजनिक आह्वान गर्ने जनाएको छ ।