निर्यात प्रबद्र्धनमा एडीबीसंगको साझेदारीको अपेक्षा

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एशियाली विकास बैंक (एडीबी) सँग नेपालले थप साझेदारी गर्नुपर्ने बताएका छन् ।
शुक्रबार एडीबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग भुर्चुअल माध्यमबाट भएको छलफलमा उनले नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउँदै यस क्षेत्रमा एडीबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । ‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको छ’, उनले भने, ‘उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तुको निकासी गरी विश्व बजार श्रृङ्खलामा पु¥याउन पनि एडीबीसँगको हाम्रो सहकार्य आवश्यक रहेको छ ।’ उनले अर्थतन्त्रको नकारात्मक पक्षहरूलाई न्यूनीकरण गर्ने कुराहरूमा पनि थप जोड दिन आवश्यक रहेको औँल्याए ।
अर्थतन्त्र तथा व्यापारका सूचकाङ्कलाई सुधार गर्न जरुरी रहेको पनि मन्त्री शर्माको भनाइ छ । त्यसका लागि लगानीमैत्री वातावारण निर्माण तथा निजी क्षेत्रलाई प्रोत्साहन एवम् उत्साहित बनाउनुपर्ने उनले बताए ।
छलफलमा उनले एडीबीले कोभिड महामारीलाई नियन्त्रण गर्न तथा नेपालको अर्थतन्त्रलाई सुधार गर्न पु¥याएको सहयोगप्रति बैंकलाई धन्यवाद समेत प्रदान गरे.। उनले कोभिडपछि अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्नुपर्ने बाँकी रहेको र त्यसमा थप सहकार्य नेपाललाई आवश्यक रहेको बताए ।