मूल्यवृद्धिले जनता मारमा

कोरोना भाइरस र यसका भेरियन्टहरूको संक्रमणबाट पूरै विश्व नै आक्रान्त बनिसकेको छ । यसको फलस्वरूप विश्वको अर्थतन्त्र नै खस्किसकेको छ । अब त अर्थतन्त्रले गति लिएर पुनरुत्थानतर्फ मोडिएला कि भनेझैँ हुन्छ, फेरि नयाँ भेरियन्ट देखिन थाल्छ । जनजीवन पहिलेको झैँ भइसकेको थियो, तर फेरि ओमिक्रोनको संक्रमण दर बढ्नाले सम्पूर्ण जनता त्रसित बनेका छन् । निराश बनेका व्यवसायीहरूको मनमा आशा पलाएको थियो, तर फेरि यस नयाँ भेरियन्टले डामाडोल बनाइदियो । आखिर कहिलेसम्म हो यसरी त्रासमा बाँच्नुपर्ने भनेर टुंगो छैन । त्यसमाथि यही कोरोना भाइरसकै कारण कैयौं मानिसले आफ्नो रोजगारी, व्यवसायलगायत आफ्नो सब थोक गुमाएका छन् । जसको फलस्वरूप दिनप्रतिदिन उपभोग्य वस्तुका साथसाथै अन्य सामानहरू जस्तै— लत्ताकपडा, पेट्रोलियम पदार्थहरूको मूल्यमा समेत वृद्धि भइराखेको छ ।
दिनहुँ उपभोग गर्ने वस्तहरू जस्तै— दाल, चामल, दूध, चिनी, सागसब्जीजस्ता अत्यावश्यक खाद्य पदार्थहरूको मूल्यमा बारम्बार वृद्धि भइराखेको छ ।
त्यसै त रोगले थलिएका जनता, त्यसमाथि पनि सरोकारवालाहरूले यसरी मूल्यमा वृद्धि गरिदिँदा न्यून आय वर्गका मानिसहरूमा कस्तो असर पर्ला भनेर आखिर यहाँ कसले सोचिदिने ? कुनै पसलमा चिनीको मूल्य ८५ रुपैयाँ हुन्छ भने कुनै पसलमा ९० त कतै १ सय रुपैयाँ कायम छ । सामान्य सूर्यमुखी तेलको भाउ बढेर अहिले २ सय ६० रुपैयाँ पुगिसक्यो भने धारा तेलको मूल्य २ सय ८० र धारा तोरीको तेल बढेर ३ सय ५० सम्म पुगिसकेको छ । त्यस्तै १ सय ५० रुपैयाँ प्रतिकेजीमा आउने रहरको दाल अहिले बढेर १ सय ७०, मुसुरो र मासको मूल्य १ सय ६० र १ सय ५० सम्म पुगिसकेको छ । त्यसमाथि पसलअनुसार भाउ भिन्दाभिन्दै हुनाले त्यसमा पनि ५ देखि १० रुपैयाँसम्म फरक पर्ने गर्छ ।
केही समयअघि १६ सय ५० रुपैयाँमा किनेको २५ केजी जिरा मसिनो चामलको मूल्य बढेर अहिले १७ सय ५० सम्म लिने गर्छन् भने सामान्य सोना मन्सुली ३० केजीको अहिले प्रतिबोरा १४ सयदेखि १५ सयसम्म पर्ने गर्छ । कुखुराको मासु, अन्डा तथा हरियो तरकारीको भाउमा समेत वृद्धि भएको छ । यस वर्ष खुखुराको अन्डा ४ सय ५० रुपैयाँ भन्दा कममा झरेकै छैन भने कुखुराको मासु पनि ३ सय ७० कायम नै छ । यस्तो सिजनको बेलामा पनि काउली अझै पनि ७० देखि १ सय रुपैयाँ छ । त्यसमाथि बारम्बार पेट्रोलियम पदार्थ र ग्यासको मूल्यमा हुने वृद्धिको कुरा गरेर साध्य नै छैन । ग्यास अहिले बढेर १५ सय ७५ भइसकेको छ । केही दिनअघि मात्र नेपाल आयल निगमले पुनः इन्धनको मूल्य पुनः बढाएको छ । पेट्रोल, डिजेल र मटीतेलको मूल्य प्रतिलिटरमा रु. ३ ले बढाएर पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४२ रुपैयाँ तथा डिजेल र मटीतेलको मूल्य १ सय २५ कायम भएको छ । यसरी बारम्बार पेट्रोलियम पदार्थको मूल्यमा हुने वृद्धिको कारणले गर्दा पनि ढुवानी खर्च बढ्नाले अन्य खाद्यान्न वस्तुको मूल्य अझै बढ्न सक्ने सम्भावना छ ।
सबैको आर्थिक स्तरमा वृद्धि भएर अन्य खर्चमा वृद्धि आउनु भनेको त ठीकै हो । तर, सानो ठेलामा तरकारी, चप्पल, कपडाको साथसाथै मकै पोलेर आफ्नो गुजारा गर्ने व्यक्तिहरू पनि हाम्रो समाजमा छन् । यसरी बढिरहेको महँगीको कसरी सामना गर्न सक्लान् यी वर्गका मानिसहरूले ? दिनभरि २०–३० वटा मकै पोलेर बेचेर कसरी आफ्नो घर खर्च टार्ने ? कसरी दिने आफ्ना बालबच्चालाई सुविधा र शिक्षादीक्षा ? सरकारको ध्यानाकर्षण यो विषयमा किन गइ राखेको छैन त ?
लत्ताकपडाको मूल्य त्यस्तै अत्यधिक बढेको छ । केही हप्ताअघि १२ सय ५० रुपैयाँमा किनेको पाइन्टको मूल्य १५ दिन बित्न नपाउँदै १ सयले बढेर १३ सय ५० रुपैयाँ भएको छ । अझै ठूला–ठूला सपिङ मलहरूमा त यो ब्रान्ड र त्यो ब्रान्ड भनेर कपडाको मूल्यमा यति धेरै वृद्धि गरिएको छ कि बयान गरेर साध्य नै छैन । त्यस्ता मलहरूमा एउटा सामान्य बाक्लो टिसर्टको २५–३० प्रतिशत छुट दिएर ३५ सय, ४ हजार रुपैयाँ भन्ने गर्छन् र धनाढ्य व्यक्तिहरू किन्ने पनि गर्छन् । त्यसैले भनिँदो रहेछ, ‘नेपाल देश गरिब भए पनि यहाँका जनता धनी छन् ।’ तर, सबैको आर्थिक स्तर एकनासको छैन । न त परिस्थिति नै छ ।