Logo

जलवायु परिवर्तनले प्रजातिहरू लोप हुँदै

केही समयअघि आएको एक अध्ययन प्रतिवेदनलाई उद्धृत् गर्दै सहयोगी थाहा खबर अनलाइनले छापेको समाचारअनुसार निकट भविष्यमै विश्वका लगभग २ सय ८५ प्रजातिका उभयचर, जलचर, घस्रने जन्तु तथा गैंडा, हात्ती, बाघ, भालुलगायत जीव–जन्तुहरू चाँडै लोप हुने सूचीमा रहेका छन् । यसको मुख्य कारणका रूपमा हाल विश्वभरि नै तीव्र गतिमा भइरहेको जलवायु परिवर्तनको असरलाई मानिएको छ ।
समाचारमा उल्लेख भएअनुसार साइमन फ्रेजर विश्वविद्यालयका प्राध्यापक निकोलस डल्भीले आफ्नो अध्ययन प्रतिवेदनको सारसंक्षेपको निचोडलाई भनाइको रूपमा राख्दै एएफपीसँग भनेका छन्, “‘रेड लिस्ट’ मूल्यांकनका लागि अध्ययन गरिएअनुसार सम्पूर्ण प्रजाति-समूहहरूको संरक्षण स्थिति खस्कँदै गएको छ । तिनीहरूको लोप हुने खतरा भयावह ढंगले बढिरहेको छ ।” उक्त अध्ययन प्रतिवेदनअनुसार १२ सय प्रजातिहरू त सार्क, डल्फिनलगायत जलचर प्रजाति रहेका छन् । तीमध्ये पनि ३७ प्रतिशत जलचर (कडा हाड भएकाहरू) लोप हुने खतरामा रहेका छन् । त्यस्तै जलवायु परिवर्तन र यसको असरका बारेमा कुरो गर्दा निकट भविष्यमै जलवायु परिवर्तनकै कारण एकएक गरेर हिमाली भेगमा रहेका हिमनदीहरूको पनि अन्त्य हुँदै छ भन्ने अर्को एक अध्ययन प्रतिवेदन पनि केही समयअघि सार्वजनिक भएको थियो ।
यो कुरो त्यस्तै, उस्तै मान्छेहरूले पत्याउने कुरो नै होइन । तर, जोे विषय विज्ञ हो, उसले त नपत्याउने कुरै भएन । त्यसैले त जलवायु परिवर्तनसँग सम्बन्धित विषय विज्ञहरूले विगत लामो समयदेखि नै पछिल्लो केही समयदेखि विश्वमा तीव्र गतिमा पैmलिएको जलवायु परिर्वतनको असरका कारणले सुरुमा हिमनदी पग्लने र बिस्तारै हिमनदी सुक्ने अनि हिमताल पनि फुट्ने र सुक्ने, एवम् प्रकारले हिमालमा रहेका सेता हिउँ पनि पग्लेर नांगो डाँडो (कालापहाड-भीर) मा परिणत हुने अनुमान गरेका छन् ।
जलवायु परिवर्तनका कारण हुने स्वच्छ हावाको कमी, वातावरण विनाश, बेमौसमा बढ्ने गर्मी र बेमौसमा हुने जाडो, बिनासिजनमा पर्ने पानी, मुसलधारे वर्षा, हिउँद याममा पनि अचानक आउने बाढी–पहिरोले गर्दा हिमालभन्दा तल बस्ती रहेका मानिसहरूले अचानक र बेमौसमा बेहोर्नुपर्ने प्राकृतिक विपत्तिहरू सहनुपरेको छ ।
यसरी हिमनदी पग्लने क्रमले गर्दा हिमाली र पहाडी क्षेत्र (खास गरी नदी आसपास) मा बसोबास गर्ने मानिसहरूमा पार्ने दीर्घकालीन असरका साथै भविष्यमा कञ्चन, सफा, निर्मल र स्वच्छ पानीको मुहान नै सुक्ने वा अन्त्य हुने सम्भावना रहेको देखिन्छ । त्यसैले त होला, विषय विज्ञहरू यस्ता बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने र यसको रोकथामका लागि कसरी काम गर्ने ? भन्ने विषयमा गम्भीर भएर बहस र छलफल गरिरहेका छन् । तर पनि हालसम्म मतैक्य भने हुन सकेको देखिँदैन । त्यसो त जलवायु परिवर्तनमा प्रत्यक्ष असर गर्ने हरित गृह ग्यास उत्पादनमा विश्वका ठूला देशहरू (विकसित र औद्योगिक) जस्तो कि अमेरिका, रूस, चीन, अस्ट्रेलिया, जापान, जर्मनी, बेलायत, फ्रान्स, ब्राजिल, इटली, भारत, दक्षिण अफ्रिका, टर्की, भियतनाम, मलेसिया आदि देशहरू नै मुख्य हुन् ।
तर, पछिल्लो समय विश्वका उदाउँदो अर्थतन्त्र भनी चिनिएका देशहरू जस्तै चीन, भारत, ब्राजिल, टर्की, भियतनाम, दक्षिण अफ्रिका, मलेसिया आदि देशले चाहिँ आफूहरू भर्खरै मात्रै उद्योगधन्दा र कलकारखाना चलाउने देशमा दरिएको हुनाले गर्दा र विकसित देशहरू अमेरिका, रूस, चीन, अस्ट्रेलिया, जापान, जर्मनी, बेलायत, फ्रान्स, इटलीले भन्दा कमै मात्र हरित गृह ग्यास उत्पादन गर्ने हुँदा सजायका साथै मापदण्डमा पनि फेरबदल हुनुपर्ने भन्ने आग्रह रहने गरेको छ ।
जे भए तापनि अहिलेको अवस्थामा आइपुग्दा विकसित तथा औद्योगिक देशहरूले मात्रै विश्वको ३२–३३ देखि ३६–३७ प्रतिशत पानी र अधिकांश प्राकृतिक सोतसाधनहरू दोहन गर्दै आएका छन् भन्ने विज्ञहरूको लेखाजोखा छ । त्यस्तै यी औद्योगिक देशहरूले मात्रै विश्वको झन्डै ८१–८२ प्रतिशत वायु प्रदूषणजन्य ग्यास, धूवाँ, फोहरलगायत जलवायु परिवर्तनमा प्रत्यक्ष असर पार्ने खालका फोहरजन्य पदार्थ उत्पादन गर्दै आएका छन् । त्यसको प्रत्यक्ष असरचाहिँ नेपाललगायत कम विकसित तथा अल्पविकसित देशहरूले धेरै नै भोग्नुपरेको तीतो सत्यका रूपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्