रुकुम पश्चिममा ३० करोड बढी बेरुजु

महालेखा परीक्षकको ५८औैं प्रतिवेदनअनुसार रुकुम पश्चिमका ६ स्थानीय आर्थिक वर्ष ०७६/७७ मा ३० करोडभन्दा बढी बेरुजु देखाएको छ । महालेखा परीक्षकको कार्यालयले बजेट अनियमित तवरले खर्च गरेर बेरुजु देखाएको हो । समग्र रूपमा स्थानीय तहहरूमा रकमान्तर नगरी विनियोजित भन्दा फरक शीर्षकमा बजेट खर्च गरेको र जनप्रतिनिधिले स्वकीय कर्मचारी तथा सल्लाहकार, बैठक, भ्रमण भत्ताको नाममा दोहोरो सुविधा लिएको विषय उठाइएको छ ।
त्यस्तै सार्वजनिक खरिद ऐनको प्रतिकूल हुने गरी निर्माणमा उपकरण प्रयोग गरेको, प्रतिष्पर्धा विना सामग्री खरिद र योजनाको काम गरेको जस्ता कमजोरी स्थानीय सरकारको बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा सबैभन्दा बढी बेरुजु रकम देखिएको छ । त्रिवेणी गाउँपालिकामा ९ करोड ३ लाख रकम बेरुजु देखाएको हो । त्यस्तै चौरजहारी नगरपालिकामा ५ करोड ६६ लाख, सानीभेरी गाउँपालिकामा ९० लाख ७० हजार र आठविकासकोट ८ करोड ६४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
त्यस्तै मुसिकोट नगरपालिकामा ५ करोड ३८ लाख र बाँफिकोट गाउँपालिकामा १ करोड २४ लाख रुपैयाँ बेरुजु देखिएको हो । रुकुम पश्चिममा ६ स्थानीय तहमा सबैभन्दा कम बेरुजु रकम सानीभेरी गाउँपालिकामा देखिएको छ । महालेखापरिक्षकको ५७औं प्रतिवेदनअनुसार रुकुम पश्चिमका ६ स्थानीय तहमा गरेर १३ करोड बढी रकम बेरुजु देखिएको थियो । जबकि ५८औं प्रतिवेदनअनुसार रुकुम पश्चिममा ३० करोडभन्दा बढी रकम बेरुजु देखिएको छ ।