तस्करीको ७० बोरा चिनीसहित ट्रक बरामद

भारतदेखि अवैध रूपमा तस्करी भएर आएको एक ट्रक चिनीसहित एक जना सवारी चालकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।तस्करी भएर आएको ७० बोरा चिनीसहित ट्रक सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरी बिओपीका इनिसपेक्टर दिलबहादुर पन्तको टोलीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।
बिओपी बखरीले विराटनगर–६ ब्रम्हापुरादेखि अवैध चिनीसहित को १ ख २१२९ नम्बरको मिनी ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ पौडेलले जानकारी दिए । तस्करी भएर चिनी ल्याउँदै गरेको मिनी ट्रकका सवारी चालक सुनसरी देवनगन्ज गाउँपालिका– २ का २८ वर्षीय राजेशकुमार खत्वीलाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
चालक खत्वीले विराटनगरको भट्टीमोडसम्म पु¥याउने जिम्मा लिएको खुलेको छ । प्रहरीले नियन्त्रणमा लिएको सवारी देवनगञ्ज–२ का विसनदेव मेहताको हो । भारतदेखि तस्करी भएर आएको चिनी सुनसरीको अमरडुवामा ल्याएर राखिएको थियो । अमरडुवादेखि ट्रकमा चिनी लोड गरेर तस्करीको चिनी विराटनगर ल्याउने क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
तस्करी भएर आएको चिनी सुनसरीको कप्तानगञ्जमा होलसेल पसलको कारोबार गर्ने अरविन यादवको रहेको बताइएको छ । उनले तस्करी भएर आएको चिनी विराटनगरसहित पूर्वका विभिन्न सहरमा पठाउने गरेको छन् । प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मूल्य बराबरको रहेको छ । बरामद चिनी बिओपी बखरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।