तुलसीपुरको आगामी बजेट साढे तीन अर्ब

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३ अर्ब बजेट ल्याउने तयारी गरेको छ । उपप्रमुख माया आचार्यले आज बिहीबार हुने नवांै नगरसभामा आर्थिक वर्ष ०७८/७९ का लागि ३ अर्ब ३९ करोडको हाराहारीमा बजेट ल्याउन लागेको तुलसीपुर उपमहानगरपालिका प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।
प्रवक्ता डाँगीका अनुसार विनियोजित बजेटमध्ये सबैभन्दा बढी विकासतर्फ एक अर्ब, ६२ करोड, १६ लाख अनुमानित बजेट पेस गर्ने तयारी गरिएको छ । जुन कुल बजेटको ४७.७० प्रतिशत हुन आउँछ । त्यसैगरी सामाजिक सुरक्षातर्फ ४० करोड र चालूतर्फ एक अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ ।
वडातर्फ प्रतिवडा एक करोड ७० लाख बजेट दिने तयारी गरिएको छ भने कार्यपालिका सदस्यको सिफारिसमा खर्च हुनेगरी प्रतिव्यक्ति ४० लाख बजेट विनियोजन गरिएको छ । कार्यपालिकामा मनोनित सदस्यको संख्या ७ जना रहेको छ ।
गत वर्षलाई तुलना गर्दा आगामी वर्षका लागि एक अर्बभन्दा बढी बजेट ल्याउन लागिएको छ । चालू आर्थिक वर्षमा दुई अर्ब, ३४ करोड, ३७ लाख, ६४ हजार बजेट विनियोजन गरिएको थियो ।