Logo

आर्थिक विकासका लागि लगानीमैत्री वातावरण आवश्यक’

दाङ-लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले आर्थिक विकासका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताएका छन् । लगानी गरी उत्पादन बढाएर मात्र आर्थिक विकास गर्न सकिने उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले जुममार्फत गरेको लुम्बिनी प्रदेशस्तरीय आर्थिक पत्रकारितासम्बन्धी तालिम उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन । प्रदेश सरकारले प्रदेशमा एक अर्बभन्दा बढी लगानी गर्नेलाई उद्योगसम्म बाटो तथा विद्युत् पु¥याइ दिने उनको भनाइ छ । यस प्रकारको नीति ल्याएपछि लगानीकर्ता लगानी गर्न इच्छुक भएर आएको मन्त्री चौधरीको दाबी छ । उत्पादन भएका वस्तु बाहिर बजारमा पु¥याउनसमेत सहज रहेको उनी बताउँछन् ।
प्रदेशमा लगानी भित्र्याउन छिट्टै नै लगानी सम्मेलनको आयोजना गरिने उनले बताए । कृषि उत्पादनमा आधारित अनुदान प्रदान गरिने मन्त्री चौधरीले बताए । “अनुदान दुरुपयोग हुन नदिनका लागि प्रदेश सरकारले ध्यान दिएको छ,” मन्त्री चौधरीले भने ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा विशिष्टीकरणको हुन आवश्यक रहेको बताए । यस प्रकारका तालिमले विशिष्टीकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ । जिल्लामा औद्योगिक विकासको लागि सम्भावना रहे पनि कार्यान्वयन हुन नसकेको उनले बताए । पत्रकारिताको माध्यमबाट लगानीमैत्री वातावरण निर्माण गर्न भूमिका खेल्नसक्नु पर्ने उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले आर्थिक विकासका लागि सञ्चार माध्यमले भूमिका खेल्नुपर्ने बताए । सञ्चार माध्यमले नेपाली उद्यमशिलताको विकासमा सहयोग गर्नुपर्ने उनको भनाइ छ । निजी क्षेत्र र सञ्चार माध्यम भिन्न नभई एक भएर अगाडि बढनु पर्ने उनले बताए । “नेपाली उत्पादनलाई बजारीकरणमा सञ्चार माध्यमले ठूलो सहयोग गर्ने गरेका छन्,” अध्यक्ष शर्माले भने । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरि, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले भनाइ राखेका थिए । कार्यक्रम नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष भीम गौतमको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्