खाद्यान्नमात्रै ६९ अर्बको आयात हुँदा बढ्यो आयात पनि
योजनाको एक दशकपछि खर्ब नाघ्यो निर्यात

सरकारले योजना बनाएको एक दशकपछि बल्ल नेपालले एक खर्ब बढिको नियौत गर्न सक्षम भएको छ । चालू आर्थिक वर्षको १० महिनामा आयात निर्यात दुवै बढ्दा निर्यात बल्ल एक खर्ब नाघेको छ भने कोरोना महामारीबीच पनि आयात बढेको छ ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख महिनासम्म आयात २२.३४ प्रतिशतले बढेर १२ अर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार भएको छ भने निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँ पुगेको विभागको तथ्यांकले देखाएको छ । चालू आवको १० महिनामा निर्यात ३२ प्रतिशतले बढेर १ खर्ब नाघे पनि आयात बढेकाले व्यापार घाटा कम हुन भने सकेन ।
अघिल्लो आवको बैशाखसम्ममा आयात १२ प्रतिशतले घटेर १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख ८३ हजार रहेकोमा निर्यात ४.५ प्रतिशतले बढेर ८२ अर्ब ६४ करोड ७ लाख ६९ हजार थियो । तर चालू आवमा आयात निर्यात दुवै बढेको छ । व्यापारविद् पुरुषोतम ओझा कच्चा पदार्थ आयात गरेर पुनः निर्यात भएका कारण नियाृत बढेकोले यसले दीर्घकालीन निर्यातमा प्रभाव नपार्ने बताउँछन् । “स्वदेशी उत्पादनको निर्यात बढ्दै गएपछि मात्र निर्यातमा सुधार हुन्छ,” उनले भने, “कच्चा पदार्थ बाहिरी मुलुकबाट आयात गरेर पुनः प्रशोधन गरेर निर्यात गर्दा यसले व्यापार घाटा कम गर्न पनि सघाउ पुग्दैन अनि दीर्घकालनि पनि हुदैन ।”
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न मुलुकमा १६ वैशाखदेखि निषेधाज्ञा गरे पनि अत्यावश्यक सामानको आयात बढेकाले आयातमा उलेख्य वृद्धि भएको विभागको तथ्यांक छ । कोभिडको संक्रमण बढ्दै गएपछि अत्यावश्यक वस्तुको आयात बढेकाले आयातमा उच्च वृद्धि भएको विभागको तथ्यांक छ । १० महिनामा मुलुकमा सबैभन्दा धेरै आइरन, स्टिल, मेसिनरी सामान, पाटपुर्जा, खाद्यान्न र औषधिजन्य उत्पादनको आयात भएको छ ।
सरकारले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने बताए पनि खाद्यान्न आयात चुलिँदै गएको छ । १० महिनामा ६८ अर्ब ६३ करोड रुपैयाँको खाद्यान्नमात्रै आयात भएको छ । यो गएको वर्षको भन्दा १३ अर्ब रुपैयाँभन्दा धेरै हो । ३१ अर्ब रुपैयाँको तरकारी तथा फलफूल आयात भएको छ । यस्तै २६ अर्ब ९ करोड ९० लाख ७५ हजार रुपैयाँको औषधि आयात भएको छ ।
यस्तै १० महिनामा एक खर्ब २१ अर्ब रुपैयाँको आइरन र स्टिल, एक खर्ब रुपैयाँका मेसिनरी सामग्री, ८२ अर्ब रुपैयाँका गाडी र पाटपुर्जा, २६ अर्ब रुपैयाँको औषधि, ५० अर्ब रुपैयाँको प्लास्टिकका सामग्री आयात भएको छ । यस्तै ४२ अर्ब रुपैयाँभन्दा धेरैको डिजल भित्रिएको छ ।
निर्यात बढ्दै गए पनि व्यापार घाटा भने २१.४८ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार कायम रहेको छ । १० महिनामा कुल वैदेशिक व्यापार १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार भएको भएको छ । चालू आवको वैशाख महिनासम्म सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट ८ खर्ब १५ अर्ब ६३ करोड ७ लाख ४२ हजार रुपैयाँ बराबरको आयात हुँदा निर्यात भने ७९ अर्ब ३२ करोड ७४ लाख ५६ अर्ब भएको विभागको तथ्यांक छ ।
यस्तै दोस्रो छिमेकी मुलुक चाइनाबाट १ खर्ब ८३ अर्ब १९ करोड ३१ लाख ५२ हजार रुपैयाँको सामान आयात भएकोमा निर्यात ८९ करोड ७६ लाख २६ हजार रुपैयाँको सामान आयात भएको विभागले जानकारी दिएको छ । १० महिनाको अवधिमा ३ खर्ब ५२ अर्ब ८७ करोड १५ लाख ४४ हजार राजस्व संकलन भएको छ ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशतभन्दा धेरै छ भने निर्यातको हिस्सा सात प्रतिशतमै खुम्चिएको छ । सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ । १० महिनामा भारतसँग आठ खर्ब १५ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ भने चीनसँग एक खर्ब ८२ अर्ब रुपैयाँको घाटा रहेको छ ।