कोभिडका कारण टेलिकम क्षेत्रको आम्दानीमा गिरावट

कोभिड–१९ (कोरोना भाइरस) का कारण टेलिकम क्षेत्रले ठूलो आय गुमाउन थालेको छ । नेपालको दुई ठूला टेलिकम कम्पनी (नेपाल टेलिकम र एनसेल) को पछिल्ला ३ र ६ महिनाको वित्तीय विवरणअनुसार यो क्षेत्रले आम्दानी र नाफा गुमाउँदै जान थालेको देखिन्छ । एनसेलले सार्वजनिक गरेको आफ्नो पछिल्लो ३ महिनाको वित्तीय विवरणअनुसार कम्पनीले गत वर्षको पछिल्लो ६ महिनाको तुलनामा यो वर्षको पहिलो ६ महिनामा ठूलो परिणाम आय र नाफा गुमाएको छ । सन् २०२० को पहिलो ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा करिब ७५ प्रतिशत नाफा कम भएको एनसेलको मलेसियास्थित मातृ कम्पनी एनसेल आजियाटाले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
सन् २०१९ को पहिलो ६ महिनामा एनसेलले ९ अर्ब ३६ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेकोमा सन् २०२० को पहिलो ६ महिनामा कम्पनीको नाफा २ अर्ब ३७ करोड ८० लाख रुपैयाँमा झरेको एनसेलले जानकारी दिएको छ । एनसेलले सन् २०१९ को दोस्रो त्रैमासिकमा १४ अर्ब ३२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्षको त्रैमासिक आम्दानीसँग तुलना गर्दा एनसेलको आयमा यो वर्ष ४ अर्ब ७५ करोड ६० लाख रुपैयाँले कमी आएको छ । गत वर्षको ६ महिने अवधिको तुलनामा यो वर्ष एनसेलको आयमा साढे २२ प्रतिशतले कमी आएको छ । यो अवधिमा भ्वाइस सेवाबाट हुने आम्दानी करिब २४ प्रतिशत र अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी साढे १७ प्रतिशले कमी आएको एनसेलले वित्तीय विवरणमा उल्लेख छ । नेपालसहित ६ देशमा टेलिकम कम्पनी सञ्चालन गरिरहेको एनसेलको मातृ कम्पनी आजियटाको वित्तीय विवरणअनुसार सबैभन्दा आय कम भएको मुलुक नेपाल हो ।
नेपालको अर्को टेलिकम कम्पनी नेपाल टेलिकमको पनि एनसेलको जस्तै आय र नाफामा उल्लेख्य कमी आएको वित्तीय विवरणले देखाएको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासिक (२०७७ वैशाख–असार) मा नेपाल टेलिकमको खुद नाफा दुईतिहाइले कमी आएको वित्तीय विवरणमा उल्लेख छ । यो अवधिमा कम्पनीको खुद नाफा ९९ करोडमा झरेको छ । वैशाखदेखि असार मसान्तसम्ममा कम्पनीले ९९ करोड ४० लाख ६५ हजार खुद नाफा आर्जन गरेको थियो । यही अवधिमा त्यसअघिको वर्ष टेलिकमले २ अर्ब ५५ करोड ८७ लाख खुद नाफा आर्जन गरेको थियो । टेलिकमले यो अवधिमा गरेको खुद नाफा गत वर्ष सोही अवधिको ३८ प्रतिशत मात्रै हो ।
एनसेलले जस्तै नेपाल टेलिकमले पनि आय गुमाएको छ । नेलालमा टेलिकम प्रयोगकर्ताले फोन गर्नुको सट्टा ओभर दि टप सेवा प्रयोग गरी कल गर्न थालेपछि भ्वाइस सेवाको आम्दानीमा कमी आएको टेलिकमको तथ्यांक छ । भ्वाइस सेवाको आम्दानी गत आर्थिक वर्षमा २ अर्ब १६ करोडले कमी आएको थियो भने अन्तर्राष्ट्रिय रोमिङलगायत सेवाबाट हुने आम्दानीमा ५४ करोडले कमी आएको कम्पनीले जनाएको छ । यही कारण गत आर्थिक वर्षको चौथो त्रैमासिकमा आयतर्फ मात्रै करिब २ अर्बले कमी आएको कम्पनीको दाबी छ । कोरोनाको कारण रोमिङ सेवाबाट हुने आय घटेको, सरकारको निर्देशनअनुसार भ्वाइस र डेटा सेवामा लकडाउन अवधिभर ३० प्रतिशतले छुट दिएका कारण आम्दानी र नाफामा कमी आएको टेलिकमको तथ्यांक छ ।
—सुजन पौडेल