नामी कलेजको पहिलो दीक्षान्त समारोह सम्पन्न

काठमाडौं-नेपालका लागि बेलायती राजदूत रिर्चड मोरिसोको प्रमुख आतिथ्यमा नामी कलेजको पहिलो दिक्षान्त समारोह सम्पन्न भएको छ ।
दिक्षान्त समारोहमा बेलायतस्थित युनिभर्सिटी अफ नर्थह्याम्पटन, ‘आर्ट, साइन्स तथा टेक्नोलोजी’ संकायका डिन प्रो. जोन सिनक्लेयरको सहभागिता थियो । सो कार्यक्रममा कलेजकी अध्ययक्ष डा. आरजु राणा देउवाले कलेजको प्रथम दिक्षान्त समारोहबाट दीक्षित विद्यार्थीलाई बधाई दिँदै आफ्नो मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा बोल्दै देउवाले हरेक वर्ष करिब ४० देखि ५० हजार विद्यार्थी उच्च शिक्षा हासिल गर्न बिदेसिने गरेकोमा यस कलेजले उच्च गुणस्तरको शिक्षा नेपालमा नै दिन सक्षम रहेको जानकारी दिएकी थिइन् । यसबाट विदेशी मुद्राको पलायन रोकिएको छ भने अभिभावकहरूको रेखदेखमा आफ्ना बालबालिकाले स्वदेशमा नै उच्च शिक्षा हासिल गर्न पाएकोमा गर्व गर्नुपर्ने कुरा बताइन् ।
सन् २०१४÷१५ मा कलेज भर्ना भइ सन् २०१८ मा यसै कलेजबाट स्नातक तह पास गरेका बिभिन्न विद्यार्थीले कार्यक्रममा आफ्नो भनाइ प्रस्तुत गरेका थिए । यसै वर्ष कम्प्युटिङ, इन्भ्यारोमेन्टल साइन्स तथा म्यानेजमेन्ट संकायबाट उत्तीर्ण विद्यार्थीलाई कलेजले सर्टिफिकेट (प्रमाणपत्र) पनि प्रदान गरेको छ । कार्यक्रममा बोल्दै बेलायती राजदूत रिचर्ड मोरिसोले शिक्षाको क्षेत्रमा अग्रणी रहेको बेलायतको शिक्षा नामी कलेज नेपालमा नै दिन सक्षम रहेकोमा खुसी व्यक्त गरे । बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयबाट मान्यताप्राप्त नामी कलेज सन् २०१२ मा स्थापना भएको थियो । स्थापनाकालमा ‘ए लेभल’का साथै स्नातक तहतर्फ बिएसी इन्भ्यारोमेन्टल साइन्स र कम्प्युटर विषयमा अध्यापन गराएको यस कलेजले सन् २०१५ बाट बीबीए र एमबीए विषयलाई समावेश गरेको थियो ।
कलेजले यसै सालदेखि वार्षिक रूपमा जर्नल प्रकाशन गर्ने घोषणा गरेको छ । त्यसको सुरुवात गर्दै जर्नलको पहिलो अंक प्रकाशित सो कार्यक्रममा सार्वजानिक गरिएको छ । जर्नलका सम्बन्धमा नामी कलेजका सिईओ पवन पोखरेलले भने, “यसले विद्यार्थीहरूलाई अनुसन्धानमुलक शिक्षामा प्रेरणा दिने आशा गरेका छौँ ।”