लैङ्गिक हिंसाका १६ दिने अभियानमा विविध कार्यक्रम सम्पन्न

व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ मंसिर १० देखि सुरु भएको लैङ्गिक हिंसा अन्त्यको १६ दिने अभियानको अवसरमा देशैभरि नेपाल रेडक्रस सोसाइटीले विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।
यस अवसरमा मंसिर २५ मा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धतासहित ऐक्यबद्धता जनाउँदै नेरेसोका केन्द्रीय अध्यक्ष डा. नेत्र तिम्सिना, महामन्त्री पिताम्बर अर्याल, कोषाध्यक्ष सीताराम कोइराला, उपकोषाध्यक्ष होम पाठक तथा केन्द्रीय सदस्यहरू र कर्मचारीहरूले लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता गर्दै आचारसंहितामा हस्ताक्षर गगरिएको छ ।
उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटीको विधानमै कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेर लैङ्गिक हिंसा अन्त्यका लागि कार्य गर्ने प्रतिबद्धता नेपाल रेडक्रसका अध्यक्ष डा. तिम्सिनाले गरे । मानवअधिकारको सुनिश्चितता गर्न सके सबै वर्ग विरूद्धको सबै प्रकारका हिंसा अन्त्य गर्न सम्भव हुने उनले बताए ।
अन्तरक्रियामा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले नेपाल रेडक्रसका प्रदेश तथा जिल्ला शाखामार्फत १६ दिने अभियानभरि देशैभर विविध गतिविधिहरूको आयोजना गरिएको जानकारी दिँदै विभिन्न अध्ययनले महिला माथिको हिंसा बढी देखिएकोले हिंसाको विरुद्ध उजुरी गर्नुपर्ने र त्यसमा नेपाल रेडक्रसले शून्य सहनशिलताको नीति अपनाइने प्रतिबद्धता व्यक्त गरे ।
१६ दिने अभियान सफलताका साथ सम्पन्न गरेकोमा नेपाल रेडक्रसलाई धन्यवाद दिँदै रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख अज्मत उल्लाहले महासङ्घको प्रतिबद्धताअनुसार यौन तथा लैङ्गिक हिंसा अन्त्यका लागि नेपाल रेडक्रससँग सहकार्य गर्ने बताए ।
सहयोग उपलब्ध गराइयो
१६ दिने अभियानका क्रममा केन्द्रीय कारागारमा रहेका ३ सय ७६ जना महिलालाई १५ प्रकारका सामग्रीसहितको मर्यादा किट र तिनका १४ जना आश्रित बालबालिकालाई न्यानो लुगा, पौष्टिक आहार, शैक्षिक सामग्री तथा फलफूल वितरण गरिएको छ ।
त्यस्तै निलहीरा समाजका १ सय जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, सीतापाइला क्षेत्रका २९ जना मजदुरका परिवार र ललितपुरको ठैव क्षेत्रका पाँच जना मजदुरका आश्रित बालबालिकालाई स्वास्थ्य, सरसफाइ तथा मर्यादा सामग्रीसहित प्रतिव्यक्ति ५ हजार रुपैयाँ नगद वितरण गरिएको छ ।
ललितपुरमा पनि कार्यक्रम
१६ दिने महाअभियानको अन्तिम दिन डिसेम्बर १० मा संरक्षण, लैंगिक समावेशीकरण अभिमुखिकरण कार्यक्रम ललितपुरमा पनि आयोजना भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय महिला उपाध्यक्ष शर्मिला कार्कीले म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसा नियन्त्रणका लागि बिहीबारदेखि लाग्नेछु नारालाई साकार पार्न सबै रेडक्रसकर्मी एक हुनपर्ने र सोसाइटीबाट संचालित हुने लैंगिक तथा समावेशीकरणका गतिविधिलाई अझ सशक्त पार्दै लाने कुरामा सहभागीहरुलाई आश्वस्त पारे ।
सो क्रममा अर्का अतिथि भरखरै मात्र ललितपुर महानगरिय प्रहरी परिसरका प्रमुखको जिम्मेवारी समाल्नु भएकी वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यले कुनै पनि खालका लैंगिक हिंसालाई कानुनी दायरामा ल्याउने र त्यसता खालका घटनाहरु हुन नदिन सधैं प्राथमिकताका साथ प्रहरी प्रशासन लागि रहने प्रतिबद्धता व्यक्त गरिन् ।
सिरहामा कैदीबन्दी र बालबालिकालाई नगद सहयोग
सिरहा कारागारमा रहेका २० जना महिला कैदीवन्दीहरुलाई ३ हजार रुपैयाँका दरले र २ जना आश्रित बालबालिकाहरुलाई ३ हजार ५ सय रुपैयाँको दरले मंसिर २४ मा नगद सहयोग वितरण गरिएको थियो ।