मूल्यवृद्धि ०.३ प्रतिशतले घट्यो

चालू आवको भदौमा विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले वृद्धि भई १५४ अर्ब २० करोड पुगेको छ ।
भदौमा ८० अर्ब रेमिट्यान्स भित्रियो
चालू आर्थिक वर्षको दोस्रो महिनामा उपभोक्ता मूल्यवृद्धि ०.३ प्रतिशतले घटेको छ । चालू आवको भदौमा उपभोक्ता मूल्य वृद्धि ३.९ प्रतिशतमा सीमित भएको हो । पहिलो महिना साउनमा उपभोक्त मूल्यवृद्धि ४.२ प्रतिशत थियो ।
तर, गत आर्थिक वर्षको भदौको तुलनामा भने मूल्यवृद्धि बढेको हो । गत आवको भदौमा उपभोक्ता मुद्रास्फीति ३.४ प्रतिशत थियो । खासगरी दलहन तथा गेडागुडी, तरकारी एवं चिनीजन्य वस्तुको मूल्यमा आएको गिरावटका कारण समीक्षा अवधिमा समग्र खाद्य तथा पेय पदार्थको मुद्रास्फीति कम भएको केन्द्रीय बैंकले जनाएको छ ।
चालू आवको भदौमा विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले वृद्धि भई १५४ अर्ब २० करोड पुगेको छ । चालू आवकै साउनमा ७३ अर्ब ९५ करोड विप्रेषण भित्रिएको थियो । भदौमा ८० अर्ब २५ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलर बलियो हुँदै गएका कारण डलरमा रेमिट्यान्स आउने क्रम बढेको हो ।
आर्थिक वर्ष २०७५-७६ को दुई महिनामा कुल वस्तु निर्यात ८ प्रतिशतले वृद्धि भई १४ अर्ब ७० करोड पुगेको छ । गत आवको भदौमा निर्यातमा ३.२ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फ १३.६ प्रतिशत, चीनतर्फ ११.४ प्रतिशत र अन्य मुलुकतर्फ १.० प्रतिशतले निर्यात वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ । वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, दन्त मञ्जन, लत्ताकपडा, जुसलगायतका वस्तुको निर्यात बढेको छ भने तयारी पोसाक, जुटका सामान, रोजिन, अलैंची, पश्मिनालगायतका वस्तुको निर्यात घटेको छ ।
चालू आवको दोस्रो महिनामा कुल वस्तु आयात ३८.५ प्रतिशतले बढेर २३२ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत आवका सोही अवधिमा यस्तो आयात १२.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३८.९ प्रतिशत, चीनबाट भएको आयात १३.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ५५.२ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, एमएस बिलेट, सवारी साधन तथा पार्टपूर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, स्वास्थ्यसम्बन्धी उपकरण तथा औजार, भिडियो टेलिभिजन तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जालगायतका वस्तुहरुको आयात घटेको छ ।
वस्तु आयातमा भएको उच्च वृद्धिका कारण समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई ३५ अर्ब ५६ करोड पुगेको छ । गत आवको दोस्रो महिनामा यस्तो घाटा १९ अर्ब ७४ करोड रहेको थियो । गत आवको दुई महिना १९ करोड २६ लाख डलर रहेको चालू खाता घाटा समीक्षा अवधिमा ३२ करोड १ लाख डलर पुगेको छ ।
चालू आवको दोस्रो महिनामा शोधनान्तर घाटा २५ अर्ब ४५ करोड रहेको छ । यस्तो घाटा गत आवको वर्षको सोही अवधिमा ५ अर्ब ८७ करोड मात्र थियो । अमेरिकी डलरमा शोधनान्तर घाटा अघिल्लो वर्षको दुई महिनामा ५ करोड ७३ लाख डलर रहेकोमा समीक्षा अवधिमा २३ करोड ९ लाख डलर रहेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको ९८९ अर्ब ४० करोड रुपैयाँको तुलनामा २०७५ भदौ मसान्तमा २.२ प्रतिशतले कमी आई ९६७ अर्ब ९३ करोडमा झरेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व संकलन ३४.३ प्रतिशतले वृद्धि भई ११९ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १०.३ प्रतिशतले वृद्धि भई ८८ अर्ब ७९ करोड मात्र थियो । २०७५ भदौ मसान्तमा सरकारी ढुकुटीमा २०१ अर्ब ४५ करोड रुपैयाँ नगद मौज्दात कायम छ ।