Logo

१ करोडको खसी–बोका निर्यात


दाङ जिल्लाबाट दसैंका लागि १ करोड रुपैयाँभन्दा बढी मूल्यको खसी, बोका निर्यात गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जिल्लाबाट दसैंका लागि १ करोड २५ लाख ३७ हजार ८ सय १४ रुपैयाँको खसी–बोका बाहिर पठाएको कम्पनीका निमित प्रमुख नहकुल चौधरीले जानकारी दिए । गएको वर्ष यस भन्दा कम मूल्यको खसी बोका निर्यात गरिएको थियो । यस वर्ष जिल्लाबाट ८ सय १ वटा खसी–बोका काठमाडौं पठाइने तय भएको थियो । जसमा ढुवानी गर्दा एउटाको मृत्यु भएको थियो भने ८ सय काठमाडौ पु-याइएको चौधरीले बताए ।
अघिल्लो वर्ष जिल्लाबाट ६ सय खसी–बोका काठमाडौ पठाइएको निमित प्रमुख चौधरी बताउँछन् । जिल्लाको पश्चिम क्षेत्र तथा देउखुरी क्षेत्रबाट खसी खरिद गरिएको कम्पनीले जनाएको छ । देउखुरीमा संहकारी संस्थाहरुले पालन गरेको खसी–बोका खरिद गरिएको चौधरीले बताए । पछिल्लो समय जिल्लामा व्यावसायीक रुपमा बाख्रा पालन व्यवसाय बढ्दै गएको उनको भनाइ छ । खसी–बोका खरिद तथा बिक्रीका लागि कम्पनीले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले मूल्य निर्धारण गरेको थियो । किसानहरू मारमा नपर्ने गरीे खसी–बोकाको मूल्य निर्धारण गरिएको चौधरीले बताए । उनका अनुसार यस वर्ष २५ केजी भन्दा बढी तौल भएको खसीको खरिद मूल्य प्रतिकेजी ५ सय ५० निर्धारण गरिएको थियो । त्यसैगरी २० देखि २५ केजीसम्म तौल भएको खसीको खरिद मूल्य ५ सय ३५ निर्धारण गरेर खरिद गरिएको थियो । २० केजी भन्दा माथिका खसी–बोका खरिद मूल्य प्रति केजी ५ सय ३० रूपैयाँ तोकिएको थियो ।
दसैं तिहारमा खसी, बोकाको कारोबार धेरै हुने र मनपरी मूल्यमा बिक्री वितरण हुने भएकाले सरकारले हरेक वर्ष खसी, बोका खरिद गरेर बिक्री गर्ने गरेको छ । “चार्डपर्वमा बढी मात्रामा मासु खपत हुने भएकाले मूल्य बढाउन नदिनका लागि बजार मुल्य नियन्त्रण गर्न सरकारले नै खरिद गरेर बिक्री गर्ने गरेको हो ।” चौधरीले भने ।

तिहार पछि धान खरिद गरिने
खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले तिहार पछि धान गरिद गर्ने भएको छ । धान खरिदका लागि केन्द्रले भनि सकेको र आफूहरु पनि तयारीमा रहेको कम्पनीका निमित प्रमुख नहकुल चौधरीले बताए । सरकारले धानको समर्थन मूल्य तोके पनि जिल्लामा हालसम्म धानको मूल्य निर्धारण गरीनसकेको उनले बताए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकले धानको मूल्य तोक्ने उनको भनाइ छ । अहिले धान बढी उत्पादन हुने क्षेत्रमा गएर सम्पर्क गर्ने, मिलहरुसँग समन्वय गर्ने काम भइरहेको उनको भनाइ छ ।
धान किनेर ल्याएर राख्नका लागि स्थान समेत समस्या रहेको चौधरीले बताए । “हामीसँग आवश्यक पर्ने मात्रामा गोदाम छैन” निमित प्रमुख चौधरीले भने । खरिद गरेर मिलमा कुटाएर चामल गोदाममा राखिने उनी बताउँछन् । यसका लागि जिल्लामा रहेका ठूला मिलहरुको खोजी गरेर कुटाउनका लागि समन्वय भइ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्