Logo

साझेदारी कोषमार्फत बिना धितो ऋण

सुर्खेत-वीरेन्द्रनगर नगरपालिकाले स्थापना गरेको साझेदारी विकास कोषमार्फत दुई सय ४९ जना लाभान्वित भएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरले एक करोड १९ लाख ७८ हजार रुपैयाँको साझेदारी विकास कोष स्थापना गरी सञ्चालनमा ल्याएको हो । नगरपालिकाका वरिष्ठ सामाजिक परिचालक ज्योति केसीका अनुसार गत आर्थिक वर्षमा स्थापना गरिएको उक्त कोषबाट नगरपालिकाका दुई सय ४९ जनाले स्वरोजगारमूलक कार्यक्रममा लाभ लिएका छन् ।
टोल विकास समितिको सिफारिसको आधारमा नगरपालिकाले डोको व्यापार गर्ने, खसी पाल्ने, घुम्ती स्थापना गर्न, खुद्रा पसल गर्न जस्ता साना व्यवसाय गर्नका लागि उक्त कोषबाट ऋण दिइएको केसीले बताइन् । कोषबाट एक जनालाई कम्तीमा ३५ हजार वार्षिक १२ प्रतिशत व्याजदरमा ऋण लगानी गरिरहेको उनले बताइन् ।
केसीका अनुसार हरेक वर्ष ऋण चुक्ता गरेमा टोल विकास समितिले गरेको सिफारिसको आधारमा सोही व्यक्तिलाई ४० हजारसम्मको ऋण दिइने छ । उक्त कोषमार्फत समुदायमा ७० लाख ९७ हजार ७ सय २० रुपैयाँ र स्थानीय विकास कोषको ४८ लाख ८० हजार ९ सय १२ रुपैयाँगरी एक करोड १९ लाख ७८ हजार ६ सय ८४ रुपैयाँ समुदायमा लगानी गरिएको केसीले बताइन् । उक्त रकम टोल विकास समितिको सिफारिसमा बिना धितो लगानी गरिएको बताउँदै केसीले तीन सय ५५ टोल विकास समितिले आवश्यकता हेरेर लगानी गरिरहेको जनाइन् ।
कार्यवाहक मेयर मोहनमाया ढकालले न्यून आय भएका गरीब, पिछडिएका महिलाका लागि यो कोषले बिना धितो ऋण लगानी गरिरहेको बताइन् । उनले सकेसम्म पछाडि परेका हरेक व्यक्तिले सानो रकमका लागि अन्यत्र धाउन नपरोस् र आत्मनिर्भर बन्न थोरै भए पनि सहजै ऋण पाओस् भन्ने उद्देश्यका साथ यो कोष सञ्चालनमा ल्याइएको बताइन् ।
कोभिड–१९ का कारण यसअघि यो कोषबाट लिएको ऋण तिर्ने म्याद चार महिना थप्ने र लकडाउनको सुरुको अवधिको व्याज दुई प्रतिशतका दरले मिनाहा गर्ने निर्णय भएको नगरपालिकाका अधिकृत टंक लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्