बिमस्टेकका पाहुनालाई आकस्मिक स्वास्थ्य सेवा

यही भदौ १४ र १५ गते (आज र भोलि) काठमाडौंमा हुन लागेको बिमस्टेक शिखर सम्मेलनमा आउने आगन्तुक पाहुना तथा सहभागी विशिष्ट पाहुनाहरुको आकस्मिक उपचारको स्वास्थ्य आपलकालिन तथा विपत् व्यस्थापन इकाई गठन गरिएको छ । सम्मेलनलाई लक्षित गरी गठन गरिएको सो इकाईलाई वीर अस्पतालले अन्य अस्पतालहरुसँग समन्वय गरी सोल्टी होटल परिसरमा चिकित्सक, स्वास्थ्यकर्मी, औषधी र एम्बुलेन्स सहितको अस्थायी उपचार कक्ष स्थापना गरेको छ ।
विदेशी विशिष्ट पाहुनाका लागि वीर अस्पताल, सैनिक अस्पताल, वयोधा अस्पताल, मेडीसीटी, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा दिन सक्ने गरी तयारी अवस्थामा राखिएको छ । सम्मेलन अयोजनाका क्रममा हुने सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरेर आवश्यक परे शैय्यामा समेत राखेर उपचार गर्ने व्यवस्था मिलाइएको एकाईका प्रमुख विशेष डा. सुशीलराज प्याकुरेलले बताए ।
“सबै आमन्त्रित तथा आगन्तुक विशिष्ट अथितीहरुलाई आवश्यक परेको अवस्थामा उपलब्ध हुने गरी एम्बुलेन्स तयारी हालतमा राख्ने र यसको व्यवस्था वीर अस्पताल र नेपाल एम्बुलेन्स सेवाले गर्ने व्यवस्था मिलाइएको छ,” डा. प्याकुरेलले भने, “स्वास्थ्य सेवाको सहज व्यवस्थापनका लागि हब तथा सहायक अस्पतालको कार्यका लागि निजामती अस्पताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक स्वास्थ्य उपचार सेवा, एम्बुलेन्स सेवा, मेडिकल टोली परिचालन गर्नेछ ।”
यसरी नै वीर अस्पताल र नर्भिक अस्पतालले आकस्मिक मेडिकल परिचालन टोली (इएमडीटी) गठन गर्ने, परिचालन गर्ने र सुपरीवेक्षण गर्ने छ । यसरी नै आईसीयू, सिसियु, विशिष्ट तथा अति विशिष्ट उपचार कक्षको व्यवस्था, एमबुलेन्स परिचालन र सुपरीवेक्षण गर्नेछ । सैनिक अस्पताल र बयोधाले आईसीयू, सिसियु, विशिष्ट तथा अति विशिष्ट उपचार कक्षसहित एयर एम्बुलेन्स परिचालन गर्ने जनाइएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आईसीयू, सिसियु, विशिष्ट तथा अति विशिष्ट उपचार कक्ष र पाटन तथा मेडीसीटी अस्पतालले एयर एम्बुलेन्स हेली प्याडको व्यवस्था गर्ने स्वास्थ्य मन्त्रनलयले जनाएको छ ।
निजामती कर्मचारी अस्पतालमा भिभिआइपी अब्जरभेसन, आइसोलेसन इमजेन्र्सी र आईसियु भेन्टिलेटर सहितको १-१ शैय्या व्यवस्था गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा भिभिआइपी अब्जरभेसन २, आइसोलेसन इर्मर्जेन्सी र आईसियु भेन्टिलेटर २-२ शैया व्यवस्था गरिएको छ । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा भिभिआइपी अब्जरभेसन, आइसोलेसन इमर्जेन्सी र आईसियु भेन्टिलेटर १-१ शैय्या छ भने नर्भिक अस्पतालमा आईसियु भेन्टिलेटर र भिभिआइपी अब्जरभेसन १-१ तथा आइसोलेसन इमर्जेन्सीमा ४ शैय्या व्यवस्था गरिएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीको परिचालनका लागि १४ र १५ गते १ टोली एयरपोर्ट र अर्को १ टोली होटल सोल्टीमा व्यवस्था गरिएको छ । प्रत्येक टोलीमा एक–एक वटा औषधी, उपकरणसहितको सुविधा सम्पन्न एम्बुलेन्स तैनाथ रहनेछन् ।