जग्गाको मूल्य बढ्दा बैंकहरूको खराब कर्जा घट्यो

आर्थिक वर्ष २०७४-७५ मा अधिकांश बैंकहरूको खराब कर्जाको अंश घटेको छ । पछिल्लो समयमा जग्गाको मूल्य आकासिएका कारण बैंकहरूले खराब कर्जाको अंश घटाउन सफल भएका हुन् ।
बैंकहरूले कर्जा प्रवाह गर्दा राख्ने धितोमा धेरैजसो जग्गा र घर प्रयोग गर्छन् । बैंकहरूको कर्जा ‘डिफल्ट’ भएपछि धितो बिक्री गरेर उक्त ऋणको असुलउपर गर्नुपर्ने हुन्छ । पछिल्लो सयममा जग्गाको मूल्य बढेका कारण धितोलिलाम बिक्री गरेर कर्जा उठाउन बैंकहरूलाई सहज भएकाले गत वर्षको तुलनामा खराब कर्जा घटेको हो । गत वर्षमा आर्थिक वृद्धि पनि राम्रो भएको हुनाले खराब कर्जा घट्नमा मद्दत पुगेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए ।
“गत आवमा जग्गाको मूल्य बढेकाले पनि खराब कर्जा उठ्नमा महत्वपूर्ण भूमिका खेलेको छ,” उनले भने, “अधिकांश कर्जाको धितो जग्गा वा घर हुने भएकाले कर्जा नउठेपछि धितो लिलाम गरेर उठाउन जग्गाको मूल्य बढेकाले सहयोग ग-यो ।”
अघिल्लो आर्थिक वर्षमा समग्र बैंकहरूको औसत खराब कर्जाको अंश १.६२ प्रतिशत थियो । तर, गत अवामा यस्तो कर्जाको अंश घटेर औसत १.३३ प्रतिशतमा झरेको छ । अघिल्लो आवको तुलनामा गत आवमा औसत खराब कर्जाको अंश १७ प्रतिशतभन्दा धेरैले घटेको हो । त्यसका साथै बैंकहरूले ‘राइटब्याक’ गरेर पनि खराब कर्जा असुलउपर गरेको भएपनि त्यसको योगदान भने न्यून रहेको उनको तर्क छ ।
गत आर्थिक वर्षमा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये १९ वटाको खराब कर्जा घटेको छ । बैंकहरूले पुँजी वृद्धिका लागि बैंकहरूले साना संस्थाहरू खरिद गरेको भएपनि खराब कर्जा घट्नु भनेको समग्र बैंकिङ प्रणालीका लागि सकारात्मक हो । त्यसका साथै बैंकहरूले पुँजी वृद्धि अनुपातामा नाफा गर्ने होडले आक्रामक रुपमा कर्जा प्रवाह गर्दा पनि खराब कर्जा घट्नु भनेको बैंकहरूको कार्यकौशला स्पष्ट हुन्छ ।
बैंकहरूले प्रवाह गरेको कर्जा नउठ्ने पक्का भएपनि त्यो खराब कर्जामा परिणत हुन्छ । त्यसभन्दा अघि बैंकहरूले कर्जा प्रवाह गर्नेवित्तिकै कर्जाको १ प्रतिशत जोखिम व्यवस्थावापत छुट्याउँछन् । त्यसपछि बैंकहरूले प्रवाह गरेको कर्जा ३ महिनाभित्र ऋणीले ब्याज तथा साँवा तिर्न सकेन भने बैंक तथा वित्तीय संस्थाले सो कर्जाको २५ प्रतिशत रकम सम्भावित जोखिमबापत छुट्याउँछन् । त्यस्तै गरी ६ महिनासम्ममा असुल नभए ५० प्रतिशत, ९ महिनासम्मा असुल नभए ७५ प्रतिशत र १ वर्षसम्म पनि असुल नभए शतप्रतिशत रकम कर्जा जोखिम व्यवस्थावापत छुट्याउँछन । यसरी प्रोभिजनिङ गरेपछि पनि बैंकको कर्जा नउठ्ने भएपछि बैंकको नाफामा असर हुन्छ । बैंकले कर्जाको जोखिमअनुसार प्रोभिजनिङ गरेका हुन्छन् । तर, कर्जाको धितो नै लिलाम गरी उटाएपछि प्रोभिजनिङ गरेको रकम नाफामै राखिन्छ । गत आवमा ७ देखि ८ प्रतिशतको ब्याजदर बढेर १४ भन्दा माथि पुगेपछि कन्जुमर लोनमा डिफल्टको जोखिम वढेको थियो । तर, आर्थिक वर्षको अन्त्यमा त्यस्तो देखिन्न ।
अघिल्लो आवको तुलनामा गत आवमा सिभिल बैंकले सबैभन्दा धेरै खराब कर्जा घटाउन सफल भएको छ । बैंकले अघिल्लो आवमा ४.०५ प्रतिशत रहेको खराव कर्जालाइ गत आवमा घटाएर २.६५ प्रतिशतमा झारेको छ । गत आवमा सबैभन्दा धेरै खराब कर्जा हुने बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । सरकारी स्वामित्वको कृषि विकास बैंकको एनआईडीसी डेभलपमेन्ट बैंकसँग मर्जर भएका कारण खराब कर्जाको अंश बढेको हो । गत आवमा सबैभन्दा थोरै सानिमा बैंकको प्रतिशतमात्रै खराब कर्जाको अंश ०.०३ रहेको छ ।