विपन्न वर्गका लागि ४ अर्ब रुपैयाँ लगानी गर्ने मेगा बैंकको लक्ष्य

मेगा बैंक नेपालले विपन्न वर्गका लागि गर्दै आएको लगानी चालू आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब रुपैयाँ पुर्याउने भएको छ । मेगा बैंक नेपालकी कायममुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले चालू आर्थिक वर्ष ०७४–७५ को अन्तसम्ममा ४ अर्ब रुपैयाँ विपन्न वर्गमा लगानी गर्ने बताइन् । मेगा बैंकको लघुवित्त एकाइले देशभरका ५० वटा लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा कामु सीईओ खुञ्जेलीले अहिलेसम्म बैंकले विपन्न वर्गका लागि २ अर्ब ४६ करोड रुपैयाँ लगानी गरिसकेको भन्दै बाँकी रकम पनि यसै आर्थिक वर्षको अन्त्यसम्ममा लगानी भइसक्नेमा बैंक ढुक्क रहेको बताइन् । बैंकको मूल लक्ष्य नै हलोदेखि हाइड्रोसम्म लगानी गर्ने भएको भन्दै उहाँले विपन्न वर्गका लागि गरेको कर्जाको असुलीमा जोखिमसमेत न्यून भएकाले मेगा बैंकले लघुवित्तलाई प्राथमिकता दिएको बताइन् ।
कार्यक्रममा लघुवित्त विज्ञ डा. नरहरि ढकालले लघुवित्त संस्थाले सञ्चालन खर्च कम गर्न सूचना प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए भने अर्का लघुवित्त विज्ञ मेघराज गजुरेलले लघुवित्त संस्थाले कर्मचारीको उत्पादकत्व बढाउनुपर्ने बताए । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले विगत २५ वर्षदेखि वाणिज्य बैंकले लघुवित्त संस्थालाई गरेको थोक कर्जा शतप्रतिशत असुली भएको जानकारी दिए । थोक कर्जामा कुनै जोखिम नभएको भन्दै उहाँले ढुक्क भएर लघुवित्त संस्थाहरूमार्फत विपन्न वर्गमा कर्जा लगानी गर्न वाणिज्य बैंकहरूलाई आग्रह गरे ।
यस्तै, मेगा बैंकका लघुवित्त एकाइका प्रमुख प्रकाश पोखरेलका अनुसार, लघुवित्तलाई प्राथमिकता दिने उद्देश्यले मेगा बैंकले लघुवित्त एकाइ नै स्थापना गरेको छ । मेगा बैंकका देशभर छरिएका ४७ वटा शाखामा लघुवित्त एकाइअन्तर्गत ७५ जना कर्मचारी कार्यरत छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई अनिवार्य रूपमा ५ प्रतिशत रकम विपन्न वर्गमा लगानी गर्न निर्देशन दिएको छ । तर, मेगा बैंकले अहिले नै करिब ७ प्रतिशत लगानी गरिसकेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्म करिब १० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।