बैंकहरूलाई भारुमा ऋण लिन बाटो खुल्यो

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई भारतीय रुपैयाँमा कर्जा लिनसक्ने व्यवस्था गरेको छ । बैंकहरूलाई स्रोतको अभाव भएपछि भारतीय रूपैयाँमा पनि कर्जा लिन सकिने व्यवस्था गरिएको हो ।
केन्द्रीय बैंकले यसअघि डलरमा कर्जा लिन सकिने व्यवस्था गरिसकेको थियो । भारतीय रुपैयाँमा सहज हुने तथा हेजिङ कस्ट नपर्ने भएकाले बैंकरहरूको अनुरोधपछि चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत भारुमा कर्जा लिन आवश्यक व्यवस्था गरिने उल्लेख गरिएको थियो । चालू आवको मौद्रिक नीतिले लगानीयोग्य साधन बढाउने उद्देश्य राखी राष्ट्र बैंकले २०७४ चैत २० गते वाणिज्य बैंकहरूलाई प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवत्र्य मुद्रामा वाह्य ऋण परिचालन गर्न पाउने व्यवस्था गरेको थियो । यसको दायरा थप विस्तार गर्दै बैंक तथा वित्तीय संस्थाहरूले परिवत्र्य विदेशी मुद्राका अतिरिक्त भारतीय मुद्रामा समेत प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको हो ।
मौद्रिक नीतिले गरेको व्यस्थालाई प्रक्रियागत सहजता दिइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले बताए । “केन्द्रीय बैंकले तोकेका क्षेत्रमा लगानी गर्ने गरी भारुमा पनि कर्जा लिएर लगानी गर्न सक्नेछन्,” उनले भने, “स्रोत अभावको समस्या समाधानमा यसले महत्वपूर्ण भूमिका खोल्नेछ ।” यसअघि डलरमा ऋण ल्याउन सक्ने व्यवस्था गरेपछि एनएमबि बैंकले डेढ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय वित्त निगमबाट ल्याइसकेको छ । अन्य बैंकहरू पनि प्रक्रियामा रहेका छन् ।
राष्ट्र बैंकले जलविद्युत् उत्पादन तथा प्रसारणलाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता पूर्वाधार, कृषि, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्नका लागि भारुमा लिएको ऋण प्रयोग गर्नुपर्ने हुन्छ । एक वर्षदेखि ५ वर्षसम्मका लागि लिन सकिने ऋणको व्याज भने भारत सरकारले जारी गरेको पछिल्लो ३ सय ६४ दिने टे«जरी बिलको औसत डिस्काउन्टदरमा एक प्रतिशत प्रिमियम थप गरेर ऋण ल्याउन सक्छन् । हाल भारतीय सरकाले जारी गरेको टे«जरीको औसत दर ७.२ रहेको ढुङ्गानाले बताए । उनले भने, “यो दरमा एक प्रतिशत थप्दा पनि ८.२ हुन्छ ।” तर, समयअनुसार थपघट पनि हुनसक्ने उनको भनाइ छ । यसरी ल्याएको कर्जा लगानी गर्दा बैंकहरूले भने प्रतिस्पर्धी बजारले तय गरेको दरअनुसार लगानी गर्नुपर्ने ढुङ्गानाको भनाइ छ । बुधबारको दरअनुसार गणना गर्दा बैंकहरूले भारुमा ल्याएको कर्जा ११ प्रतिशतसम्ममा लगानी गर्न सक्ने देखिन्छ ।
विदेशी मुद्रामा ऋण लिने सन्दर्भमा नेपाली बैंकको सञ्चालक समितिले निर्णय गरेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ । ऋण दिने विदेशी बैंक तथा वित्तीय संस्थालाई अन्तर्राष्ट्रिय रूपमा वित्तीय कारोबार गर्न कुनै किसिमको बन्देज नलगाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । बैंकले बुधबार निर्देशन जारी गर्दै विदेशी मुद्राको ऋणको भुक्तानी अवधि एकदेखि ५ वर्षसम्मको हुनुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले स्वीकृत गरेको खण्डमा यस्तो ऋण नवीकरण पनि हुनसक्ने व्यवस्था गरेको छ । तर, यसरी ऋण ल्याउने क्रममा ऋणको जमानत वा धितो भने राख्न नपाइने व्यवस्था गरिएको छ ।