आगामी दिन बैंकिङ क्षेत्रका लागि झनै जटिल

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन र निषेधाज्ञाजस्ता व्यवस्थाहरू लागू ग-यो । सर्वसाधारण घरभित्रै बस्नुपर्ने भएपछि अधिकांश काम प्रविधिको प्रयोगमार्फत हुन थाल्यो । पछिल्लो समयमा कोरोनाका कारण बैंकिङ क्षेत्रमा बढेको प्रविधिको प्रयोगलाई भने सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । पछिल्लो तथ्यांकअनुसार पनि वैशाख, जेठ र असार गरी तीन महिनामा मात्रै आरटीजीएसमार्फत १ सय १४ खर्ब ६३ अर्ब रुपैयाँ कारोबार भएको छ । ईसीसीमार्फत ७ खर्ब ९२ अर्ब, आईपीएसमार्फत २ खर्ब २३ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ । यसले पछिल्ला दिनहरूमा प्रविधिको प्रयोगमार्फत हुने विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको देखिन्छ । त्यससँगै लकडाउनका अवधिमा विद्युतीय कारोबारमा शुल्कसमेत नलाग्ने व्यवस्था थियो । सोही कारणले गर्दा पनि कारोबार बढेको हो । परिस्थितिअनुसार सर्वसाधारणले पनि बैंकिङ कारोबारमा प्रविधिको प्रयोग गर्न अभ्यस्त भएको बैंकहरूको भनाइ छ ।
तर, बैंकहरूले तयार गरेको प्राविधिक पूर्वाधारमा बारम्बार समस्या आउने तथा आपराधिक घटनाक्रमहरू बढेको अवस्था थियो । त्यसलाई न्यूनीकरण गर्नका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई फिन टेकमा लगानी बढाउन पनि भनेको अवस्था हो । विगतमा दोहोरिएका समस्याहरू अहिले विद्युतीय कारोबारको चाप बढेको अवस्थामा पनि देखिएको खण्डमा झनै जटिल अवस्था आउँछ । तर, समयसँगै भएको परिवर्तनलाई स्वीकार गरेर हुन सक्ने जोखिम न्यूनीकरण गर्दै अघि बढ्ने हो । त्यसका लागि बैंकहरूले यो क्षेत्रमा लगानी पनि उल्लेख्य बढाउन जरुरी हुन छ । कोरोनाका कारण बैंकहरूले आफ्ना ग्राहकहरूलाई प्रविधिमा अभ्यस्त बनाए पनि कोर बैंकिङ काम गर्न नसक्दा आगामाी दिन भने कोरोना भाइरस संक्रमण क्षेत्रका लागि झनै जटिल रहेको देखिन्छ ।
कोरोनाका कारण आर्थिक गतिविधि ठप्प भएको अवस्थामा बैंकहरूले सामान्य सेवा जारी राख्दै कोरोनापीडितलाई नियामक निकायको निर्देशनअनुसार छुट पनि दिइराखेको अवस्था छ । सबै क्षेत्रले बैंकबाट मात्र छुट खोज्ने, तर आर्थिक गतिविधि ठप्प हुने अवस्थामा यो क्षेत्रमा पनि समस्या आउन धेरै समय नलाग्ने बैंकहरू बताउँछन् । कर्जाको माग छैन, बैंकहरूमा अधिक निक्षेप थपिएको छ, यसले गर्दा निक्षेपकर्ताको ब्याजदर पनि घट्दो क्रममा छ । बैंकिङ क्षेत्रमा समस्या देखिन थालेको खण्डमा हरेक व्यक्तिलाई असर गर्ने देखिन्छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा काम नगरेका बैंक–वित्तीय संस्थाले चालू आर्थिक वर्षको सुरुवातदेखि नै काम गर्न पाएका छैनन् । गत वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकहरूको नाफा १४ प्रतिशतले घटेको छ । यो अभैm घट्ने देखिन्छ । तर, चालू आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थालाई झनै असर गर्ने जोखिम बढेको छ । आगामी दिनमा कहिलेसम्म यस्तो अवस्था रहने हो भन्नेमा अझै पनि यकिन गर्न सकिने अवस्था छैन । त्यसैले पनि अर्थतन्त्रको विषयमा पनि सोचेर बैंकहरूले काम गर्ने वातावरण बनाउनुपर्ने बैंकरहरूको भनाइ छ । पछिल्लो समयमा बढ्दो विद्युतीय कारोबार र यसको जोखिमका साथै आगामी दिनमा वित्तीय क्षेत्रको अवस्थामा बारेमा बैंक तथा वित्तीय संस्थाका छाता संगठनका अध्यक्षहरूसँग कारोबारले गरेको कुरानकानी सार :
चालू आर्थिक वर्ष झनै चुनौतीपूर्ण
भुवनकुमार दाहाल
अध्यक्ष, नेपाल बैंकर्स संघ
कोरोनाका कारण बैंकका ग्राहकले प्रविधिको प्रयोग उच्चतम प्रयोग गरेको अवस्था छ । त्यसका साथै बैंक–वित्तीय संस्थाले पनि आवश्यकताअनुसारको लगानी गरेर आफ्ना ग्राकलाई प्रविधिमा आधारित बैंकिङ कारोबारलाई आवश्यक पूर्वाधार तयारी गरेका छन् । अहिलेको अवस्थामा बैंकहरूले प्राविधिक पूर्वाधार तथा सुरक्षाको पक्षमा उल्लेख्य लगानी गरेको अवस्था छ । प्रविधिको प्रयोगसँगै आउन सक्ने जोखिमहरू निराकारण गर्ने भन्ने त हुँदैन, न्यूनीकरण गर्ने हो । त्यसका लागि बैंकहरूले पर्याप्त तयारी गरेको अवस्था छ । सामान्य समस्या आउनु भनेको स्वाभाविक हो ।
गत आर्थिक वर्षमा बैंक–वित्तीय संस्थाले साढे नौं महिनाजति नियमित काम गरेको अवस्था रह्यो । यो अवधिमा पनि १४ प्रतिशतको नाफा घटेको अवस्था छ । यो भनेको अपरिस्कृत वित्तीय विवरणका आधारमा हो । गत आर्थिक वर्षको लोखापरीक्षण भएको वित्तीय विवरण आउँदा बैंकहरूको अवस्था अझै कमजोर हुने देखिन्छ । गत आवमा बैंक–वित्तीय संस्थालाई साढे दुई महिनामा मात्र असर गरेको अवस्था हो । चालू आर्थिक वर्षमा त सुरुवातीदेखि नै असर गरेको अवस्था छ । चालू आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाका लागि निकै चुनौतीपूर्ण रहेको छ । अहिलेको अवस्थामा नेपाल राष्ट्र बैंकले हरेक बैंकमा जनसम्पर्क अधिकृत नै राखेर बैंकहरूको अवस्थाका विषयमा जानकारी लिइराखेको अवस्था छ । अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा जटिलताको विषयमा केन्द्रीय बैंकबाट मूल्यांकन भइरहेको हुनाले आगामी दिनमा उपयुक्त निर्णय आउने आशामा हामी छौं ।
बैंकहरूले आफ्नो पक्षबाट गर्ने भनेको निष्क्रिय कर्जाको व्यवस्थापन हो । त्यसका लागि अहिलेको अवस्था यस्तो छ । ग्राहकलाई पनि केही समय दिनैप¥यो । त्यसका लागि म्याद थप गर्ने हो । त्यो काम बैंक–वित्तीय संस्थाले गरि नै रहेको अवस्था छ । अहिलेको अवस्थामा बैंकहरूको खराब कर्जा बढेको छ । गत पुससम्ममा सक्रिय रहेको कर्जाका लागि अहिले पनि सक्रिय देखाउने र त्यसका लागि ५ प्रतिशत मात्र जोखिम व्यवस्था गर्न भनेर केन्द्रीय बैंकले भनेको अवस्था छ । त्यसका २५ प्रतिशत नै तोकेको भए धेरै संस्था अहिले नै नोक्सानीमा जाने अवस्था थियो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई रिल्याक्सेसन दिएका कारण नाफा देखिएको हो । त्यो नभएको भए धेरै बैंक–वित्तीय संस्था नोक्सानीमा हुन्थे । तर, नेपाल राष्ट्र बैंकले रिल्याक्सेसन दिएको भए पनि बैंकिङ क्षेत्रमा भएको रोग त रोग नै हो । त्यसकारणले गर्दा बैंकहरूले राम्रो नाफा गरेको खण्डमा सरकारले कर बढाएर नोक्सानीमा गएकोलाई राहत दिनु राम्रो हुन्छ । यो उपयुक्त व्यवस्था हुनसक्छ ।
कुनै एक निजी क्षेत्रले अर्को निजी क्षेत्रलाई मोलमोलाइका आधारमा छुट दिनु फरक कुरा भयो । बैंकहरूले अरूको भन्दा धेरै नाफा गरे वा अहिलेको महामारीको अवस्थामा बैंकहरूले उल्लेख्य नाफा गर्ने कोही नोक्सानीमा जाने अवस्थामा बैंकहरूसँग बढी कर उठाएर नोक्सानीमा गएको क्षेत्रलाई जीवन प्रदान गर्ने संयन्त्र बनाएको खण्डमा राम्रो हुने देखिन्छ । त्यसैले आगामी दिन झनै चुनौतीपूर्ण रहेको छ । यस विषयमा सम्बन्धित निकायले पनि समयमै सम्बोधन गर्ने आशामा छांै ।
लकडाउन गरेर मात्र समस्याको समाधान हुँदैन
गोविन्दप्रसाद ढकाल
अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघ
प्रविधिको प्रयोगसँगै आउने जाखिम नियन्त्रण गर्ने पनि प्रविधिले नै रहेछ । विगतको तुलनामा बैंक तथा वित्तीय संस्थाले प्रविधिमा लगानी धेरै गरेको अवस्था छ । हामी पूर्ण रूपमा सुरक्षित छौं भन्दा पनि प्रविधिको प्रयोगमा हुने जोखिम न्यूनीकरण गर्दै यहाँसम्म आइपुगेका छौं । आगामी दिनमा अझै लगानी बढाएर प्रविधिको प्रयोगमार्फत हुने बैंकिङ कारोबार भरपर्दो र सुरक्षित छ भन्ने सन्देश दिनु आवश्यक छ । कोरोनाका कारण बन्दाबन्दी भएकाले पनि ग्राहकलाई प्रविधिको प्रयोग गर्ने प्रेरित गरेको छ । हिजोका दिनमा प्रविधिको प्रयोग गर्न नचाहनेहरू पनि आज बैंकमा सिक्न आएको अवस्था छ । यसलाई बैंक तथा वित्तीय संस्थाले अझै व्यवस्थित गरेर आगामी दिनमा पनि प्रविधिमार्फतको बैंकिङ कारोबारलाई जोड दिनुपर्ने अवस्था छ । अहिलेको अवस्थामा बैंक–वित्तीय संस्था जोखिम न्यूनीकरण गर्दै प्रविधिको उच्चतम प्रयोग गर्ने पक्षमा देखिन्छ ।
गत आर्थिक वर्षमा हामीले करिब चार महिना काम गर्न नपाएको अवस्था रह्यो । चालू आर्थिक वर्षमा त्योभन्दा पनि जटिल अवस्था आउने देखिन्छ । अहिलेको अवस्थामा ५० भन्दा धेरै जिल्लामा लकडाउनभन्दा कडा निषेधाज्ञा जारी भएको अवस्था छ । यसले उद्योग–व्यवसाय सबै बन्द अवस्थामा छन् । त्यति मात्र नभई दैनिक आवश्यकताका वस्तु उत्पादन गर्ने उद्योगहरूसमेत बन्द अवस्थामा रहेका छन् । त्यसैले पनि अहिलेको अवस्थामा बैंकहरूले निक्षेप लिने र भुक्तानी दिनेभन्दा अरू काम हुन सकेको छैन । अहिले बैंकहरूले रिकभरीसमेत गर्न नसकेको अवस्था छ । त्यसैले कोरोना छ भनेर लकडाउन गरेर समस्याको समाधान हुँदैन । अब समस्यासँग जुधेर दैनिकी सुरु गर्नुपर्ने देखिन्छ । आगामी दिनमा पनि बन्द नै समाधान हुने भनेर लागेको खण्डमा कोरोनाभन्दा ठूलो अर्को समस्या आइपर्छ । यसले अर्थतन्त्र तथा बैंकिङ प्रणाली संकटउन्मुख हुने र हरेक सर्वसाधारणको चुलो रोकिने अवस्था हुन्छ । सरकारी कर्मचारीको मानसिकता तलब पकाउने मात्र देखिन्छ । यसो गरेको खण्डमा समस्या झनै बढ्छ । काम गर्ने अभ्यास पनि सरकारी कर्मचारी संयन्त्रले गरेको खण्डमा समाधान आउन सक्थ्यो । बन्द भए पनि तलब आइहाल्छ भन्ने सोचले गर्दा पनि बन्द गराउन प्रेरित गरेको देखिन्छ ।
अर्थतन्त्र बचाउने हो भने काम गर्ने अभ्यास हुनुपर्छ । अहिलेको अवस्थामा मालपोत कार्यालय र वडा कार्यालयहरू बन्द छन् । यो हुनेबित्तिकै बैंक तथा वित्तीय संस्थाले चाहेर पनि काम गर्न सक्ने अवस्था हँुदैन । अब समस्यासँग जुधेर अर्थतन्त्र बचाएर अघि बढ्नुपर्छ भन्ने सन्देश जानु जरुरी छ । हिजोको भन्दा आज र आजको भन्दा भोलिको अवस्था झनै गम्भीर हुने देखिन्छ । अब सुरक्षा मापदण्ड अपनाएर काम गर्ने वा नियमित दैनिकी सुरु नगरेको खण्डमा आगामी दिनमा ठूलो समस्या आउनेछ । बैंक तथा वित्तीय संस्थामा पनि लगानी गर्ने लगानीकर्ताले प्रतिफलको आशा गरेको हुन्छ । त्यसैले लगानीकर्ताले प्रतिफल नै नपाउने अवस्थासम्म बैंक वित्तीय संस्थालाई पु¥याउनुपर्छ भन्ने सोच्नु हुँदैन । हो, अहिलेको अवस्थाअनुसार नाफामा बैंक–वित्तीय संस्था केन्द्रित हुनु हुँदैन । बैंक पनि बाँचेर अरूलाई बचाउने हो । अहिले सबै बैंक–वित्तीय संस्थाको खराब कर्जा बढ्दै गएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नै बैंक–वित्तीय संस्थाको खराब कर्जा अहिलेको दोब्बर हुने देखिन्छ । यस सन्दर्भमा सरकार नै चनाखो भएर आर्थिक गतिविधि सुरु गर्नुपर्ने देखिन्छ । बन्द गर्ने लहर चलेको छ । बन्द समाधान होइन । कोरोना समाधानका लागि अन्य रणनीति अवलम्बन गर्नुपर्ने देखिन्छ । अहिले बैंक–वित्तीय संस्थाले कर्जा लगानी गर्न पाएको अवस्था छैन । निक्षेपकर्ता पैसा जम्मा गर्न आइराखेको अवस्था छ । अधिक तरलता भए पनि निक्षेपको ब्याजदर घटाउनुपरेको छ । यसले निक्षेपकर्तालाई पनि असर गरेको छ । त्यसैले आर्थिक गतिविधिलाई निरन्तरता दिनका लागि स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारलगायत सबै क्षेत्रले छलफल गरेर सुरु गर्नुपर्ने देखिन्छ । बैंकहरूले कर्मचारी कोरोना संक्रमण देखिए पनि सेवा रोकेको अवस्था छैन । त्यसैले अर्थतन्त्र बचाउन सबैले काम गर्नुपर्ने देखिन्छ ।
अर्थतन्त्र चलायमान बनाउनेतर्फ सोच्नुपर्छ
सरोजकाजी तुलाधार
अध्यक्ष, नेपाल वित्तीय संस्था संघ
अवसरसँगै जोखिम पनि आउँछ । विगतका दिनमा ग्राहकले विद्युतीय माध्यममार्फत कारोबार गर्न झन्झट मानेको अवस्था थियो । तर, अहिले घरभित्रै बस्नुपर्दा बाध्यताजस्तो भएकाले पनि विद्युतीय बैंकिङ कारोबारलाई स्वीकार गर्न थालेका हुन् । यो सकारात्मक पनि हो । अहिले भौतिक उपस्थिति सम्भव नभएपछि प्रविधिलाई स्वीकार गरेर सोहीअनुसार बैंकिङ कारोबार गर्दा प्राविधिक बैंकिङ कारोबार उल्लेख्य बढेको हो । त्यसका साथै प्रविधिमा आधारित बैंकिङको जनचेतना पनि बढेको अवस्था छ । यो आगामी दिनमा पनि कायम रहनुपर्ने हुन्छ ।
गत आर्थिक वर्षमा चार महिना काम गर्न पाएनौं । चालू आर्थिक वर्षमा चार महिना मात्र काम गर्न पाइन्छ जस्तो छ । यसलाई न अर्थतन्त्रले धान्न सक्छ, न त बैंक–वित्तीय संस्थाले नै । त्यसका साथै उद्योगी, व्यवसायी, व्यापारी कसैले पनि यसलाई धान्न सक्छ जस्तो लाग्दैन । अहिलेको अवस्थामा कोरोनाबाट बच्ने उपाय लकडाउन मात्र हो त भनेर सोच्नुपर्ने अवस्था आएको छ । यदि लकडाउन नै समाधान हुने हो भने आगामी एक साता पनि थप गरेर कोरोना संक्रमितको संख्यालाई विश्लेषण गर्नुपर्ने देखिन्छ । त्यसैले आगामी दिनमा लकडाउन गरेर जाने–नजाने भन्ने सन्दर्भमा अब एक साता थप गरेको खण्डमा पुग्छ । संक्रमितको संख्या दैनिक बढ्दो क्रममा देखिने हो भने लकडाउन गरेर समाधान हुँदैन । भाइरससँगसँगै आफ्नो काम नियमित गर्नुपर्ने देखिन्छ ।
अहिलेको अवस्थामा बैंक–वित्तीय संस्थाको सेवा आधारभूत मात्र हो । त्यसले ब्यापार चल्दैन । अन्य क्षेत्रहरूको पनि बैंकको जस्तो आधारभूत सेवा सञ्चालन हुनुप¥यो । त्यसका लागि अदालत, मालपोत तथा यातायात त खोल्नुप¥यो । त्यो नै बन्द छ आवको दिनमा । त्यसैले बैंकले मात्र काम गर्छु भनेर हँुदैन ।
बैंक–वित्तीय संस्थाको नाफा घट्ने मात्र होइन, आगामी दिनमा पनि यस्तै अवस्था आएको खण्डमा अर्थतन्त्रको मध्यस्थताकर्ताको भूमिका निर्वाह गर्नमा समेत समस्या आउन सक्छ । अहिले नै बैंक–वित्तीय संस्थाको कर्जा उठ्न सकेको छैन । खराब कर्जाको अंश बढेको छ । यही अवस्था रहेको खण्डमा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खराब कर्जा झनै बढ्ने निश्चित छ । त्यसैले अर्थतन्त्र चलायमान बनाउनेतर्फ नै सोच्नुपर्ने आवश्यकता देखिन्छ ।
०००