जनता बैंकको जुम्लामा बृहत् निःशुल्क स्वास्थ्य शिविर «

जनता बैंकको जुम्लामा बृहत् निःशुल्क स्वास्थ्य शिविर

 जनता बैंक नेपालको आयोजनामा देशको अति विकट क्षेत्र कर्णाली प्रदेशको जुम्लामा ३ दिने बृहत् स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न गरिएको छ । संस्थागत सामाजिक उत्तर दायित्वमा ग्रामीण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोगसम्बन्धी र आँखा उपचारका लागि निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने क्रममा जुम्ला जिल्लाको तातोपनी गाउँपालिकामा असार १६, १७ र १८ गते बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
तातोपानी गाउँपालिकामा यही ०७५ वैशाखदेखि जनता बैंकको शाखा सञ्चालनमा छ । उक्त क्षेत्रका विपन्न जनताहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । नेपाल नेत्र ज्योति संघ, हिमालय आँखा अस्पताल, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । आँखा परीक्षण तथा मोतीबिन्दुको अपरेशन, स्त्री तथा प्रसूति रोग र सामान्य स्वास्थ्य परिक्षणको शिविर सञ्चालन गरिएकामा कुल १ हजार १ सय ४५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमा करिब १ हजार जनाको आँखा परीक्षण गरिएकोमा १ सय जनाभन्दा बढीमा मोतीबिन्दुको समस्या देखिएको थियो ।
सोमध्ये मोतीबिन्दुले ग्रस्त भइसकेका ४९ जना बिरामीको निःशुल्क अपरेसन गरिएको थियो साथै बिरामीहरूलाई आवश्यक औषधि र चस्मा पनि निःशुल्क वितरण गरिएको थियो । बिरामीहरूको विपन्न आर्थिक अवस्थालाई मध्येनजर गरी अपरेसन गरेका बिरामी तथा कुरुवाका लागि खाने, बस्ने र यातायातको व्यवस्था बैंकले नै गरिदिएको थियो । सोही अवसरमा जनता बैंकको तर्फबाट स्थानीय स्वास्थ्य चौकीलाई विभिन्न प्रकारका ५० हजार मूल्यबराबरको औषधि हस्तान्तरण पनि गरियो ।

 

प्रतिक्रिया दिनुहोस्