किम फेरी बेइजिङमा «

किम फेरी बेइजिङमा

एजेन्सी-उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार अचानक दुई दिने बेइजिङ भ्रमणमा गएका छन् । चीनमा उनले चिनियाँ राष्ट्रपति सी जीनपिङसँग भेटघाट गर्नेछन् । दुई नेताबीच कैयौ अन्तर्राष्ट्रिय मुद्धाका साथसाथै केही सम्झौता समेत गर्न सक्ने अपेक्षा गरिएको छ । २०११ मा सत्ता सम्हालेपछि किम तेस्रो पटक चीन पुगेका हुन् । उनको तीनवटै भ्रमण विगत ४ महिनाको छोटो अवधिमै भएको हो ।
जुन १२ मा डोनाल्ड ट्रम्पसँगको भेटघाटपछि उनको यो कुनै राष्ट्राध्यक्षसँग भएको पहिलो भेटघाट हो । किमले अमेरिकी राष्ट्रपतिसँग भएको वार्ताको विषयको बारेमा जिनपिङलाई जानकारी गराउने अपेक्षा गरिएको छ ।
किम चढेको विमान बेइजिङ पुग्न लागेपछि मात्रै उनको भ्रमणको बारेमा जानकारी दिइएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । किम पहिलो पटक मार्च महिनामा रेलबाट चीन पुगेका थिए । उनको दोस्रो भ्रमण मे महिनाको सुरुमा भएको थियो । मार्च महिनाको उनको भ्रमणलाई व्यापक गोप्य राखिएको थियो । उक्त भ्रमणको विषयमा बेइजिङले उनी फर्केको समयसम्म पनि जानकारी दिएको थिएन् ।
लगातार परमाणु परिक्षण गरेका कारण संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको थियो । यसपछि अमेरिकाको दबाबमा चीनले पनि उत्तर कोरियातर्फ कोइला तथा तेलको आपूर्ति रोकेको थियो । किमको यो भ्रमणपछि यो प्रतिबन्ध हट्ने अपेक्षा गरिएको छ ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार भेटघाटको समयमा किम तथा सीले आगामी रणनीतिको बारेमा चर्चा गर्न सक्ने अपेक्षा गरिएको छ । ट्रम्पसँगको भेटघाटपछि किमले उत्तर कोरिया परमाणु हतियार नस्ट गर्नका लागि तयार भएको घोषणा गरेका थिए । यसको बदलामा अमेरिकाले उनलाई सुरक्षाको भरोसा दिलाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्