भ्रष्टाचारको समाचार लेखेबापत पत्रकारको हत्या

भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा यसै साता मारिएका भारतीय पत्रकारको हत्या भ्रष्टाचारको समाचार लेखेका कारण भएको बताइएको छ ।
ती पत्रकारलाई भारतीय अर्धसैन्य बलका जवानले गोली हानी हत्या गरेका थिए । उनलाई र हत्या गर्ने आदेश दिने अर्का सैनिक अधिकारीलाई भने प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ ।
“यहाँको एउटा दैनिक पत्रिकाका ४८ वर्षीय वरिष्ठ समाचारदाता सुदीपदत्त भौमिकको हत्या गरिनुको कारण उनले ती सैन्य अधिकारीले गरेको भ्रष्टाचारको समाचार लेख्नु हो,” सो पत्रिकाका सम्पादकले भनेका छन् ।
भारतीय पत्रिका सिन्दन दैनिकका सम्पादकले उक्त कुरा सार्वजनिक गरेका हुन् । उक्त बंगाली भाषाको पत्रिकाले ती सैनिक अधिकारीले सो कार्यालयमा गरेको भ्रष्टाचारसम्बन्धी समाचार छापेको थियो ।
त्यस दिन पनि उनी त्यसैसम्बन्धी थप समाचार लिनका लागि त्रिपुरास्थित सो कार्यालयमा पुगेका थिए । त्यसै समयमा उनको हत्या भएको हो ।
त्रिपुरा राज्यको अर्ध सैन्य बलको मुख्यालय, त्रिपुरा स्टेट राइफलमा गएका बेला सोही कार्यालयको अर्ध सैन्य बलका प्रमुख अधिकारी सैनिक कमान्डेन्ट अफिसर तपनदेव बर्माले आफ्ना अंगरक्षकलाई नै ती पत्रकारलाई गोली हान्ने आदेश दिएका पछि खुलेको थियो ।
सो पत्रिकाका सम्पादक एवम् प्रकाशक सुबल कुमा देइले भने, “भौमिकले गरेको खोजीका आधारमा हामीले सो पत्रिकामा समाचार छापेका थियौँ र त्यस दिन पनि उनैले बोलाएर सो समाचारका लागि गएका थिए ।
“समाचार लेखेकै आधारमा उनको हत्या भएको हो, यसबाहेक अर्काे कुनै कारण छैन,” उनले भने ।
ती पत्रकारको हत्या मंगलबार भएको हो । उनका अंगरक्षकलाई बुधबार नै पक्राउ गरिएको थियो । उनकै बयानका आधारमा सैनिक अधिकारी बर्मालाई बिहीबार पक्राउ गरिएको हो । हाल ती अधिकारी प्रहरी थुनामै छन् ।
सम्पादक सुबल कुमारले उक्त प्रहरी मुख्यालयका अधिकारीको औपचारिक अनुमति मात्र नभएर समय लिएर नै सो कार्यालयमा पुगेको बताएका छन्, तर पछि उनको हत्या भयो भन्ने सुनेपछि हामी आश्चर्यमा परेका थियौँ, उनले भने ।
ती अधिकारीले भौमिकलाई त्यहाँ बोलाएर आफ्ना अंगरक्षकलाई गोली हान्न लगाएको पछि पत्ता लागेको हो । यस विषयमा ती अधिकारीको भने कुनै प्रतिक्रिया आएको छैन ।
भारतमा दुई महिना मात्र अघि एक आन्दोलनको समाचार संकलनका क्रममा आन्दोलनकारीले टिभी पत्रकारको त्रिपुरामा नै हत्या गरिएको थियो ।
त्यसको महिना दिनअघि मात्र पनि एक जना महिला सम्पादकको हत्या भएको थियो । उनको हत्या भने आफ्नै घरको भान्साकोठामा भएको थियो ।
भारतमा पछिल्लो समयमा पत्रकार हत्याका घटनामा वृद्धि भइरहेको पाइएको छ ।