काठमाडौँको पहिलो कन्या विद्यालयको पुनर्निर्माणको शिलान्यास

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्ज, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसाल तथा नेपाल सरकारका अन्य अधिकारीहरू आज कन्या मन्दिर माध्यमिक विद्यालयको पुनर्निर्माणको शिलान्यास समारोहमा सहभागी हुनुभयो । उक्त विद्यालय काठमाडौँकै पहिलो कन्या विद्यालय हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत टेपलेट्जले भनिन्, “अमेरिकी सरकारले बालबालिकालाई विद्यालय फर्काउने कार्यलाई प्राथमिकता दिइरहेको छ । यसै प्रतिबद्धतास्वरूप हामीले विपन्न समुदायको हितका लागि भूकम्पीय रूपमा सुरक्षित, सुविधायुक्त र बाल तथा अपाङ्गमैत्री विद्यालय तथा स्वास्थ्य चौकी निर्माण गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग साझेदारी गरेका छौँ । यसबाट अमेरिकी जनताको सुरक्षित नेपाल पुनर्निर्माणप्रतिको लामो दीर्घकालीन र जारी सहयोग प्रतिविम्बित हुन्छ ।”
अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत भूकम्प प्रभावित जिल्लामा ३६ वटा पक्की विद्यालय तथा स्वास्थ्य चौकी भवन पुनर्निर्माण गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग साझेदारी गर्दैछ । आजको कार्यक्रमसँगै काठमाडौँ उपत्यकामा न्योखास्थित कन्या मन्दिर मा. वि., साँखुस्थित श्री आदर्श मा. वि., र सानोठिमी, भक्तपुरस्थित आदर्श मा. वि. गरि तीन माध्यमिक विद्यालयहरूको पुनर्निर्माण सुरु भएको छ ।
सन् २०२० मा पुनर्निर्माणको कार्य पूरा हुने अपेक्षा गरिएको कन्या मन्दिर माध्यमिक विद्यालयमा एक पटकमा ७०० जना छात्राले शिक्षा प्राप्त गर्नेछन् । पढाइलेखाइका लागि तीन हजार वर्ग मिटरभन्दा बढी स्थान सहितको नयाँ बन्ने तीन तल्ले भूकम्प प्रतिरोधी भवनमा २४ कक्षाकोठा, तीन प्रयोगशाला र एक पुस्तकालय रहनेछन् ।
सन् २०१५ को भूकम्पयता अमेरिकी सरकारले भूकम्प प्रतिकार्य तथा पुनरुत्थानमा १९ करोड अमेरिकी डलर लगानी गरेको छ । यसमध्येको केही रकमले घरधनीहरूलाई सुरक्षाका आधुनिक मापदण्डको प्रयोग गरी १६ हजारभन्दा बढी घर पुनर्निर्माण गर्न सघाउनुका साथै १५ हजारभन्दा बढी इन्जिनियर, ठेकेदार, वास्तुशिल्पी, डकर्मी र सिकर्मीलाई भूकम्प प्रतिरोधी निर्माण विधिसम्बन्धी तालिम प्रदान गरेको छ । अमेरिकी सहायताबाट एक हजार ४५ अस्थायी सिकाइ केन्द्र र विद्यालय सामग्री सहितका ५८ सङ्क्रमणकालीन संरचनाको स्थापनामा समेत सहयोग भएको छ । यस सहायताबाट ९३ हजारभन्दा बढी विद्यार्थीलाई भूकम्पपछि न्यूनतम अवरोधका साथ पढाइलाई निरन्तरता दिन मद्दत मिलेको अमेरिकी दुतावासले आफनो प्रेस विज्ञप्तिमा जनाएको छ ।