६०% शैक्षिक सूचकांकको उपलब्धि शून्य «

६०% शैक्षिक सूचकांकको उपलब्धि शून्य

शिक्षा बजेट कम भएको अवस्थामा समेत सुधार हुने अपेक्षा राखिएका गुणस्तरसँग सरोकार राख्ने ६० प्रतिशतभन्दा बढी शैक्षिक सूचकांकहरूको नतिजा निराशाजनक देखिएको छ । शिक्षा बजेट कम भएर गुणस्तर सुधार भएन भनेर बहस चलिरहेका बेला निर्धारित बजेटले लक्ष्य पूरा गर्न सकिने सूचकांकको नतिजा नै उपलब्धिविहिन देखिएको हो ।
शिक्षा मन्त्रालयले विनियोजित बजेट र कार्यक्रमकै आधारमा लक्षित सूचकांक निर्धारण गरेका आधाभन्दा बढी कार्यक्रमको नतिजा निराजनक देखिएको छ । चालू बजेटले नै योगदान पुर्याउने अपेक्षित १७ शैक्षिक सूचकहरूमध्ये १० वटाको नतिजा धेरै कम रहेको देखिएको छ । नयाँ बजेट विनियोजन गर्ने बेलामा शिक्षा क्षेत्रका लागि छुट्याइएको बजेट कम हुने गरेको बहस चलिरहेका बेला गत वर्षको सूचांकको नतिजा नै निराशाजनक देखिएको रिपोर्टले देखाएको छ । यसरी कमजोर देखिएका सबै नतिजाहरू दिगो विकास लक्ष्य (एसडीजी) को उपलब्धि प्राप्तीका लागि आधार मानिएका सूचकहरूमा समावेश गरिएका छन् ।
अघिल्लो वर्षको वजेटमा निर्धारण गरिएको शैक्षिक सूचकहरूको वास्तविक उपलब्धिभन्दा गत वर्षको उपलब्धिमा धेरै भिन्नता देखिएको सरकारले नै सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । यो भिन्नता साक्षर दर, इन्टरनेटको सुविधा भएको स्कुल, स्कुल छोड्ने दर र भर्ना दरलगायतका उपक्षेत्रगत कार्यक्रममा बढी रहेको छ । यी क्षेत्रमा १७ देखी ६० प्रतिशतसम्मको कम अन्तर देखिएको छ । शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले शिक्षा क्षेत्रको समग्र शैक्षिक सूचांक सुधार गर्न प्रथामिकताका आधारमा बजेट र कार्यक्रमको पुनर्संरचना गर्नुपर्ने बेला आएको बताए । “विनियोजित बजेटको सीमाका आधारमा एक कार्यक्रमको बजेट काटेर अर्को कार्यक्रममा हाल्नुको विकाल्प छैन,” उनले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई–नेपाल) ले आयोजना गरेको शिक्षा बजेटसम्बन्धी सम्वाद कार्यक्रमका क्रममा भने ।

यसले सन् २०३० सम्म सबै बालबालिकहरूले निःशुल्क, समानतामा आधारित एवं स्तरीय प्राथमिक तथा माध्यमिक शिक्षा हासिल गरुन् भन्ने एसडीजीको लक्ष्यमा नै चुनौती देखिएको छ । अक्सर सरकारले सार्वजानिक गर्न नचाहाने यस्ता नतिजाले शिक्षा बजेट र कार्यक्रम कति प्रभावकारी छन् भन्ने देखाउँछ । नेपालको शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्यसहित सरकारले प्राथामिकतामा राखेका १७ उपक्षेत्रगत कार्यक्रममा ऋणात्मक देखिएका १० वटाको उपलब्धि सूचकहरू एसडीजी ४.१ र ४.२ का सूचकांकमा समावेश समावेश गरिएका लक्षित कार्यक्रम हुन् । शिक्षाविद् मनप्रसाद वाग्लेले संविधानमा उल्लेखित बिषयमा आधारमा शैक्षिक कार्यक्रम सञ्चालन गरेर अघि बढनुपर्ने बताए । उनले शैक्षिक उपलब्धि हासिल गर्न गुणस्तर, भौतिक पुर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिएका छन् ।
एसडीजीको लक्ष्यमा कक्षा १ मा बाल विकासको अनुभवसहित भर्ना हुन आउने बालवालिकाको दर, आधारभूत तहमा कक्षा १—५ मा खुद भर्ना दर, माध्यमिक तहमा कक्षा ९—१२ मा खुद भर्ना दर, कक्षा ८ पूरा गर्ने दर र साक्षरता दरको नतिजाहरूमा उपलब्धि ऋणात्मक रहेको छ । एसडीजी ४.१ मा प्राथमिक र निम्न माध्यामिक तहको अन्त्यसम्म पठन क्षमता र गणित जस्ता विषयमा न्यूनतम निपूर्णता हाँसिल गर्ने युवा तथा बालबालिकाको प्रतिशत तोकिए अनुसार पूरा हुनु पर्छ । यसरी नै प्राथमिक वा निम्न माध्यामिक तहको अन्त्यसम्ममा राष्ट्रिय रूपमा प्रतिविम्बन हुने सिकाई मापनमा सहभागि हुने विद्यार्थी प्रतिशत, प्राथमिक र निम्न माध्यामिक तहका अन्तिम कक्षाको खुद भर्ना दरको लक्ष्य पूरा हुनुपर्ने उल्लेख छ । यसैगरी, प्राथमिक, निम्न माध्यामिक र उच्चमाध्यामिक तह उत्तीर्ण गर्ने दर, प्राथमिक, निम्न माध्यामिक र उच्चमाध्यामिक तहमा अध्ययन गर्ने उमेर समूुहका विद्यालय बाहिर रहने विद्यार्थी दर बढनुपर्ने छ ।
प्राथमिक, निम्न माध्यामिक तहका कक्षाहरूमा अध्ययनरत औसत उमेर पार गरिसकेका विद्यार्थी प्रतिशत, कानुनी रूपमा निशुल्क र अनिवार्य सुनिश्चितता गरिएको प्राथमिक र माध्यामिक शिक्षाका बर्ष तथा कक्षा तोकिए अनुसार हुन पर्ने छ । लक्ष्य ४.२ मा सन् २०३० सम्म सबै वालवालिकाको स्तरीय प्रारम्भिक बाल्यावस्था विकास, स्याहार र पूर्वप्राथमिक शिक्षामा पहुँच सुनिश्चित गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्