अझै पुगेन १ सय २० स्थानीय तहमा बैंकिङ सुविधा «

अझै पुगेन १ सय २० स्थानीय तहमा बैंकिङ सुविधा

ललितपुर-देश संघीय गणतन्त्रमा प्रवेश गरेसँगै ७ सय ५३ स्थानीय तह गठन भए । स्थानीय सरकार गठन भएको वर्ष दिन पुग्नै लाग्दा पनि कतिपयमा अझै बैंकिङ सुविधा पुगेको छैन । नेपाल राष्ट्र बैंकले ७ सय ५३ स्थानीय तहमध्ये १ सय २० मा अझै बैंकिङ सेवा नपुगेको जनाएको छ ।
नेपालमा २८ वटा वाणिज्य बैंक, ४० वटा विकास बैंक र २८ फाइनान्स कम्पनी सञ्चालनमा छन् । त्यसमध्ये वाणिज्य बैंकका २२ सय ७४, विकास बैंकका ७ सय ६९ र फाइनान्सका १ सय ३० वटासमेत गरी कुुल ३ हजार १ सय ७३ शाखा सञ्चालनमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । केन्द्रीय बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गर्ने घोषण गरेको भए पनि अहिलेसम्म पुग्न सकेका छैनन् ।
बैंक तथा वित्तीय संस्थाहरूले काठमाडौं उपत्यका र बाहिर जिल्लाका शहरी क्षेत्रमा मात्र शाखा विस्तार गरेका छन् । सुविधा सम्पन्न ठाउँमा दर्जनौं बैंक तथा वित्तीय संस्था भए पनि दुर्गमका स्थानीय तहमा शाखा नहुँदा समस्या भएको जनप्रतिनिधिहरू बताउँछन् ।
राष्ट्र बैंकको असार मसान्तसम्मको तथ्यांंकलाई हेर्दा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा कुुल निक्षेपकर्ता ग्राहक संख्या १ करोड ९७ लाख ५४ हजार ३६ छ । जसमध्ये वाणिज्य बैंकमा १ करोड ६१ लाख १९ हजार ६ सय १४, विकास बैंकमा ३२ लाख ४ हजार ७ सय १८ र फाइनान्समा ४ लाख २९ हजार ७ सयवटा निक्षेप खाता सञ्चालनमा छन् । यसमा कुल कर्जावाला खाता संख्या भने १२ लाख १६ हजार ९१ वटा छन् । जसमा स्थानीय तहमा शाखा सञ्चालन गर्दा सबै जनतालाई सुविधाका साथै ४० प्रतिशतभन्दा बढी वित्तीय संस्थालाई फाइदा हुने बताइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुुलुकको चालू आर्थिक वर्षको फागुुन मसान्तसम्मको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनअनुसार घाटा बढेको देखाइएको छ । व्यापारघाटा बढेर ७ खर्ब १३ अर्ब ९३ करोड रुपैयाँ पुुगेको देखाएको छ । चालू आवको ८ महिनामा कुल वस्तु निर्यात १० दशमलव ८ प्रतिशतले वृद्धि भई ५३ अर्ब ४२ करोड पुगेको छ । यसरी व्यापार घाटा रोक्न स्थानीय तहमा वित्तीय संस्था स्थापना गर्दा केही सहज हुने देखिन्छ ।
उत्पादक वस्तुहरू आयात निर्यातमा सधैं फेरबदल हुने गरेको पनि देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव ८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा कुल वस्तु आयात भने २२ दशमलव एक प्रतिशतले बढेर ७ खर्ब ६७ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४४ दशमलव २ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ ९ दशमलव ८ प्रतिशत, चीनतर्फ ६२ प्रतिशत र अन्य मुलुकतर्फ ९ दशमलव १ प्रतिशतले निर्यात बढेको छ ।
वस्तुगत आधारमा आलैचिं, जुटको बोरा, धागो तथा पोलिस्टरलगायतका वस्तुको निर्यात बढेको छ भने जीआई पाइप, जुस, उनी गलैंचा, पश्मिनालगायतका वस्तुको निर्यात घटेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२ दशमलव ३ प्रतिशत, चीनबाट भएको आयात २२ दशमलव २ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २१ दशमलव ३ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा आर्थिक वर्ष ०७४-७५ को आठ महिनामा पेट्रोलियम पदार्थको आयात एक खर्ब ६० करोड, खाद्य पदार्थ तथा जीवित जनावर ९७ अर्ब पाँच करोड र यातायातका साधन तथा पार्टपुर्जाको आयात ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेकोे देखाइएको छ ।
भूमिराज जोशी

प्रतिक्रिया दिनुहोस्