१६ बैंकको खराब कर्जा बढ्यो «

१६ बैंकको खराब कर्जा बढ्यो

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १६ वटा वाणिज्य बैंकको खराब कर्जा बढेको छ । बैंकहरूले पुँजी वृद्धिको अनुपातमा नाफा गर्ने होडले आक्रामक रूपमा कर्जा प्रवाह गर्दा खराब कर्जाको अंश बढेको हो ।
बैंकहरूले आक्रामक रूपमा कर्जा प्रवाह गर्दा पुँजी, कर्जा तथा निक्षेप (सीसीडी) रेसियो ८० को हाराहारीमा पुगेपछि कर्जा नै नियन्त्रण गर्नुपरेको अवस्था छ । चालू आवको दोस्रो त्रैमासमा पनि कर्जा प्रदान गर्नका लागि बैंकहरूले ब्याजदर बढाएर निक्षेप अकार्षण गरेका थिए । बैंकहरूले ४ गुणा पुँजी वृद्धि गर्दा आम्दानी पनि बढाउने दवावले आक्रामक कर्जा प्रवाह गर्न बाध्य भएका हुन् ।
गत आर्थिक वर्षको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा १६ बैंकको खराब कर्जाको अंश बढेको छ । खराब कर्जा बढ्नु भनेको सकारात्मक होइन । बैंकहरूले प्रवाह गरेको कर्जा नउठ्ने पक्का भएपनि त्यो खराब कर्जा परिणत हुन्छ । त्यसअघि बैंकहरूले कर्जा प्रवाह गर्नेवित्तिकै कर्जाको १ प्रतिशत जोखिम व्यवस्थावापत छुट्याउँछन् । त्यसपछि बैंकहरूले प्रवाह गरेको कर्जा ३ महिनाभित्र ऋणीले ब्याज तथा साँवा तिर्न सकेनन् भने बैंक तथा वित्तीय संस्थाले सो कर्जाको २५ प्रतिशत रकम सम्भावित जोखिमबापत छुट्याउनुपर्छ । त्यस्तै, ६ महिनासम्ममा असुल नभए ५० प्रतिशत, ९ महिनासम्मा असुल नभए ७५ प्रतिशत र १ वर्षसम्म पनि असुल नभए शतप्रतिशत रकम कर्जा जोखिम व्यवस्थावापत छुट्याउँछन् । यसरी प्रोभिजनिङ गरेपछि पनि बैंकको कर्जा नउठ्ने भएपछि बैंकको नाफामा असर हुन्छ । बैंकले कर्जाको जोखिमअनुसार प्रोभिजनिङ गरेका हुन्छ । तर, कर्जा उठ्दै नउठ्ने भएपछि त्यसलाइ प्रोभिजनिङ गरेको रकम फिर्ता नहुने भएकाले संस्थाको नाफामा असर गर्छ ।
पछिल्लो एक वर्ष ७ देखि ८ प्रतिशतसम्म रहेको ब्याजदर चालू आर्थिक वर्षमा आउँदा १४ भन्दा माथि पुगेको हुनाले खराब कर्जा बढ्न गएको पूर्वबैंकर अनलराज भट्टराई बताउँछन् । बैंकिङ क्षेत्रमा बढेको ब्याजदरले मध्यमवर्गीय जनतालाई असर गरेको उल्लेख गर्दै उनले भने, “मध्यमवर्गीय जनताको आम्दानी नबढ्ने तर बैंकको ब्याजदर बढ्ने अवस्थाले डिफल्ट रेट बढ्ने समस्या आएको हो ।” यसले क्रेडिट क्रन्चको संकेत गरेको उनले बताए । कन्जुमर लोनमा डिफल्टको जोखिम बढेको र समस्या पनि देखिन थालेको उनले बताए । यसका लागि नीतिगत सम्बोधन गरी ब्याजदर घटाउन नसकी दीर्घकालीन समस्या देखिने उनले बताए ।
गत आवको तुलनामा सबभन्दा धेरै खराब कर्जा बढ्ने बैंकमा कृषि विकास बैंक छ । सरकारी स्वामित्वको कृषि विकास बैंकको पछिल्लो ६ महिनामा ०.९८ प्रतिशत खराब कर्जा वढेको छ । नेपाल एसबीआई बैंकको सबैभन्दा थारै ०.०३ प्रतिशत खराब कर्जा वढेको छ । खराब कर्जा घटाउने बैंकमा सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक, माछापुछ्रे बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक, एनएमबी बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, एनसीसी बैंक र प्रभु बैंक रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्