Logo

मनाङमा एक जना मेडिकल अफिसरको भरमा बिरामीको उपचार

पोखरा-हिमालपारीको जिल्ला मनाङमा विगत ४ दिनदेखि एक जना शिक्षक उचित उपचार नपाउँदा मनाङको जिल्ला अस्पतालमा छटपटाएका छन् । जिल्ला अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री नहुँदा आफूहरूले चाहेर पनि उनको राम्रोसँग उपचार गर्न नसकिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।
जनकपुरबाट पढाउन भनि मनाङ पुगेका करिब ४४ वर्षीय शिक्षकमा उच्च ज्वरो आएसँगै उनको थप उपचार गर्न पोखरा ल्याउन खोज्दा ४ दिन देखिको प्रयास हालसम्म असफल भएको उनले गुनासो गरे । उनको स्वाब संकलन गरी पोखरा पठाएको त्यसको रिपोर्टको आधारमा नेगेटिभ आएको खण्डमा मात्र हेलिकोप्टरबाट उनको उद्धार गर्न सकिने अन्यथा कुनै पनि हेलिकोप्टर सेवा ले उद्धार गर्न नमानेको अध्यक्ष घलेले बताए ।
उनले भने, “एक जना कोरोना संकास्पद बिरामी भएकोले उनको उपचारमा उद्धार गर्न संघ र प्रदेश सरकारसँग हारगुहार गर्दा आजको मितिसम्म उनको उद्धार हुन सकेको छैन, हामीसँग स्वास्थ्य सामग्री सघन उपचारकक्ष (आईसीयू) र भेन्टिलेटर लगायतका सेवा नहुँदा हामीलाई ठूलो समस्या आइपरेको छ ।” मनाङको सदरमुकाम चाँमे बजारदेखि पोखरासम्म आउँदा हाल ५÷६ ठाँउमा बाढी र पहिरोको कारणले गर्दा बाटो अबरुद्ध भएकाले कम्तीमा १२ घण्टा जसो लाग्ने हुँदा पनि आफूहरूले हेलिकोप्टर बाहेक गाडीबाट उपचार गर्न सडक मार्ग हुँदै ल्याउन सम्भव नदेखेको अध्यक्ष घलेले जनाए ।
सरकारले भदौ १ देखि लामो दूरी सहितका हवाई सेवा र भदौ १५ देखि शैक्षिक संस्थाहरू संचालन गर्न सकिने उल्लेख गरेबमोजिम बाहिर गएका शिक्षकहरूलाई विद्यालयमा पठन पाठनको तयारी स्वरुप बोलाएको उनले बताए । शिक्षकहरूलाई आफ्नो कार्यक्षेत्रमा बोलाएसँगै बाहिरी जिल्लाबाट आएकाहरूलाई अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइना राख्दै गर्दा दमको रोगी समेत भएका एक जना शिक्षकमा उच्च ज्वरो आएसँगै उनको उपचार कसरी गर्ने आफूहरूलाई ठूलो चिन्ताको विषय भएको अध्यक्ष घलेले जनाए ।
मनाङको सदरमुकाम चामे बजारमा रहेको जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा पर्याप्त मात्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मीको टिम नहुँदा आफूहरूलाई स्वास्थ्यमा धेरै समस्या भोग्दै आउनु परेको उनले गुनासो गरे । मनाङ जिल्लाकै लागि हाल एक मात्र मेडिकल अफिसर डा.सन्तोष अधिकारीको भरमा जिल्लाका बिरामीहरूले सेवा लिँदै आएका छन् । जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर बिना दमका रोगी उच्च ज्वरो आएकाले ती व्यक्तिको उपचार गर्न हाल निकै मुस्किल भएको डा. अधिकारीले गुनासो गरे । आफ्नो ल्याकतले भ्याएसम्म उनको राम्रो रेखदेख गर्दै आएको बताएका डा. अधिकारीले ती व्यक्ति (शिक्षक) को स्वास्थ्यमा थोरै सुधार आएको बताए ।
जनशक्ति अभाव एकातिर, स्वास्थ्य सामग्री अभाव, भवन, यातायात लगायतका वस्तु तथा सामानहरू अभाव हुँदा उपचारमा आफूहरूलाई निकै कठिन हुने गरेको डा. अधिकारीले गुनासो गरे । नर्मल बिरामी र हाल शंकास्पद तथा कोरोनाका बिरामीहरूलाई समेत आफ्नो नेतृत्वमा रेखदेख गर्नुपर्दा ठूलो चुनौती सामाना गर्नु परेको उनले बताए । मनाङका स्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्यले मनाङ जिल्लामा चिकित्सक सहितको स्वास्यकर्मी, स्वास्थ्य सामग्री अभाव, भौगोलिक विकट, वर्षादको समयमा बाढी र पहिरो अर्कोतर्फ प्रतिकूल मौसमले गर्दा धेरै बिरामीहरूले समयमै उपचार नपाउने समस्या हुने गरेको जनाए ।
जिल्ला अस्पतालमा एक जना मेडिकल अफिसर, एक स्टाफ नर्स, एक जना ल्याब, एक जना एक्सरेमा कार्यरत कर्मचारी रहेको बताइएको छ भने स्वास्थ्य कार्यालयमा कार्यालय प्रमुख सहित कोल्टेन अफिसर एक जना स्वास्थ्यकर्मी रहेको बताइएको छ । गण्डकी प्रदेश सरकारले मनाङ र मुस्ताङमा न्यूनतम ३-३ बेडको सघन उपचारकक्ष (आईसीयू) सहितको भेन्टिलेटर जडान गर्ने भनि बजेट समेत विनियोजन भएको अबस्थामा मनाङमा हालसम्म स्वास्थ्य उपकरण जडान नभएको हुँदा  सेवाग्राहीले सेवा पाउनबाट बन्चित भएको स्थानियको गुनासो गरेका छन् । जिल्ला अस्पतालमै आईसीयू नभएका कारण प्रत्येक महिना २-३ जनाको पोखरा, लमजुङ, काठमाडौं, चितवनलगायतका अस्पतालमा रेफर गर्नु परेको अस्पतालका स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्