प्रदेश–१ मा ६० हजार ६ सयको पीसीआर परीक्षण «

प्रदेश–१ मा ६० हजार ६ सयको पीसीआर परीक्षण

विराटनगर- प्रदेश १ मा ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ ।
गत चैत १८ गतेदेखि बुधबारसम्म तीनवटा प्रयोगशालाबाट ६० हजार ६८० वटा पीसीआर परीक्षण भएको हो । प्रदेश–१ का १४ जिल्लाको ५६ हजार ४१६ र प्रदेश १ बाहिरका जिल्लाको ४ हजार १७४ वटा पीसीआर परीक्षण भएको प्रदेश प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिए । सामाजिक विकास मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १८ हजार ८०७, कोसी अस्पताल विराटनगरले २२ हजार ३५२ र प्रदेश प्रयोगशालाले १९ हजार ५२१ वटा पीसीआर परीक्षण गरेको बताए ।
पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश–१ मा रहेका तीनवटा प्रयोगशालाले दैनिक १ हजार ५ सय स्वाबको परीक्षण गर्न सक्ने क्षमता रहेको बताए ।
झापाको मेची अञ्चल अस्पतालको ल्याब सञ्चालनको तयारीमा रहेको उनले बताए । मेचीको ल्याब सञ्चालनमा आएपछि परीक्षण क्षमता बढ्ने डा. मेहताले बताउनुभयो । प्रदेश प्रयोगशालाका निर्देशक यादवले प्रदेश प्रयोगशाला विराटनगरमा १ हजार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ सय, कोसी अस्पताल विराटनगरमा ८५० स्वाब होल्डमा रहेको जानकारी दिए । उनले दैनिक ७ सय स्वाब होल्डमा हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्