सहकारीको लागत नगरपालिकाको बजेटबाट «

सहकारीको लागत नगरपालिकाको बजेटबाट

सिन्धुलीको दुधौली नगरपालिकाले नाफा कमाउने उद्देश्यले सञ्चालित एक सहकारीको खर्च आँफैले बेहोरेको पाइएको छ । कुनै एक सार्वजनिक संस्था र अर्काे सहकारी संस्था बीच भएको सम्झौतामा सहकारीतर्फको लागत नगरपालिकाले बेहोरेको हो ।
गत असारमा कृषि ज्ञान केन्द्र सिन्धुली र श्री नमुना कृषि सहकारी संस्था लिमिटेडबीच भएको कृषि औजार, उपकरण खरिद गर्ने सम्झौतामा सहकारीको ३० प्रतिशत लागत नगरपालिकाले दिएको हो ।
कृषि औजार, उपकरण खरिद गर्नका लागि १ करोड रुपैयाँ बजटे मध्ये ३० प्रतिशत लागत सहकारीले बेहोर्नु पर्ने सहमति भएको थियो । उक्त लागत सहभागिता अन्तर्गत सहकारीले बेहोर्नु पर्ने ३० लाख रुपैयाँ दुधौली नगरपालिकाले उक्त सहकारीलाई उपलब्ध गराएको हो ।
नाफामूलक सहकारी संस्था र कुनै अर्कोे सार्वजनिक निकायबीच भएको सम्झौताबमोजिम उक्त सहकारी संस्थाले बेहोर्नु पर्ने लागत सहभागिताको रकम नगरपालिकाले बेहोरेको औचित्यपूर्ण नदेखिएको महालेख परीक्षकको प्रतिवेदनमा समेत उल्लेख छ ।
उता नगरपालिकाको २ नम्बर वडामा सामूहिक खेती (चक्लाबन्दी) कार्यक्रम सञ्चालन गरिरहेको यस सहकारीसँग सम्झौता भएअनुसारको रकम नभएकाले नगरपालिकाले आपसी सल्लाहमा रकम दिइएको बताइएको छ ।
नगरपालिकाका प्रवत्ता तथा २ नम्बर वडाका अध्यक्ष रितेश राउतका अनुसार सहकारीसँग पैसा नभएकाले कार्यपालिकाको बैठकले नगरपालिकाले नै लागत रकम दिने निर्णय गरेको हो । “सामूहिक खेती सञ्चालनको सुरुवाति चरण भएकाले सहकारीसँग पैसा छैन,” उनले भने, “सहकारीमा आबद्ध भई खेती गर्ने किसान नगरवासी नै हुन्, जनता र स्थानीय तहको अन्तरसम्बन्ध हुन्छ । जनताको मर्म र समस्या बुझेर हामीले सहयोग गरेका हौँ ।” अहिले नै किसानहरूमा सामूहिक खेतीबारेको बुझाइ प्रष्ट भइनसकेकाले पनि उहाँहरूलाई हत्तोत्साहित गराउनु हुँदैन, उनले भने ।
सहकारी नाफा कम्पनीको मोडालिटिमा भन्दा पनि अहिले सरकारको लक्ष्य हासिल गर्नेतर्फ क्रियाशील रहेको उनले बताए । “किसानलाई एकीकृत बनाउँदै उत्पादनमा वृद्धि गर्न तत्पर किसान र सहकारीलाई सहयोग गर्नु हामीले उचित ठान्यौँ,” उनले भने, “नियमसंगत भयो वा भएन भन्नुभन्दा पनि किसान कति लाभान्वित भए भन्ने कुरा मुख्य हो ।”
सो सहकारीले उत्पादन राम्रो गर्न सके नगरपालिका खाद्यान्नमा आत्मनिर्भर हुने र किसान पनि व्यावसायिक हुने भएकाले किसानलाई प्रोत्साहन गरिएको उनको भनाइ छ ।
गत असार मसान्तमा सामूहिक खेती (चक्लाबन्दी) लाई विभिन्न आधुनिक कृषि औजार तथा उपकरण दिइएको थियो । कृषि ज्ञान केन्द्र सिन्धुलीको आर्थिक वर्ष ०७६-७७ को स्वीकृत कार्यक्रम अन्तर्गत सामूहिक खेतीलाई प्रवद्र्धन गर्न कृषि औजार तथा उपकरणहरू अनुदानमा वितरण गरिएको हो ।
बागमती प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा मिनी कम्बोइन हार्भेस्टर एक थान, लेजर ल्याण्ड लेभलर एक थान, मल्टिक्रप सिड ड्रिप एक थान, पावर विडर एक थान, फार्म ट्रयाक्टर दुई थान, राइस ट्रान्सप्लाइन्टर एक थान, रोटाभेटर तीन थान, मिनी टिलर दुई थान ,कल्टिभेटर चार थान र पावर स्पेयर एक थान दिइएको कृषि ज्ञानकेन्द्र सिन्धुलीले जनाएको छ ।
कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्न र उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यसहित सुरु गरिएको यो खेती बागमती प्रदेशको पहिलो कार्यक्रम हो ।

प्रतिक्रिया दिनुहोस्