Logo

सांसदमा कोरोना देखिएपछि वन कार्यालय शिल

सिन्धुली-केही दिनअघि सिन्धुली आएका सांसद प्रदीप यादवलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि डिभिजन वन कार्यालय सिन्धुली शिल गरिएको छ । कार्यालयमा आयोजित एक कार्यक्रममा सहभागी यादवलाई कोरोना संक्रमण देखिएपछि शनिबार कार्यालय शिल गरिएको हो ।
गत बुधबार जिल्लामा वैज्ञानिक वनमा हरियो सालका रुख कटान गरिएको विषयमा अनुगमन गर्न आएका संसाद यादवसहित जिल्लाका कार्यालय प्रमुख र वनका कर्मचारीहरूको सहभागिता थियो । भेलामा सहभागी वैज्ञानिक वन अनुगमन छानबिन समितिका संयोजकसमेत रहेका सांसद यादवलाई नै सङक्रमण पुष्टि भएपछि सम्पर्कमा आएकाहरूमा पनि संक्रमण हुन सक्ने भन्दै कार्यालयको कामकाज सबै बन्द गरिएको जनाइएको छ ।
डिभिजन प्रमुख नारायण श्रेष्ठका अनुसार सो भेलामा सहभगी सबै कर्मचारीहरूलाई समेत होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । कार्यालयमा कुनै पनि कर्मचारी र सेवाग्राहीलाई प्रवेश निषेध गरिएको र उनीहरूको सम्पर्कमा रहेकाहरूको खोजिकार्य भइरहेको बताए । कार्यालयले सूचना जारी गर्दै अर्काे सूचना नआएसम्म कार्यालयका सबै सेवा बन्द रहने जनाएको छ ।
यादवको नेतृत्वमा गत साउन १४ गते नै जिल्लाको दुधौली नगरपालिका–३ मा रहेको विकासपुर सामुदायिक वनको उपभोक्ताहरूसँग अन्तक्र्रिया गरिएको थियो । साथै वैज्ञानिक वनअन्तर्गत भएको रुख कटानको स्थलगत अनुगमन तथा घाटगद्दी स्थलको समेत अनुगमन गरिएका थियो ।
उता सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले डिभिजन वन कार्यालय शिल गरिएको र शनिबार नै वन कार्यालयका कर्मचारीलगायत अनुगमन टोलीमा सहभागीहरूको स्वाब संकलन गरिएको बताए । समुदायमा कोरोनाको संक्रमण फैलन नदिन भेलामा सहभागीहरूको स्वाब संकलन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्