२ महिनामै ४३६ अर्ब डलर गाएब «

२ महिनामै ४३६ अर्ब डलर गाएब

वासिङटन-विगत २ महिनाको अवधि विश्वका शीर्ष ५ सय धनीका लागि महँगो सावित भएको छ ।
उनीहरुको संयुक्त सम्पत्तिमा यो साता मात्रै १८१ अर्ब डलरको गिरावट आएको छ । अमेरिकी धितोपत्र सूचक एस एन्ड पी–५०० र डाउ जोन्समा २ वर्ष भन्दा बढी अवधिकै ठूलो साप्ताहिक गिरावट आएको छ । भन्सार र बदलाको कारबाहीका कारण धितोपत्र बजारमा गिरावट आएपछि उनीहरुको सम्पत्तिमा पनि गिरावट आएको हो । जनवरी २६ मा बजार उचाइमा पुगेको अवस्थाबाट उनीहरुको संयुक्त सम्पत्तिमा ४३६ अर्ब डलरको गिरावट आएको हो ।
ब्लुमबर्ग बिलिनियर सूचकमा यो साता मार्क जुकरबर्गको सम्पत्तिमा मात्रै १०.३ अर्ब डलरले गिरावट आएको छ । फेसबुक प्रयोगकर्ताको सूचना चोरी काण्डका कारण कम्पनीको सेयरमा गिरावट आएपछि उनी धनीको सूचीमा पनि ३ स्थान ओरालो झरेर सातै स्थानमा कायम भएका छन् । ५ करोड प्रयोगकर्ताको सूचनामा क्याम्ब्रिज एनालाइटिकाले अनधिकृत प्रवेशको जानकारी सार्वजनिक भए लगत्तै यो सामाजिक सञ्जालको सेयरमा १४ प्रतिशतको गिरावट आएको छ ।
क्लाउड सम्बन्धित उत्पादनको बिक्री मन्द भएपछि ओ-याकलको मूल्यमा पनि गिरावट आएकाले ल्यारी इलिसनको सम्पत्तिमा पनि ७ अर्ब डलरको गिरावट आएको छ । बर्कशायर हाथवेका वारेन बफेट, अमेजन डट कमका जेफ बेजोस र अल्फाबेटका ल्यारी पेज सबैले संयुक्त रुपमा १७ अर्ब डलर गुमाएका छन् ।विश्वका शीर्ष धनी ५ सयको संयुक्त सम्पत्ति हाल ५२ खर्ब डलर भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्