खोपको नाममा ११ अमेरिकी औषधी कम्पनीका अधिकारीले कमाए सवा खर्ब रुपैयाँ

वासिङटन-विश्वभरी हाहाकार मच्चाएको कोभिड–१९ को आपतकालिन समयमा अमेरिकी औषधी कम्पनीका अधिकारीका लागि भने मालामाल भएको छ । उनीहरुले कम्पनीले खोप बनाउने घोषणा ठीक पूर्व सेयर खरिद गरे र बजारमा यसको मूल्य बढे लगत्तै बिक्री पनि गरे । यसमा उनीहरुले केही दिनको अन्तरालमै १ खर्ब १९ अर्ब रुपैयाँ) १ अर्ब डलरको मुनाफा गरेका छन् । न्यूयोर्क टाइम्सका अनुसार दक्षिणी सनफ्रान्सिस्कोको सानो औषधी पसल वजार्टले २६ जूनमा आफुले जुन कोरोना खोपमा काम गरिरहेको हो, त्यसलाई अमेरिकी सरसकारले उसको फ्ल्यागशीप योजना वार्प स्पीडमा समावेश गरेको घोषणा गरेको थियो ।
यो खुलासा अगाडिनै कम्पनीका शीर्ष अधिकारीले इक्विटी सेयरको हिस्सा लिएका थिए । यो समाचार बाहिर आउन थाले लगत्तै कम्पनीको सेयर उकालो लाग्न सुरु भएको थियो र शीर्ष अधिकारीहरुको इक्विटी सेयरको मूल्य ६ गुणाले बढेर २० करोड डलर पुगेको थियो । जनवरीमा वजार्टको १ सेयरको मूल्य ३० सेन्ट थियो, जुन अप्रिलमा १० गुणाले बढेर ३.६६ डलर पुगेको थियो । यो जुक्ति केवल वजार्टका मात्र नभई ११ कम्पनीका शीर्ष अधिकारीको थियो । यसमा लगभग सबैजसो कम्पनी अत्यन्त साना थिए । तर सरकारको सहयोग र खोप बनाउने दौडमा समावेश हुने घोषणाको ठीक अगाडि सेयर खरिद गरेर यी अधिकारीले १ अर्ब डलर अर्थात १ खर्ब १९ अर्ब रुपैयाँको मुनाफा आर्जन गरेका छन् ।
कम्पनीले भन्यो अर्ध सत्य
वजार्टका अनुसार उसको कोभिड–१९ खोप अमेरिकी सरकारले आफ्नो फ्ल्यागशीप योजनामा समावेश गरेको छ । सत्यता यसको केही फरक छ । वजार्टको खोप बादरमा परीक्षणका लागि थियो । यसलाई न त अमेरिकी सरकारको सहयोग थियो न त फ्ल्यागशीप योजनामै समावेश गरिएको थियो । यसका बावजुद कम्पनीका मुख्य अधिकारी एन्ड्रयू फ्लोरयूले जूनमा ४३ लाख डलरमा किनेको सेयर २.८ करोड डलरमा बिक्री गरेर मुनाफा लिएका थिए ।
गलत किसिमबाट कमाई गरेको आरोप
अमेरिकाको गैर नाफमुखी संस्था पेसेन्ट फर अफोर्डेबल ड्रग्सका कार्यकारी निर्देशक बेन वकानाका अनुसार सही समयमा सेयर खरिद–बिक्री गर्नु कानुनी रुपमा सही हो । तर कयौ लगानीकर्ता र विशेषज्ञका अनुसार यी अधिकारीहरुले मुनाफा कम्पनीको आन्तरिक सूचनाको आधारमा कमाएका हुन् । यो कदम औषधी उद्योग र लगानीकर्ताको विश्वासमा ठेस पु¥याउने खालको छ । महामारीको यो समयमा नागरिक आफ्नो योगदान गरिरहेका छन् । तर यी कम्पनीहरु मुनाफा कमाउने विषयमा केन्द्रीत भएका छन् ।