Logo

७७ वटै जिल्लामा फैलियो कोरोना

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि लामो समयसम्म रसुवा जिल्लामा कोरोना संक्रमण देखिएको थिएन । तर, शनिबार सो जिल्लामा पनि कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशका विभिन्न ठाउँमा ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरका विभिन्न क्वारेन्टिनमा ६५ हजार ७१२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ९ हजार ४४७ जना रहेका छन् ।

कैलालीका कोराना सङ्क्रमितको चितवनमा मृत्यु
भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । विहीबार राति उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा शनिबार बिहान मृत्यु भएको बताए । उनका अनुसार ती पुरुष क्यान्सरका उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए ।
पछिल्लो समयमा उनको स्वास्थ्यमा समस्यादेखि यही असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो ।
भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो ।

कोरोना भगाउने कुनै कार्ड आएको छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ नआएको स्पष्ट पारेको छ । कोरोना संक्रमण रोक्न तथा नियन्त्रणका लागि अहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ अन्तर्गत शनिबार ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सोमा गम्भीर असर गर्ने बताए । उनले कसैको भ्रममा परी यसको प्रयोग नगर्न समेत आग्रह गरे । संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्ने व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा सहभागि नेताहरुले भाइरस संक्रमणबाट बच्न भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुण्ड्याइएको विषयमा मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको जनाएको छ ।
प्रवक्ता डा. गौतमले भने, ‘‘अहिलेसम्म कुनै पनि यस किसिमको कार्ड पत्ता लागेको छैन । यस किसिमको विधि र प्रकृया सुरु नै भएको छैन । यदि यस्तो भएको भए संसारभरी नै यस्तो अवस्था आउने थिएन होला । यस्ता विधिहरु प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भएर प्रकृया अनुसार सरकारले नै वितरण गर्नेछ ।’’
भाइरस नसर्ने नाममा कार्ड बनाउने वा विदेशबाट ल्याएर बजारमा वितरण तथा प्रतिष्ठित व्यक्तिका गलामा झुण्ड्याएर प्रचार गर्ने कार्यप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्