ह्याम्सबाट कोभिडका गम्भिर संक्रमित डिस्चार्ज

निजी अस्पतालले कोरानाको उपचार गर्न ईन्कार गरिरहेका बेला काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालले कोरोना संक्रमितको सफल उपचारपछि डिस्चार्ज गरेको छ ।
१० दिनअघि पोखराबाट रेफर गरिएका ६० वर्षीय कोरोना संक्रमित पुरुषलाई १ हप्ता भेन्टिलेटरमा राखेर उपचार गरेको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले जानकारी दिए । अघिल्लो हप्ता हेलिकोप्टरबाट उपचारका लागि ह्याम्स अस्पताल ल्याईएका कास्कीका ति पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गरेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
कोरोना संक्रमितलाई सरकारी अस्पतालमा उपचार निःशुल्क भए पनि संक्रमित व्याक्तिले आफ्नै खर्चमा उपचार गर्न राजी भएका थिए । अस्पतालले यसअघि पनि कोरोना संक्रमितलाई उपचार गरिसकेको जनाएको छ । “हामीले अन्य बिरामी र स्वास्थ्यकर्मीलाई सुरक्षा चुनौती हुँदा पनि उपचार सफल गरेका छौ,” उनले भने, “यसले हामी कोरोनाको उपचारमा सक्षम मात्र होईन संक्रमण नियन्त्रणमा सरकार र विरामीलाई सहयोग गर्छौं भन्ने प्रमाणित भएको छ ।”
अस्पतालले उपचारका क्रममा विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार सुरक्षाका उपाय अपनाएको जनाएको छ । नेपालमा निजी अस्पतालमा कोरोना संक्रमितको उपचार भएको यो पहिलो पटक हो । बिरामी र आफन्तले ह्याम्समै उपचार गर्ने भनेपछि अस्पतालले २ जनाको उपचार गरिसकेको छ । अस्पतालले उपचारको न्यूनतम शुल्क लिएको जनाएको छ ।